बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मालिकाधुरीमा सडक र पदमार्ग : यात्रा छोटियो, सास्ती घट्यो

मालिकाधुरीमा सडक र पदमार्ग : यात्रा छोटियो, सास्ती घट्यो


  • हरिकृष्ण गौतम
  • जेष्ठ २९ २०८२, बिहिबार

म्याग्दी/आधा दशक अगाडीसम्म ओडार, सत्तल तथा टेन्टमा रात बिताएर बिहानै लाइनमा बसेर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पूजाआजा गर्नुपर्ने बाध्यता थियो । सडक र पैदलयात्रा गरी मालिकाधुरी पुगेर फर्किन दुई दिन लाग्थ्यो । भौगोलिक रूपमा विकट र दुर्गम मालिकाधुरीमा निर्मित सत्तल र ओडारमा बस्ने ठाउँ पाउनै मुस्किल हुन्थ्यो । मालीका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न पदैलमार्गबाट मन्दिरमा जाने भक्तजनको ताँती देखिन्थ्यो । सडक सञ्जालबाट छोडेर साँधुरो बाटोमा घाँसको सहायतामा मन्दिरसम्म उक्लिने भक्तजनलाई अहिले सडक सञ्जाल र पदमार्गको विस्तारसँगै सहज भएको छ ।

आधा दशक अगाडीसम्म जोखिम मोलेर यात्रा गर्ने भक्तजनलाई अहिले निकै सहज भएको छ । रातभरी खुल्ला आकाशमा बिताएर पूजाआजा गर्नेहरु अहिले सडक सञ्जाल, पदमार्गका कारण उत्साहित छन् । बिहानै सदरमुकाम बेनीबजार, जिल्लामा अन्य ग्रामिण क्षेत्रबाट मालिकाधुरी नजिकै पुगेको सडकसम्म सवारीसाधन राखेर करिब एक घण्टाको पैदलयात्रामा मन्दिरमा पुगेर पूजाआजा गरेसँगै फर्किन सकिन्छ ।

समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा मालिका गाउँपालिका ७ बिम र वडा नं. ६ दरबाङको दुखु, रघुगंगा गाउँपालिका ६ ठाडाखानीबाट मालिकाधुरी नजिकै सडक पुगेको छ । ‘सडक सञ्जाल छोडेर करिब एक घण्टाको पैदलयात्रा पछि मन्दिरमा पुग्न सकिन्छ । सडक बनेपछि रातमा आउनेभन्दा धेरै पूजाकै दिन आउने गरेका छन्’ मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले भने । पाईजाका अनुसार, ज्येष्ठी पूर्णिमामा पूजाका लागि भक्तजनहरु बाहिरी जिल्लाबाट समेत उही दिन आएर फर्किएका थिए ।

मंगला गाउँपालिकाको कुहुँ, पुर्णगाउँ र थाईवाङ र हिँदीबाट पैदलमार्गको प्रयोग गरी आउने बाहेक अन्य रुटबाट आउने भक्तजनलाई सडक सञ्जालले मालिकाधुरीमा रात बिताउनुपर्ने बाध्यता हटेको अध्यक्ष पाईजाको भनाई छ । मालिकाधुरीमा पूजाआजाका लागि पुगेका बेनीका किरन कार्कीले अघिल्लो रात बास बस्नेभन्दा धेरै पूजाकै दिनमा पुग्नेको भिड रहेको बताए । पहिले सडक छोडेर ३ घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो, यसपटक एक घण्टामै मन्दिरमा पुगियो’ कार्कीले भने ।

मालिकाधुरीलाई मालिका गाउँपालिका र रघुगंगाले प्राथमिकतामा राखेर सडक, खानेपानीसहित अन्य पूर्वाधार विस्तार गरेका छन् । अहिले मन्दिरमा मालिका र रघुगंगाले खानेपानी तथा अन्य पूर्वाधार समेत विस्तार गरिरहेको छ । मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मालिकाधुरीका लागि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको बताए । मालिकाधुरी जाने पर्यटकलाई सडकसँगै बिममा रहेको प्रभुचेला धुरीसहित अन्य धार्मिकस्थलको अवलोकनका लागि समेत गाउँपालिकाले प्राथमिकता दिएको छ ।

त्यस्तै रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले समुदायको समेत लगानीमा सडक सञ्जालको विस्तार तथा बजेटमार्फत मालिकामा जान सहज बनाइएको बताए । मन्दिरमा सरकारी बजेट बाहेक ब्यक्तिगत रुपमा समेत लाखौं खर्चिएर मन्दिर तथा अन्य पुर्वाधार विस्तार भइरहेको छ । हाल पाखापानीकी थममायाँ पाईजाको परिवारबाट करिब २२ लाखभन्दा बढीको लगानीमा मन्दिर बनाउने काम भइरहेको छ ।

पुजाआजा बाहेक पर्यटक समेत घुम्न मालिकाधुरी पुग्ने गरेका छन् । एउटै चट्टानमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् ।

कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ । मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । आँखामै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् । १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->