बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम प्रभावित

कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम प्रभावित


  • लालप्रसाद शर्मा
  • जेष्ठ ३० २०८२, शुक्रबार

पोखरा/  झन्डै एक महिनादेखि कार्यकारी निर्देशक पद खाली हुँदा पोखरा–३० मोहोरिया, लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका महत्वपूर्ण कामहरु प्रभावित भएका छन् । गण्डकी प्रदेश सरकारले नयाँ कार्यकारी निर्देशक नपठाएको र निमित्तलाई समेत आर्थिकलगायत अधिकार नदिदाँ आर्थिक वर्षको अन्तिममा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।

कार्यकारी निर्देशक डा.विकास गौचनले यही जेठ ११ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका थिए । तर उनी जेठ लागेसंगै अस्पतालमा खासै आएनन् । जेठ १२ मा उनको राजीनामा स्विकृत गरेको प्रदेश सरकारले अहिलेसम्म नयाँ कार्यकारी निर्देशक नियुक्ती गरेको छैन । नत निमित्तलाई अधिकारनै दिएको छ । यसले प्रदेश सरकार अस्पताल जस्तो संवेदनशील क्षेत्रप्रति कति गम्भिर छ भन्ने गाँइगुँई अस्पतालमा चल्ने गरेको छ ।

अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलका अनुसार कार्यकारी निर्देशक नहुँदा आर्थिक क्रियाकलाप ठप्प छ । कुनै पनि सामान खरीद, मर्मतलगायत काम हुन सकेका छैनन् । ‘उपचार सेवा र दैनिक कार्यंसञ्चालन जेनतेन चले पनि महत्वपूर्ण प्रशासनिक काम र निर्णय हुन सकेको छैन’ उनले भने, ‘यस विषयमा मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकिएको छ । तर अहिलेसम्म हामी छिटै गर्दैछौ भन्ने जवाफ बाहेक कुनै निर्णय आएको छैन ।’ अस्पतालले रक्तसंचार केन्द्र सञ्चालनमा ल्याएर शल्यक्रियाको काम थाल्ने योजनामा पनि बाधक भएको उनको भनाई छ । दुवै काम अस्पतालको आन्तरिक कोषबाटै गर्न लागेको छ । अस्पतालको कार्यकारी निर्देशक प्रदेश मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्छ । यसका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा रहेको समितिले एघारौं तहको व्यक्तिलाई मन्त्रिपरिषद्मा नाम सिफारिश गर्नुपर्छ । सोही सिफारिशको आधारमा मन्त्रिषरिषद्ले एकजनालाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।

अस्पताल समितिले अहिले वरिष्ठतमको आधारमा डा.सरोजा पोखरललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । तर आर्थिक लगायत कुनै पनि अधिकार भने उनलाई छैन । ‘कार्यकारी निर्देशक यत्रो समयसम्म खाली हुँदासमेत अर्को नयाँ नपठाइएको र मलाई पनि अधिकार दिइएको छैन’, डा.पोखरेलले भनिन, ‘मुख्यमन्त्री कार्यालयबाट मलाई निमित्त भई काम गर्नु भन्ने पत्र पनि आएको छैन ।’ आफुले अहिले एउटा डट्पेन पनि किन्न नसक्ने अवस्था रहेको सुनाउँदै उनले विश्वासको भरमा पछि भुक्तानी गर्नेगरी सानातिना प्रशासनिक काम गरिरहेको बताइन् । स्वास्थ्यकर्मी तथा कर्मचारीको बिदा स्वीकृतदेखि अन्य महत्वपूर्ण काम रोकिएको उनको भनाई छ । ‘व्यवहारिक रुपमा निकै अप्ठेरोमा काम गरिरहेका छौ’, उनले भनिन्, ‘यस विषयमा स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको र मन्त्रालयले उक्त पत्र मुख्यमन्त्री कार्यालयमा समेत पठाइसकेको जनाएको छ । तर निर्णय केही आएको छैन ।’

लेखनाथ लायन्स सामुदायिक अस्पतालका रुपमा संचालित यो अस्पताल २०७७ मा गण्डकी प्रदेश सरकारले आफु मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पतालको नामाकरण गर्यो । कोरोना महामारीको बेला अस्पतालले उत्कृष्ट सेवा दिन सफल भएको थियो । अहिले डायलासिसको उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । हाल ९३ जनाले डायलासिस सेवा लिइरहेका छन् । सेरोपोजेटिभ अर्थात् एचआईभी, हेपाटाइटिस भएकाले पनि डायलोसिस गराइरहेका छन् । यसका लागि ४ मेशिनजडीत छुट्टै युनिट छ । एकजना एचआइभी र २ जना हेपाटाइटीसका बिरामीले सेवा लिइरहेका यो गण्डकी प्रदेशमै पहिलो र एकमात्र सेवा रहेको अस्पतालकी नर्सिङ निरीक्षक एवं हेमोडायलासिस विभागकी बेलिसरा भूजेलले बताइन् । ‘कहिले मेशिन बिग्रन्छन् तत्कालै मर्मत गर्नुपर्छ, सामान किन्नु पर्छ । कार्यकारी निर्देशक भए तुरुन्तै निर्णय गरेर काम फत्ते हुन्थ्यो’, व्यवस्थापन समिति अध्यक्ष जमरकट्टेलले भने, ‘हेमोडायलासिसमा पनि समस्या हुन थालेको छ ।’
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले छिट्टै नयाँ कार्यकारी निर्देशक नियुक्ती गरेर पठाइने बताए । ‘काम नरोक्न तत्काल निमित्तलाई आर्थिक अधिकारसहित जिम्मेवारी दिने तयारीमा छौ’, मन्त्री पाठकले भने, ‘कार्यकारी निर्देशकको टुंगो छिटै हुन्छ ।’

प्रदेश सरकारले ५० बेडमा स्तरोन्नति गरेको अस्पतालमा अहिले एकसय बेड क्षमताको लागि भौतिक संरचना निर्माण भइरहेको छ । धेरै भन्दा धेरै सेवाग्राहीलाई सेवा दिने, सेवा गुणस्तरीय र छिटो दिने उद्देश्यसाथ अस्पताल बिकास समितिले काम गरिरहेको छ । गत आर्थिक वर्षमा १४ हजार जनाले सेवा लिएकोमाा चालु वर्ष २५ हजार पुग्न लागेको अस्पतालले जनाएको छ । अर्को वर्ष ३६ हजार सेवाग्राही पुराउने उद्देश्यसाथ काम गरिरहेको अध्यक्ष जमरकट्टेलको भनाई छ । स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालनमा छ ।  अन्यत्रबाट रिफर हुने अस्पतालको रुपमा बिकास गर्ने उद्देश्य रहेको र यसका लागि विशेषज्ञ सेवा र दरबन्दी बृद्धि, कार्यक्रमिक स्वास्थ्य सेवा एवं बृत्ति बिकास, अस्पतालको संरचनागत सुधारमा जोड दिइएको छ । ल्याब सबैभन्दा राम्रो छ । यसबाट अस्पताललाई फाइदा र सेवाग्राहीलाई पूर्ण सन्तुष्टी मिलेको उनले बताए ।

समितिले एकीकृत विकास प्रस्तावना २०८१ बनाएर अघि बढेको छ । प्रस्तावनाले सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्नसक्ने सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने ध्येय लिएको छ । यसैगरी सक्षम जनशक्तिद्वारा आम नागरिकको स्वास्थ्य सेवाको मागलाई परिपूर्ति गर्नसक्ने प्रविधियुक्त सुविधा सम्पन्न जनरल र सरुवा रोग निदानका सम्पूर्ण सेवा प्रदान गर्ने अस्पतालको रुपमा बिकास गर्ने दृरदृष्टि यसको छ । साथै बृहत्तर स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई प्रविधियुक्त र तथ्यमा आधारित बनाउने, स्वास्थ्यकर्मीहरुका लागि उच्च गुणस्तरको तालिम दिने, जटील र नवसृजित रोग एवं स्वास्थ्य समस्याको निराकरणका लागि समुदाय र संघसंस्थासंग समन्वय गर्दै स्वास्थ्य प्रवद्र्धनमा टेवा पुराउने, स्वास्थ्य बिमालाई प्राथमिकतामा राख्र्दै गरिव, निमूखा, ज्येष्ठ नागरिक, एवं अशक्तहरुका लागि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य यसमा छन् । सरकारी जग्गा अस्पतालको नाममा ल्याउने, बैकल्पिक सम्पर्क मार्गको निर्माण, दरबन्दी, पार्किङ, सुरक्षित मातृशिशु र प्रसृति गृहको व्यवस्था गर्नुपर्ने प्रस्तावनामा छ । यसैगरी डायलासिस सेवालाई व्यवस्थित र डायलोसिस सेवाको तालिम केन्द्रको रुपमा बिकास, अस्पताललाई इएमआरको तालिम केन्द्र, सबै निशुल्क औषधीको उपलब्धता, अत्याधुनिक ल्याव, रिफरल अस्पतालको रुपमा बिकास, बैंक काउन्टर, एमआरआई र सिटी स्क्यान सेवा, सक्रामक तथा सरुवा रोग सम्बन्धि तालिम केन्द्रको रुपमा विकास, रोगहरुको पहिचान र अनुसन्धान, बहुउद्देश्यिय भवन निर्माण, नर्सिङ कलेजका रुपमा बिकास, आवास सुविधा, लक्षित समुदायलाई निशुल्क स्वास्थ्य सेवा र सुविधा सम्पन्न सघन उपचार कक्ष निर्माण लगायत विषय पनि प्रस्तावनाले समेटेको छ ।

अस्पतालले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना पनि बनाएको छ । अस्पतालको सेवालाई अझ बढी व्यवस्थित बनाउन, प्राविधिक हिसावले चुस्त र दुरुस्त बनाउन, संरचनागत हिसावले दरिलो बनाउन र अस्पतालको सर्वाङ्गिण विकासका लागि शिघ्रातीशिघ्र विभिन्न कार्यक्रम र संरचनागत बिकास गर्नुपर्ने योजनामा समेटिएका छन् । यी उद्देश्य पुरा भएमा विभिन्न उपलब्धीहरु हासिल हुने जनाएको अस्पतालले यसका लागि ८९ करोड २४ लाख रुपैया लाग्ने अनुमान गरेको छ ।  हाल २ फिजिसियन, एक रेडियोलोजिष्ट र ५ मेडीकल अफिसर छन । विशेषज्ञ सेवा भने अस्पतालले दिन सकेको छैन । डायलासिस र स्वास्थ्य विमा कार्यक्रमको रकम पाउन नसकिएको अस्पतालले जनाएको छ । डायलोसिस युनिटका ५७ सहित हाल ८८ जना कार्यरत रहेको अस्पतालको प्रशासन प्रमुख लक्ष्मीप्रसाद पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->