स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले आँफ्नै आमाले छोडेपछि बेवारिसे बनेका बालिकाको उद्धार गरेको छ । दाङको तुलसीपुरमा फलफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरी नफर्केपछि बेवारिसे बनेका नौ वर्षिय कृतिका र छ वर्षिय क्रिसकालाई पालिकाले उद्धार गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाका दुई बच्चा बेवारिसे बनेको सामाजिक सञ्जालमा देखको एक घण्टामै उद्धारको लागि टोली खटाएको बताए । जुपु क्षेत्रीले फेसबुकमा दुई बच्चाले अर्जुनचौपारी घर भएको भिडियो पोष्ट गरेसँगै आँफु चढ्ने पालिकाको गाडी र ड्राइभरसहितको टोली पठाएर उद्धार गरेको तिवारीले बताए ।
पालिकाले थाहा पाएसँगै सोमबारनै टोली तुलसीपुर पुगेको थियो । मंगलबार बालिकाको जिम्मा लिईएको हो । पहिलो घर काठमाडौँ भएका दुई बालिकासहित आमा पुजा दुई महिनाअघि वडा नं. २ खाल्टेका ताराबहादुर रोका (सेते) रोकासँग आएका थिए ।
भारत हिंडेका सेतेले बुटवलामा पुजासहित बालिका भेटेको र सल्लाहपश्चात आफुले ल्याएको बताए । आफ्नो बाबुको नाम किशोर ठकुरी (रामेछाप) बताउँदै बालिका कृतिकाले नयाँ बाबुसँग आमासँगै आएको र सँगै बसेको बताइन् ।
आफ्नो पालिकाका बालिका बेवारिसे भएको थाहा पाएपछि उद्धार गरेको बताउँदै जो जहाँ जन्मे पनि पालिकाको भनेपछि दायित्व पुरा गरेको अध्यक्ष तिवारीले बताए । पालिकाले अब पुरानो बाबुआमा र नयाँ बाबुको खोजी गरी सल्लाहपश्चात अगाडि बढ्ने बताउँदै तिवारीले पहिलो बाबुसँग पठाएर, आमा या नयाँ बाबुसँग पठाएर वा बालगृहमा पठाएर बालिकाको भविष्य राम्रो बन्छ सोहीअनुसार कदम चाल्ने बताए । बालिकाको भविष्यबारे नयाँ विकल्प ननिस्केसम्म पालिकाले आफ्नै संरक्षणमा राख्ने बताएको छ ।
असार १२ गते माइत जाने भनेर तीन जना हिंडेको र तुलसीपुरमा दुई बालिका अलपत्र छाडेर आमा पुजा भागेको र प्रहरीले भेटेर मानवसेवा आश्रमलाई बुझाएको थियो । बालिकालाई १५ गते तुलसीपुर चोकमा प्रहरीले भेटेपनि मानवसेवा आश्रममा बुझाएपछि सामाजिक सञ्जालमा आएको थियो र पालिका उद्धारमा जुटेको हो ।





