पाँच वर्षीया छोरी जन्मिएदेखि नै नम्रता नाङ्गिया र उनका श्रीमान् अर्को बच्चा जन्माउने विचारलाई लिएर दोधारमा छन् ।
तर सधैँ उनीहरूका मनमा एउटै प्रश्न आउँछः ‘के हामी यो खर्च धान्न सक्छौँ ?’
मुम्बईमा बस्ने उनी औषधि उद्योगमा काम गर्छिन् भने उनका श्रीमान् टायर कम्पनीमा काम गर्छन् ।
तर एउटा बच्चा हुर्काउने खर्च नै सुरुमा अधिक छ । स्कुलको खर्च, स्कुल बस, पौडी अभ्यास सिकाउने कुरादेखि डाक्टरकहाँ जान पनि महँगो छ ।
‘हामी पहिले स्कुल मात्र जान्थ्यौँ, अतिरिक्त क्रियाकलाप केही थिएन । तर अब तपाईँले आफ्नो बच्चालाई पौडी खेल्न पठाउनुपर्छ, तपाईँले तिनीहरूलाई चित्रकलामा पठाउनुपर्छ, तिनीहरूले अरू के गर्न सक्छन् भनेर हेर्नुपर्छ ।’
राष्ट्रसङ्घीय प्रतिवेदनमा के छ ?
संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (यूएनएफपीए)को नयाँ प्रतिवेदन अनुसार नम्रताको अवस्था अहिले विश्वव्यापी रूपमा आम समस्या बन्दै गइरहेको छ ।
प्रजनन अधिकारमा काम गर्ने सो राष्ट्रसङ्घीय निकायले प्रजनन क्षमतामा गिरावटका बारेमा हालसम्मकै सबैभन्दा कडा शब्दावली प्रयोग गर्दै करोडौँ मानिसहरूले चाहेको संख्यामा बच्चाहरू जन्माउन नसक्ने चेतावनी दिएको छ ।
जसका लागि उसले अभिभावकहरूले बेहोर्नुपर्ने निकै उच्च खर्च र उपयुक्त पार्टनरको अभावलाई केही कारणका रूपमा उद्धृत गरेको छ ।
यूएनएफपिएले १४ देशका १४,००० मानिसहरूको प्रजनन क्षमताको बारेमा सर्वेक्षण गरेको थियो ।
जसक्रममा पाँचमध्ये एकले उनीहरूले चाहेको सङ्ख्यामा बच्चाहरू जन्माएका छैनन् वा पाउने आशा नगरेको बताएका छन् ।
सर्वेक्षण गरिएका देशहरूमध्ये दक्षिण कोरिया, थाइल्यान्ड, इटली, हङ्गेरी, जर्मनी, स्वीडन, ब्रजिल, मेक्सिको, अमेरिका, भारत, इन्डोनेशिया, मोरक्को, दक्षिण अफ्रिका र नाइजिरियाले विश्वव्यापी जनसंख्याको एक तिहाइ संख्या ओगटेका छन् । ती मिश्रित रूपमा कम, मध्यम र उच्च आय भएका देशहरू र कम र उच्च प्रजनन क्षमता भएका देशहरू हुन् ।
सर्वेक्षण
यूएनएफपिएले युवा वयस्कहरू र प्रजनन क्षमताको उमेर भएका मानिसहरूमाझ सर्वेक्षण गरेको थियो ।
‘विश्वमा प्रजनन दरमा अभूतपूर्व गिरावट सुरु भएको छ,’ यूएनएफपिएकी प्रमुख डा. नतालिआ कानेम भन्छिन् ।
‘सर्वेक्षण गरिएका अधिकांश मानिसहरू दुई वा बढी बच्चाहरू चाहन्छन् । धेरैले आफूले चाहेको परिवार सिर्जना गर्न असमर्थ महसुस गर्नाले प्रजनन दर ठूलो मात्रामा घटिरहेको छ र त्यो वास्तविक सङ्कट हो,’ उनी भन्छिन् ।
‘यसलाई सङ्कट भन्नु अनि यो वास्तविकता हो भन्नु – मलाई लाग्छ त्यही नै बदलाब हो,’ जनसंख्याविद् एना रटकिर्च भन्छिन् ।
युरोपमा प्रजनन मनसायका बारेमा अनुसन्धान गरेकी उनले फिनल्याण्डको सरकारलाई जनसंख्या नीतिमा सल्लाह दिन्छन् । ‘समग्रमा हेर्दा प्रजनन दरको आदर्श संख्याको लक्ष्य नाघिएको भन्दा कम हुने गरेको नै पाइन्छ,’ उनले भनिन् ।
युरोपमा यसको लामो अध्ययन गरेकी उनलाई उस्तै प्रवृत्ति विश्वभरि प्रतिबिम्बित भएको देख्नु रोचक लागेको छ ।
५० वर्षभन्दा माथिका (३१ प्रतिशत) उत्तरदाताहरूले आफूले चाहेको भन्दा कम बच्चा जन्माएको बताएकोमा उनी अचम्ममा परिन् ।
यस वर्षको अन्त्यतिर ५० देशहरूमा हुने अनुसन्धानको नमूना सर्वेक्षणका रूपमा गरिएको यस अध्ययनको दायरा सीमित छ ।
जस्तो, देशहरूबीच उमेर समूहहरूको कुरा गर्दा निष्कर्ष निकाल्नका लागि नमूनाका आकार धेरै साना छन् । तर केही निष्कर्षहरू स्पष्ट छन् ।
समान धारणा
सबै देशहरूमा औसत ३९ प्रतिशत मानिसहरू आर्थिक सीमितताका कारण बच्चा जन्माउन रोकिएको बताउँछन् ।
यसमा सबैभन्दा धेरै दक्षिण कोरियामा ५८ प्रतिशत र कम स्वीडनमा १९ प्रतिशत छ ।
औसतमा केवल १२ प्रतिशत मानिसहरूले मात्र बाँझोपन वा गर्भधारण गर्न कठिनाइ रहेको कुरालाई आफूले चाहेको संख्यामा बच्चा नहुनुको कारण बताएका छन् ।
तर थाइल्याण्ड (१९ प्रतिशत), अमेरिका (१६ प्रतिशत), दक्षिण अफ्रिका (१५ प्रतिशत), नाइजिरिया (१४ प्रतिशत) र भारत (१३ प्रतिशत) लगायतका देशहरूमा यस्तो संख्या बढी थियो ।
‘पहिलोपटक संयुक्त राष्ट्रसंघले कम प्रजनन क्षमताका मुद्दाहरूमा यसरी केन्द्रित भएको हो,’ हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक स्टुअर्ट गिटेल–बेस्टन भन्छन् ।
हालसालैसम्म यो निकाय चाहनाभन्दा धेरै बच्चा जन्माउने महिलाहरू र गर्भ निरोधकको ‘अपुग आवश्यकता’ मा धेरै केन्द्रित थियो ।
तैपनि यूएनएफपिएले कम प्रजनन क्षमताको विषयमा प्रतिक्रिया जनाउँदा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।
‘यतिखेर हामी के देखिरहेका छौँ भने अत्यधिक जनसंख्या वा घट्दो जनसंख्यालाई ठूलै विपत्ति जसरी अतिरञ्जित बनाइन्छ जसले अवास्तविक प्रतिक्रिया निम्त्याउँछ,’ डा. कानेम भन्छिन् ।
बदलाब
डा. कानेमले औँल्याए अनुसार ४० वर्षअघि चीन, कोरिया, जापान, थाइल्याण्ड र टर्की सबै आफ्नो जनसंख्या धेरै बढ्ता भएकामा चिन्तित थिए ।
सन् २०१५ सम्म आइपुग्दा उनीहरू प्रजनन क्षमता बढाउन चाहन्छन् ।
‘सकेसम्म हामी ती देशहरू उग्र चिन्ताका कारण त्यससँग जुझ्ने हठात् नीतिहरू लागु गर्नबाट बचुन् भन्ने प्रयास गर्न चाहन्छौँ,’ प्राध्यापक गिटेल–बेस्टन भन्छन् ।
‘हामीले कम प्रजनन क्षमता, वृद्धावस्थाको जनसंख्या, जनसंख्या स्थिरतालाई राष्ट्रवादी, आप्रवासी विरोधी नीतिहरू र लैङ्गिक रूढिवादी नीतिहरू लागु गर्ने बहानाको रूपमा प्रयोग गरिएको देखिरहेका छौँ,’ उनी भन्छन् ।
यूएनएफपिएले बालबालिकाका लागि आर्थिक अवस्थाभन्दा पनि ठूलो बाधा समयको अभाव भएको पाएको छ । मुम्बईकी नम्रताको लागि यो सत्य हो ।
उनी दैनिक कम्तीमा तीन घण्टा आफ्नो कार्यालय आउजाउ गर्नमा बिताउँछिन् ।
घर पुग्दा उनी थाकेकी हुन्छिन् तर आफ्नी छोरीसँग समय बिताउन चाहन्छिन् । उनको परिवारलाई धेरै निद्रा पर्दैन ।
‘काम गरेको दिनपछि, तपाईँमा प्रस्ट रूपमा एक आमा हुनुको नाताले आफ्नो बच्चासँग पर्याप्त समय नबिताइरहेकामा ग्लानि महसुस हुन्छ,’ उनी भन्छिन् ।
‘त्यसैले हामी केवल एउटै (बच्चा)मा ध्यान केन्द्रित गर्न गइरहेका छौँ ।’





