बागलुङ/निसीखोला गाउँपालिकालाई मध्यपहाडी लोकमार्गले चिरेको छ । जसका कारण हिजोको दिनमा अति दुर्गम मानिने निसीखोला अहिले सुगम बन्दै गएको छ । बुर्तिवाङदेखि प्रवेश गरेर रुकुम पुर्वको सिमानासम्म लोकमार्गकै कारण सहज यातायातको सेवा पुगेको छ । केही वर्ष अघिसम्म किनमेल गर्न बुर्तिवाङ र गुल्मीको रिडीसम्म पुग्ने निसीखोलाबासी अहिले अन्यत्र जानै पर्र्दैन । सदरमुकाम र राजधानी देखिका गाडी सिधै यहाँ आइपुग्छन् । त्यो बाहेक रुकुम, जाजरकोट, रोल्पा, सल्यान र डोल्पा जाने सवारीले यो पालिकाको बाटो रोज्ने भएपछि बिहानदेखि राती सम्मको यात्रामा निसीखोलाबासीले सहज पहुँच पाएका छन् ।
राष्ट्रिय राजमार्ग मात्र होइन, स्थानीय रुपमा पनि यतिबेला राजमार्ग लक्षित सडक दर्जनबढी निर्माण भएका छन् । ती सडकहरु व्यवस्थित बनाउन सकेको खण्डमा निसीखोलाले आर्थिक समृद्दिको बाटो समाउन सक्छ । किनकी ग्रामीण क्षेत्रका किसानले लगाउने कृषि फसलदेखि पशुचौपाया तथा अन्य सामाग्रीलाई बजारीकरण गर्न सडकको आवस्यकता पर्छ । पालिकाले केही सडक, खानेपानी, सिंचाइ लगायतको क्षेत्रमा लगानी बढाएको छ । लगानीलाई सफल बनाउन ग्रामीण क्षेत्रका कृषिजन्य वस्तुले बजार पाउनुपर्छ ।
निसीखोलाले आर्थिक समृद्दिको बाटो नै कृषि क्षेत्रलाई मानेको छ । यहाँ उत्पादन हुने कृषि उपज र पशुपालन महत्वपुर्ण छ । लोकमार्गले गर्दा निसीखोलाको उत्पादनलाई बजारीकरण गर्न पनि धेरै सहयोग मिलेको छ । हिजोको दिनमा बुर्तिवाङ बजार नपुगेसम्म कुनैपनि व्यवसाय संभव थिएन । कतिपय मेला महोत्सवको अबसर पारेर रिडीसम्म पुगेपछि मात्र निसीखोलाबासीको आवस्यकता सम्बोधन हुन्थे । तर अहिले घर छेवैमा सडक पुगेपछि यातायात मात्र हैन, ढुवानीमा सहज वातावरण बनेको हो ।
कृषि उपजको हिसाबले धान उत्पादन कम छ निसीखोलामा । तर अन्य कृषि फसल प्रसस्त फल्छ । खोला छेवैमा भएकोले सिंचाइको समस्या छैन । मकै, गहुँ, आलु जस्ता बाली त प्रसस्त फल्ने नै भयो । यो पालिका आलु जोनमा सूचिकृत छ । त्यस बाहेक मकै पकेट, सुन्तला पकेट लगायतका कार्यक्रम बनाएर पालिकाले किसानलाई उत्पादनमा जोडेको छ । भेडा पालनका लागि त संघिय सरकारले दिएको १ करोड १२ लाख रुपैयाँले केही संरचना र भेडापालक किसानलाई उत्पादन बढाउन सहजीकरण भैरहेको छ ।
निसेलढोर कृषि उत्पादनका लागि सबैभन्दा उर्वर भूमी हो । चारैतिर हरियाली र मनमोहक उपत्यका भएकोले कृषि उपजको प्रचुर संभावनासँगै पर्यटन प्रवद्र्धनका कार्यक्रम बनाउन पनि उत्तिकै सकिने अवस्था छ । निसेलढोरमै बसेर स्थानीयले आलुखेती र पशुपालन गरेका छन् । निसेलढोरका किसानले लाखौंको आलु फलाउने गरेका छन् । उक्त आलुलाई उचित बजारीकरणमा पालिकाले ध्यान दिनुपर्ने छ । यहाँ त परम्परागत रुपमा सयौं स्याउका बोट छन् भने गाउँपालिकाले पनि तीन वर्ष अघिदेखि किसानलाई फुजी र गोल्डेन स्याउको बिरुवा बितरण गरेर उत्पादन बढाउन लगाएको छ ।
अघिल्ला वर्ष रोपिएका बिरुवाले फल दिन थालेपछि किसान झन् खुसी छन् । गत वर्षदेखिनै उनीहरुले स्याउ फलाएर खान थालिसकेको बताए । कृषि शाखाका प्राविधिकलाई लगेर उनीहरुले स्याउको स्वाद चखाए । उत्पादन बिक्रीका लागि किसानले बजारको खोजी गरिरहेका छन् । थोरै उत्पादन त नजिकको बजारमा सहजै बिक्री हुनेछ । तर धेरै उत्पादन हुँदा पालिकाले बजारीकरणमा साथ दिनुपर्ने किसान बताउँछन् । त्यसका लािग पालिकाले योजना बनाइरहेको छ भन्छन् अध्यक्ष घर्ती ।
धार्मिक र साँस्कृतिक रुपमा पनि निसीखोला समृद्ध छ । निसीखोला गाउँपालिका कला र संस्कृतिको खानी हो भन्छन् उनी । माघेसक्रान्तिमा देखाइने मारुनी र पुतली नाँच, मादल, पत्ता नाँच, तरवार नाँच तथा पपैया नाँच संरक्षणमा पहल गरिएको छ । वडाले युवापुस्ताले सिक्न चाहेमा तालिम संचालन गर्ने र सामाग्री खरिद समेत गराइदिने गरेको छ । भूमीपुजा, झाँक्री बसाल्ने जस्ता अनौठो प्रकृतिका संस्कृति जोगाउन सक्दा पर्यटन प्रवद्र्धन बढाउन सकिने संभावना छ । कतिपय संस्कृतिलाई रुपैयाँमा परिणत गर्न सकिन्छ । झाँक्री नाँच त चर्चित नै छ । ती संस्कारहरु जोगाउन धेरै पहल भैरहेको छ । युवापुस्तामा ती सँस्कृति हस्तान्तरणका लागि पहल भएको छ ।




