एमजनका संस्थापक जेफ बेजोस र उनकी प्रेमिका लरेन सान्चेजले यसै साता तीनदिने भव्य समारोहबीच विवाह गर्दै छन् । दशौँ करोड डलर खर्च हुन लागेको वैवाहिक कार्यक्रम विरोध प्रदर्शनसहितका विवादबीच अगाडि बढ्दै छ । दुई अर्बपति र फक्स टीभी अनि एबीसी टक शो ‘द भ्यू’का पूर्वसहप्रस्तोताको यो दोस्रो बिहे हुने छ । विवाहित जोडी बन्न लागेका यी दुई जना केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका थिए । सन् २०२३ को मेमा उनीहरूको ‘इन्गेज्मेन्ट’ भएको थियो ।
विवाद र विरोध
वैवाहिक कार्यक्रमबारे विस्तृत जानकारी दिइएको छैन, तर मूल योजनाअन्तर्गत सहरको केन्द्रमा रहेको ऐतिहासिक स्थल स्क्वोला ग्रान्ड डेला मिसेरिकोर्डिआमा आयोजना गरिने बताइएको थियो । यद्यपि अर्बपतिहरूको बिहेले गराउने व्यापक खर्च र व्यवधानलाई लिएर नागरिकहरूबाट आएका प्रतिक्रियाले आयोजकहरूलाई विवाहस्थल परिवर्तन गर्न दबाव सिर्जना गरेको देखिएको छ ।
‘हामीलाई यसमा गर्व छ ! हामी कोही होइनौँ, हामीसँग पैसा छैन, केही पनि छैन,’ आफूलाई नो स्पेस फर बेजोस (बेजोसलाई ठाउँ छैन) भनेर चिनाउने समूहका टोमासो कासिआरीले बीबीसीसँग भने । ‘हामी नागरिक हौँ, जसले यो कार्यक्रम गर्न थाल्यौँ र हामीले संसारका अति शक्तिशालीमध्येका एक व्यक्तिलाई सहरबाट निकाल्न सफल भयौँ ।’
त्यस्ता उच्चस्तरका आगन्तुकहरू महत्वपूर्ण आम्दानीका स्रोत भएका भन्दै सहरका अधिकारीहरूले अभियानकर्मीहरूको चर्को आलोचना गरेका छन् । ‘प्रदर्शनकारीहरूले यसरी व्यवहार देखाएका छन् कि मानौँ भेनिसमाथि उनीहरूकै स्वामित्व छ, तर त्यसो होइन,’ भेनिसका आर्थिक विकाससम्बन्धी काउन्सिलर सिमोन भेन्टुरिनीले बीबीसीसँग भने । ‘कसको बिहे यहाँ हुन पाउँछ अथवा हुन पाउँदैन भन्ने कुरा कसैले निर्णय गर्न पाउँदैन ।’
बेहुला–बेहुली को हुन् ?
यो वर्ष फोब्र्सले ६१ वर्षीय बेजोसलाई संसारको तेस्रो सर्वाधिक धनी व्यक्ति घोषित गरेको छ । उनीसँग अनुमानित २२७ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ । उनी विशाल ईकमर्स कम्पनी एमजन र अन्तरिक्ष प्रविधि कम्पनी ब्लू ओरिजिनका संस्थापक हुन् ।
यसअघिका बिहेबाट यी दुईका कुल सातजना सन्तान छन् । बेजोसकी पूर्वपत्नी मक्केन्जी स्कटबाट तीन छोरा र एक धर्मपुत्री रहेका छन् । पच्चीस वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याउँदै उक्त जोडीले सन् २०१९ मा ट्विटर (अहिलेको एक्स) मार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको थियो । पारपाचुकेपछि मक्केन्जीसँग एमजनको चार प्रतिशत शेअर हुने सहमति पनि भएको थियो ।
पचपन्न वर्षीया लरेन सान्चेज लाइसन्सप्राप्त हेलिकोप्टर पाइलट र ब्ल्याक ओप्स एभिएशनकी संस्थापक हुन् । ब्लू ओरिजिनको एक्स खातामा उल्लेख गरिएअनुसार महिला मालिक र सञ्चालक रहेको ब्ल्याक ओप्स एभिएशन पहिलो एरिअल फिल्म तथा उत्पादन कम्पनी हो ।
पूर्वपार्टनर तथा न्याश्नल फुटबल लीगका भूतपूर्व खेलाडी टोनी गोन्जालेजबाट सान्चेजका एउटा छोरा छन् भने पहिलो श्रीमान् मिडिआ इग्जे्कयटिभ प्याट्रिक ह्वाइटसेलबाट उनका दुई सन्तान छन् । उनीहरूबीच १४ वर्षसम्म वैवाहिक सम्बन्ध थियो ।
विरोधमा कसले प्रदर्शन गरिरहेका छन् ?
ठूला हस्तीहरू सहभागी हुने वैवाहिक कार्यक्रमले विभिन्न समूहबाट विरोध निम्त्याएको छ । यसमा भेनिसमा आवश्यकताभन्दा बढी पर्यटनको विरोध गर्ने स्थानीय बासिन्दाहरू, जलवायु परिवर्तनको विषयलाई उठाउने अभियानकर्मीहरू र डोनल्ड ट्रम्पलाई बेजोसको समर्थनको विरोध गर्नेहरू रहेका छन् ।
सहरका कैयौँ हिस्सा बन्द गराउन सक्ने चिन्ताबीच भेनिसमा अभियानकर्मीहरूले बेजोसको वैवाहिक कार्यक्रमविरुद्ध शृङ्खलाबद्ध प्रदर्शनको आयोजना गरेका छन् । कतिपय स्थानीय बासिन्दाले यो समारोहलाई भेनिसमा आवश्यकताभन्दा बढी पर्यटन र स्थानीयवासीलाई अन्यत्र स्थानान्तरण गर्ने अर्को सङ्केतका रूपमा लिएका छन् ।
भेनिसको अहिलेको जनसंख्या ४९ हजारभन्दा कम रहेको छ जबकि सन् १९५० मा एक लाख ७५ हजार थियो । वातावरणवादी समूह ग्रीनपीसले बेजोसलाई ‘विशेषाधिकार र प्रदूषण’ का प्रतीक भनेका छन्, जसले ‘अतिधनाढ्य र बाँकी मानिसबीचको असमानता एवं जलवायु परिवर्तनका प्रभावबीचको खाडललाई अझ बढाउने छ’ ।
सोमवार ग्रीसपीसका अभियानकर्मीहरू र आफूलाई ‘एभ्रिवन हेट्स इलोन’ (इलोनलाई सबैले घृणा गर्छन) भनेर चिनाउने समूहले सेन्ट मार्क स्क्वेअरस्थित पिज्जा सान मार्कोमा बेजोसको एउटा विशाल चित्र सार्वजनिक गरे । अतिधनाढ्यविरुद्ध गरिएको प्रदर्शनको नारा थियो, ‘यदि तपाईँ भाडामा भेनिस सहरलाई लिन सक्नुहुन्छ भने तपाईँ धेरै कर तिर्न सक्नुहुन्छ ।’ आगन्तुक र हप्तौँदेखि प्रदर्शन गर्दै आएका अभियानकर्मीहरू नमिसिऊन् भनेर भेनिस सिटी हलले बुधबार एउटा निर्देशन जारी गर्दै छेकबार लगाएको छ ।
कसकसलाई आमन्त्रण गरिएको छ ?
करिब २०० जना पाहुनालाई निम्त्याइएको छ । फ्याशन डिजाइनर डायन भान फस्र्टनर्बर्गका साथै डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प, उनका श्रीमान् जारेड कूश्नरसहित कैयौँ पाहुनाहरू भेनिस पुग्न थालेका छन् । मेमा प्यारिसमा गरिएको सान्चेजको ‘ब्याचलरेट पार्टी’मा रियालटी टीभी स्टारहरू किम कार्डाशिअन र क्रिस जेनर, गायिका केटी पेरी, अभिनेत्री तथा निर्मात्री इभा लङ्गोरिआ, परोपकारी नताशा पूनावाला र फक्स स्पोट्र्स प्रस्तोता करीसा थम्प्सन थिए । सबै सामेल हुने अपेक्षा गरिएको छ । हल्ला सुनिएअनुसार सहभागी हुने अरू ठूला हस्तीहरूमा टीभी प्रस्तोता ओप्रा विन्फ्री, रक पर्फर्मर माइक ज्यागर र अभिनेता लिओनार्दो डि क्याप्रिओ पनि छन् ।
इटलीका सञ्चारमाध्यमहरूका अनुसार वैवाहिक समारोहका लागि लगभग सबै विलासी होटेलहरू बुक गरिसकिएको छ भने थुपै ‘वाटर ट्याक्सी’हरू पनि बुक गरिएका छन् । निजी विमानहरूले भेनिस विमानस्थलमा जाम निम्त्याउने अपेक्षा गरिएको छ भने बन्दरगाहमा निजी पानीजहाजहरूको दबदबा रहने छ । पाँचवटा होटेलहरू पूर्ण रूपमा बुक गरिएका छन् भने सुरक्षाका लागि पूर्वअमेरिकी जलसेनाहरूलाई भाडामा लिइएका विवरणमा जनाइएको छ ।
भेनिस पनि पर्ने भेनेटोका क्षेत्रीय सरकार प्रमुख लुका जाइआका अनुसार वैवाहिक समारोहमा ५.५६९ करोड डलर खर्च हुने अपेक्षा गरिएको छ । भेनिसमा व्यापक स्तरमा आयोजना गरिएको जेफ बेजोसको वैवाहिक समारोह पहिलो होइन ।
सन् २०१४ मा अभिनेता जर्ज क्लूनीले मानवअधिकार वकिल अमल अलामुद्दीनसँग भव्य समारोहबीच विवाह गरेका थिए, जति बेला भेनिसका नहरहरूमा ठूला हस्तीहरू ओर्लिएका थिए । तर बेजोसको वैवाहिक समारोहको जस्तो क्लूनीको समारोहको विरोध भएको थिएन ।





