शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बसाईसराई रोक्न बस्ती विकास रणनीति

बसाईसराई रोक्न बस्ती विकास रणनीति

देशका ठुला शहर साँघुरिँदै गएको, तराईकामा हुने दुःख र विदेशमा बसाई सर्दा कालान्तरमा पर्ने आर्थिक, सांस्कृतिक र रहनसहनको प्रभावबारे पनि सचेतनाको आवश्यकता छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट भौगोलिक हिसाबले काठेखोला गाउँपालिका टाढा छैन । गाउँपालिकाका हरेक वडाका गाउँबस्तीमा सवारी साधनमा बढिमा दुइदेखि तीन घण्टामा सहजै पुग्न सकिन्छ । तर यहाँका बस्तीमा विकासको लहर चलेको भने गाउँपालिका गठन पछि मात्रै हो । गाउँपालिका गठनको आठ वर्ष पुग्नै लाग्दा यहाँका हरेक बस्तीमा सडक सञ्जाल जोडिएको गाउँपालिका अध्यक्ष राजु थापा बताउँछन् ।

गाउँपालिकालाई मध्यपहाडी लोकमार्गले फेरो हालेजस्तै छ । वडा नं. १ पालाबाट प्रबेश गरेको लोकमार्गको झण्डै २७ किलोमिटर खण्ड काठेखोला गाउँपालिकामा पर्छ । वडा नं. २ भीमापोखारालाई एक छेउमा छोएर अघि बढेको लोकमार्गले वडा नं. ५ र ६ बिहुँलाई फेरो हालेको छ । लोकमार्गको स्तरोन्नती र कालोपत्रमा पनि काठेखोला खण्डमा नै समस्या छ । तर ट्रयाक खोले पछिको लोकमार्ग गाउँपालिकाभित्र सडक सञ्जालको विकासमा भने कोसोढुंगा सावित भएको छ । यहाँका हरेक वडा पुग्ने सडकलाई लोकमार्ग नै मुख्य सडकको आधार बनाएर विकास गरिएको छ । जसका कारण सडक सञ्जालको विकासमा निकै सहज भएको गाउँपालिकाको बुझाई छ ।

गाउँमा सडक पुगेका छन् । विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रका पूर्वाधारको काम भैरहेकै छ । तर जुन गतिमा विकासका पूर्वाधार बनिरहेका छन् त्यो भन्दा उच्च गतिमा छ यहाँको बसाईसराई । काठेखोलामा वडा अनुसारको बस्ती विकास, वडा अनुसारकै उत्पादन र रहनसहन समेत फरक छ । अचम्मको कुरा त के भने यही पालिकामा जिल्लाकै धेरै बसाईसराई भएका ठाउँहरु छन् । यहीँका केही वडामा बसाईसराईको अवस्था नगन्य छ ।

मध्यपहाडी लोकमार्गले छोएका वडाहरुमा बसाईसराई छ । काठेखोलाको तंग्राम, रेश, लेखानी र धम्जा लगायतका वडामा भने बसाईसराई नगन्य रहेको वडा अध्यक्षहरु बताउँछन् । वैदेशिक रोजगारीमा जाने र उतै बस्ने, गाउँमा भएका एकाद मानिसहरु पनि तराई र देशका ठुला शहरहरुमा बसाई सर्दा सुन्दर गाउँहरु खण्डहर बनेका छन् । “पहिले पहिले यहाँ छाक टार्न कठिन भएका कारण अवसरको खोजीमा मानिसहरु बसाईसराई गरेको सुनिन्थ्यो” काठेखोला गाउँपालिका ६ बिहुँका वडा अध्यक्ष बृहस्पती कँडेलले भने, “अहिले मध्यम वर्गिय परिवार बसाई सरेर हिँडेको हिँडै छन् ।” उनका अनुसार, यहाँ दिन काट्नै गाह्रो भएर वा गाउँमा सुविधा नै केही नभएर गाउँ छोडेका भने होईनन् । पछिल्लो समय फेसनको रुपमा बसाईसराईको सोँच विकास भैरहेको उनको दावी छ ।

जिल्लामै सबैभन्दा धेरै सुन्तला उत्पादन बिहुँमा हुन्छ । बर्षेनी ६ करोडभन्दा धेरैको सुन्तला उत्पादन र बिक्री हुने गरेको तथ्यांक छ । वार्षिक एक लाख लिटर दुध संस्थागत रुपमा बिहुँबाटै निर्यात भैरहेको रेकर्ड गाउँपालिकासँग छ । त्यो बाहेक अदुवा, बेसार, अम्रिसो लगायतका उत्पादनबाट यहाँ किसानले आम्दानी गरेका छन् । तर, बसाई सर्नेहरुका कारण वर्षेनी दर्जनौं घर भने खाली भैरहेका कँडेल बताउँछन् । काठेखोला गाउँपालिकाका बिहुँ मात्रै होइन, भीमापोखरा, पाला लगायतका गाउँमा पनि बसाईसराई छ । जिल्लाभरि नै बसाईसराईको राप चलिरहेका बेला काठेखोला मात्रै बाँकी रहने कुरै भएन । बनेका घर छोड्ने, उत्पादनमुलक जग्गा बाँझो रहने अवस्थाले गाउँपालिका चिन्तित छ ।

गाउँपालिकाले बसाईसराई रोक्न विभिन्न समयमा अनेकौं प्रयासहरु गरेको छ । किसानलाई प्रोत्साहन, गाउँ गाउँमा विकासका पूर्वाधार तयार गर्ने, प्राबिधिक शिक्षासँग जोड्नेदेखि सीपमुलक तालिम दिएर गाउँपालिकाबासीलाई व्यवसायीक बनाउने काम भैरहेकै छन् । वडाहरुले लोकसेवाको तयारी कक्षा चलाउनेदेखि सीपमुलक र क्षमता विकासका कार्यक्रममै जोड दिईरहेका छन् । बसाईसराईको कारण पत्ता लगाउनु र समस्या समाधन गर्नु पालिकाको मुल चुनौती हो । यतीले मात्रै नभएपछि अब भने पालिकाले बस्ती विकासको रणनीति बनाउने भएको छ । पालिकामा रहेकालाई यतै थाम्ने चुनौतीको सामना त छँदैछ । गाउँ छोडेकालाई फेरी गाउँ फर्काउन गाउँपालिकाले रणनीति बनाउने तयारी छ ।

मध्यपहाडी लोमार्गलाई आधार बनाएर गाउँपालिकाले बस्ती विकासको रणनीति ल्याउने काठेखोला गाउँपालिका ५ बिहुँका वडा अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । यो नीतिको कार्यान्वयन गाउँपालिका स्तरबाट कठिन हुनसक्छ । गाउँपालिकाले बस्ती विकासको रणनीति ल्याउने र बसाई सरेकालाई फर्काउने, यो योजनामा संघ र प्रदेश सरकारले सघाउने कार्यक्रम बनाउनुपर्ने उनले बताए ।

पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा झुलाघाट जोडेको मध्यपहाडी लोकमार्गको उपयोग गर्दै बसाईसराई फर्काउने कामलाई अवसरको रुपमा प्रयोग गरिने उनले बताए । “सडक पनि बिस्तारै राम्रो बन्दै छ, यसले यहाँ सबै क्षेत्रलाई सुगम बनाउँछ” कँडेल भन्छन् “सडक ल्याएको बस्ती पठाउन होइन, बस्ती फर्काउनका लागि हो ।” गाउँ फर्केर आउनेहरुलाई गाउँपालिकाले प्रदान गर्ने हरेक सेवामा सुविधा दिने, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, प्रविधि र रोजगारी तथा स्वरोजगारीका क्षेत्रको ज्ञारेण्टी गर्नुपर्ने उनले बताए । एकिकृत बस्ती विकास गर्ने र फर्किनेहरुलाई स्वागत तथा समाजमा अन्तरघुलनका लागि सम्मानजनक वातावरण सिर्जना गरिने उनले बताए । “हाम्रो समाज फर्किनेहरुलाई बिभिन्न दृष्टिकोणबाट हेर्ने खालको छ” कँडेल भन्छन् “बसाई सरेकाहरु फर्किनु हाम्रो लागि अबसर हो भन्ने बुझाउन जरुरी छ ।”

जाने ठाउँ सजिलो छैन् भनेर बुझाउन जरुरी छ
गाउँमा घरायासी प्रयोजनका लागि करेसाबारी छ । तरकारी किन्न पर्दैन् । एउटा वस्तु पाल्न सके दुध, दही, घ्युको दुख हुन्न । खानेपानीको दुख छैन । धेरथोर उत्पादन हुन्छ । तर यो सबै छोडेर बसाई सरेको देखेका वडा अध्यक्षहरु चिन्तित छन् । सानो टुक्रा घडेरी, एउटा घरमात्रै किनेर बसाई सर्ने र दैनिक जीवन बजारकै भरमा चलाउनेहरुको संख्या ठुलो छ । “बसाई सरेको ठाउँको दुख जानेहरु देखाएकै छैनन्, उकाली ओरालीको चिन्ताले जानेहरुको पछि लाग्दा यो फेसन बन्यो” ज्ञामनाथ भन्छन् “अब हामीले बसेको ठाउँ र जाने ठाउँको जीवनशैलीका विषयमा दाँजेर हेर्नेगरी सचेतना फैलाउन जरुरी छ ।” देशका ठुला शहर साँघुरिँदै गएको, तराईकामा हुने दुःख र विदेशमा बसाई सर्दा कालान्तरमा पर्ने आर्थिक, सांस्कृतिक र रहनसहनको प्रभावबारे पनि सचेतनाको आवश्यकता रहेको उनले औंल्याए ।

बसाईसराईको कारण अनुमान गरिएका रोजगारीका अवसरको विषयमा पनि तीन तहका सरकारले सोच्न आवश्यक रहेको वडा अध्यक्षहरु बताउँछन् । बसाई सर्ने क्रम झट्ट रोक्न नसकिए पनि गाउँमै बसेर जीवन चलाउन सकिन्छ भन्ने ग्यारेण्टी हुँदाका दिन जानेहरु आफ्नो ठाउँ खोजेर आँफै फर्किने वडा नं. २ का अध्यक्ष विद्यापती शर्मा बताउँछन् । सरकारले स्पष्ट नीति ल्याउने, सबै नागरीकलाई गाँस, बास र कपासको ग्यारेण्टी हुँदाका दिन गाउँ फर्किनेहरुको लर्को लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->