बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ भान्सा गाउँमा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती कमाउनुभएका कमलनयनाचार्यको अगुवाईमा पञ्चकोटमा करोडौंका योजनामार्फत पर्यटन र धार्मिक गन्तव्य बन्दै छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी अभियान शुरु भएको थियो । पञ्चकोटको झण्डै २ सय रोपनी बढी जमिनमा ६० करोडका धार्मिक तथा पर्यटकीय संरचनाहरु बनिसकेका छन् ।
बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामाकरण भएको हो । हाल मुख्य पूर्वाधार निर्माण भैरहेको ताराजालकोट हो । ताराजालदेखि माथिल्लो कारीकोट, त्यसमथी माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँच वटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको हो ।

यहाँ गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमानको विशाल मुर्ति, सिस महल, सभाहल, भोजनालय तथा हवन कुण्ड लगायतका संरचना बनिसकेका छन् । ५ हजार ५ सय ५५ केजीको घण्टी राखिएको छ । ती सबै संरचना बनाउन हरेक वर्ष महायज्ञ लगाएर रकम संकलनको काम हुँदै आएको छ । केही संरचना निर्माणमा बागलुङ नगरपालिका, गण्डकी प्रदेश र पर्यटन मन्त्रालयले पनि साथ दिएको छ ।
पञ्चकोटमा संसारकै अग्लो कलस निर्माण गर्ने लक्ष राखिएको छ । १ सय ८ फिट अग्लो कलस बनाएर यहा“का ५ वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने योजना छ । कलसका लागि फाउण्डेसन तयार भईसकेको छ । संसारकै अग्लो कलस बनेपछि नेपाल र भारतका लाखौं पर्यटकलाई पञ्चकोटमा आर्कषित गर्न सकिने संभावना देख्छन् अभियानका अगुवा स्वामी कमलनयनाचार्य ।

कलस बनाउने अभियानलाई सघाउने गरी पञ्चकोटमा ‘ब्रम्हाण्डीय महायज्ञ’ सम्पन्न भईसकेको छ । कलस झण्डै १३ तलाको घर बराबरको हुनेगरी डिपिआर बनिसकेको छ । बाहिरी स्वरुप कलसजस्तै भएपनि भित्री खण्डमा बन्ने १६ वटा कोठामा धार्मिक गतिविधि हुनेछन् । झण्डै २ अर्व खर्च अनुमान गरिएको पञ्चकोटको बृहत पूर्वाधार निर्माणमा महायज्ञ, स्थानीयको दानमुठी र चन्दाबाट ती संरचना बनेका हुन् ।
राज्यका उच्च पदस्थहरु आउने भएपछि पञ्चकोटमा नेपाली सेनाले पक्की हेलीप्याड समेत बनाएको छ । दैनिकजसोः बस र जिपमा सयौंको संख्यामा आन्तरिक तथा बाह्रय पर्यटक पञ्चकोट आउने गरेको वडाध्यक्ष रद्रबहादुर केसीले बताए । पञ्चकोट धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि कतिपय बसाइ सरेर काठमाडौं र मधेश झेरकाहरु गाउ“ फर्कन थालेको केसीको भनाई छ ।

दिर्घकालिन रुपमा पर्यटकीय गन्तव्य बन्ने भएपछि भान्सा र सिम गाउ“का अधिकांस घरमा रेष्टुरेण्ट संचालनको तयारीमा स्थानीय जुटेका छन् । पर्यटकीय चहलपहल बढ्न थालेपछि यहा“को जग्गाको मूल्य समेत बढेको सुमन किसानले बताए । बागलुङ नगरपालिकाले पा“चवटै कोटको संयुक्त क्षेत्रलाई जुलोजिकल पार्क बनाउने योजना अगाडि सारेपनि बजेट अभावमा अहिलेसम्म काम भने हुन सकेको छैन ।


















