बागलुङ/केही दिनअघि कालीगण्डकी करिडोरको हर्मीचौर बलेवा खण्डको काम समय अघिनै सकिएको भन्दै ठेकेदार र आयोजनालाई सम्मान गरियो । तर, सोही सडकको बलेवादेखि मालढुंगा सडक अझै कहिले बनिसक्छ भन्ने अन्यौल छ ।
मध्यपहाडी लोकमार्गमा पश्चिमको जाजरकोट देखिका गाडी काठमाण्डौंका लागि दैनिक गुड्छन् । तर, बागलुङको काठेखोलामा सडक अझै बनिसकेको छैन । सालझण्डी ढोरपाटन सडकको त बागलुङ खण्ड अलपत्रै छ ।
बागलुङ जिल्लाभित्र तीनवटा राष्ट्रिय गौरवका आयोजनासँगै चारवटा रणनीतिक सडक र आधा दर्जन ठूला भवन तथा आधा दर्जन पक्की पुल वर्षौँदेखि निर्माणाधीन अवस्थामा छन् । ती सबै आयोजना कहिले पूरा हुने भन्ने अझै यकिन छैन । संचालनमा आउन नसकेका ती योजनाहरु चुनावी नारामात्रै बन्ने गरेका छन् ।
२०७१ सालमा ठेक्का लगाइएको मध्यपहाडी लोकमार्गको सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधे तर्फको २५ किमी सडक अहिलेसम्म पुरा नभएको हो । पटक पटकको म्याद थपेर पनि ठेकेदारले काम अलपत्र पारेपछि सूर्य कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ भने सिद्दिसाइ भारत संयुक्त निर्माण कम्पनीले पनि काम अलपत्र पारेको छ । पेटी ठेकेदारमार्फत् थालिएको काम पनि पूरा भएको छैन ।
गलकोट नगरपालिका वडा नं. १ को चौराहा र झाँक्रीस्थान, वडा नं. ९ को मल्ममा लोकमार्ग जीर्ण छ । वडा नं. ११ मा दरमखोला जलविद्युत कम्पनीले सडक अतिक्रमण गरेपछि जोखिमयुक्त भएको छ । सडक छेवैमा व्यक्तिगत घर बनाएर पनि मापदण्ड मिचिएको छ । निर्माण सुरु भएको १२ वर्षसम्म पनि राजपत्र प्रकाशित नभएपछि सडक अतिक्रमण भैरहेको हो ।
करिडोरको एक्लेसालमा ५ वर्षदेखि खसेको पहिरो व्यवस्थापन नभएपछि पटकपटक सवारी अबरुद्द भैरहन्छ । पहिरोको विकल्पको सडक कहिले बन्ने हो अन्यौल छ । करिडोर पूरा नहुँदा दक्षिण बागलुङबासीसहित गुल्मी, पाल्पादेखि मुक्तिनाथका लागि छोटो बाटो भन्दै हिँडेका यात्रीले बेलाबेला समस्या भोग्छन् ।
बागलुङको चौथो जिल्ला सभाले ती दुवै योजनासहितका दर्जनबढी अलपत्र काम छिटो सक्न राज्यको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ‘हामी बाध्य भयौं, वर्षौदेखि जोखिमयुक्त सडकमा हिँड्नुपर्ने बाध्यता हटाउन निर्णयमा पुग्यौं,’ समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भने, ‘काम लिएर अलपत्र पार्ने ठेकेदारलाई कडा कारवाहीको लागि सिफारिस पनि गरेका छौं ।’ अनुगमन समितिको हैसियतले राज्यको ध्यानाकर्षण गराएको उनले बताए ।
सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा पनि काम भएको छैन । निर्माण सुरु भएको १६ वर्ष पुग्दा यो सडकको बागलुङ खण्डमा यात्रीले कष्ट भोग्न बाध्य छन् । अझैपनि बागलुङ भित्रको ६१ किमीमध्ये अधिकांश ट्रयाक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रुपमा खुलेको खण्डमा त कुनै परिवर्तन भएको छैन । ‘हामीले काम गरौं बेरुजू आउँछ, नगरौं जनताले सास्ती खेपेका छन्,’ बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले भने, ‘काम नगर्नेलाई कारवाही गर्न मन्त्रालयमा पहल गरेका छौं ।’ तत्काल सडक निर्माणको काम थालेर पूरा गर्न पनि पहल गरेको वनको भनाई थियो ।
जिल्ला भित्रको ६१ किमी सडकमध्ये बुर्तिवाङदेखि ढोरपाटन पुग्ने सडक भित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ । बुर्तिवाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३५ प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगती नभएको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए । २०७८ को कात्तिकमा ठेक्का लिएर २०८१ को वेशाख ४ गते पूरा गर्ने लक्ष्यको ३० प्रतिशत मात्रै काम भएको हो । चिप्लो र खाल्डैखाल्डा भएकोले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । २५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशतभन्दा माथि जान नसकेको हो ।
गलकोट र जैमिनी नगरपालिकाको प्रशासकीय भवन पनि म्याद सकिँदा ५० प्रतिशत प्रगति गरेर अलपत्र छ । कुश्मीसेरा–बरेङ–शान्तिपुर रणनीतिक सडक अलपत्र परेपछि स्थानीयले पटकपटक आन्दोलन गरेका छन् । गलकोटको हरिचौरदेखि मल्म, पाण्डवखानीहुँदै गुल्मी जोड्ने सडक, बुर्तिवाङदेखि बोङगादोभान, सोलेहुँदै म्याग्दी जोड्ने सडक, गलकोटदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने सडक पनि अलपत्र छन् । ती चारवटै रणनीतिक सडक हुन् ।
दरमखोला र भुजीखोलाका पक्की पुल दशकदेखि अलपत्र छन् । ती सबै योजनाबारे सभाले गम्भिर ध्यानाकर्षण गराएको हो । ठूला काममा राज्यले भुक्तानी दिन नसकेपछि ठेकेदारलाई पनि ताकेता लगाउन नसकेको करिडोर आयोजनाकी प्रमुख कल्पना अधिकारी बताउँछिन् । ‘सबै मिलेर बजेट सुनिश्चत गराउन पहल गरौं, हामी काम लगाउँछौं,’ उनले भनिन्, ‘आगामी वर्षलाई कतिपय योजनाको बजेट निश्चित भएकोले अलपत्र परेका ठेकेदारको कामलाई तिब्रता दिन्छौं ।’





