विमानको आविष्कार कसले गर्यो ? यो एउटा सामान्य प्रश्नजस्तो लाग्न सक्छ । तर यो सामान्य प्रश्न होइन । यो खासमा एक शताब्दी पुरानो विवादको केन्द्रबिन्दु हो । धेरै अमेरिकीहरू साइकल मेकानिक रहेका ‘स्वप्रशिक्षित’ इन्जिनियरहरू अर्भिल र विल्बर राइटलाई उड्डयनका पिता मान्छन् । यी दाजुभाइले सन् १९०३ मा पहिलो स्थिर उडान गरेका थिए ।
अर्कोतिर ब्रजिलका धेरै मानिसहरू विमान आविष्कारको जस अल्बर्टो सान्टोस डूमोलाई जाने ठान्छन् । उनी कफी उत्पादक धनी परिवारका उत्तराधिकारी थिए । उनले भने सन् १९०६ मा प्यारिसमा इन्टन्र्याश्नल एरोनटिकल फेडरेशनद्वारा प्रमाणित पहिलो उडान भरेका थिए ।
सान्टोस डूमो : पहिलो सार्वजनिक उडान
बीसौँ शताब्दीको सुरुमा दर्जनौँ आविष्कारकहरू मानिसको उड्ने दीर्घप्रतीक्षित सपना हासिल गर्न सक्ने गरी यस्ता इन्जिनयुक्त मशीन बनाउन प्रयासरत थिए । तीमध्ये धेरैजसो प्यारिसमा भेला भए, जुन त्यो समयमा प्रयोगात्मक विमान बनाउनका लागि राम्रो वातावरण भएको ठाउँ थियो । त्यति बेला प्यारिसमा इन्जिनियरिङका राम्रा अध्ययन केन्द्रहरू थिए र धातु विज्ञान, मेकानिक्स, भौतिकशास्त्र र रसायनशास्त्रजस्ता क्षेत्रहरूमा अनुसन्धानको लागि पुँजी उपलब्ध थियो ।
‘नयाँ आविष्कार केवल समयको कुरा हो भन्ने महसुस हुन्थ्यो,’ फ्रान्सेली इतिहासकार प्राध्यापक झाँ–पिएर ब्लाईले भने । त्यति बेला उड्डयनमा रुचि राख्नेहरूले पहिलो उडानका लागि के–के सर्त हुनुपर्छ भनेर सूची तय गरे, त्यसमा कुनै सहायताबिना (अर्थात् कुनै ‘क्याटपल्ट’बिना) ‘टेकअफ’ र निरन्तर उडानलाई पनि राखियो ।
अनि सन् १९०६ को नोभेम्बर १२ तारिखमा सान्टोस डूमोले सबै मापदण्डहरू पूरा गरेर प्यारिसमा एउटा भिडभन्दा २२० मिटर माथि १४–आइबीएस नामक विमान उडान गरे । अर्को वर्ष ब्रजिलका उड्डयनकर्मीले नयाँ मोडल ‘डेमोजल’ सार्वजनिक गरे, जुन विश्वकै पहिलो ‘अल्ट्रालाइट’ र ठूलो मात्रामा उत्पादन भएको विमान थियो ।
प्रमाण प्रस्तुत गर्दै
सन् १९०८ मा मात्रै राइट दाजुभाइले आफूले पाँच वर्षअघि नै पहिलो उडान गरेको दाबी गरेका थिए । त्यसबाट फ्रान्सेलीहरू अचम्ममा परे । अमेरिका र युरोपका उडान क्लबहरूबीच निरन्तर पत्राचार भइरहेकाले उनीहरूलाई थाहा थियो कि जमिनबाट लामो समयसम्म उड्न सक्ने पहिलो विमान बनाउने होड चलिरहेको थियो । तर युरोपेलीहरूले अन्तिम पटक राइट दाजुभाइहरूबारे सुनेको धेरै समय भइसकेको थियो ।
राइट दाजुभाइले आफूहरूको ‘पेटेन्ट’ अनुमोदन होस् भनेर आफ्ना उपायहरू चोरी हुने डरले त्यस्तो दाबी गर्न कुरिरहेको तर्क गरे । तर तथ्य के हो भने सन् १९०३ डिसेम्बर १७ तारिखमा नोर्थ क्यारलाइनाको किट्टी हकमा उनीहरूको ‘फ्लाइअर’ आकाशमा देखेको प्रमाणित गर्नेहरू केवल पाँच जना थिए । उक्त घटनाका दुर्लभ प्रमाणहरूमा एउटा टेलिग्राम, केही तस्बिरहरू र अर्भिलको डायरी रहेका छन् ।
ब्रजिलको म्यूजीअम अफ एस्ट्रोनमी एन्ड रिलेटेड साइन्सेसका पूर्वनिर्देशक एनरिके लिन्स डे ब्यारोसजस्ता वैज्ञानिकहरूले अर्भिल आफैँले आफ्नो डायरीमा हावा ४० किलोमिटर प्रतिघण्टामा चलिरहेको लेखेको र त्यो गति विमानलाई इन्जिनको सहायताबिना नै माथि उठाउन पर्याप्त भएको भन्दै तर्क गरेका छन् ।
राइटका कानुन व्यवसायीले विमति जनाएका छन् र प्यारिसको आकाशमा १४–बीआईएस उड्नुअघि नै सन् १९०४ र १९०५ को बीचमा उनीहरूको ‘फ्लाइअर’को सुधारिएको मोडल विकास गरिएको बताएका छन् । ‘त्यो बिहान १७ डिसेम्बर १९०३ राइट दाजुभाइले पहिलो पटक यति राम्रोसँग उडान गरेका थिए कि उनीहरू आफैँ मनमनै विश्वास गर्न थाले कि उनीहरूले समस्याको समाधान फेला पारेका छन् र त्यो पर्याप्त थियो,’ इतिहासकार टम क्राउचले भने । उनी राइट दाजुभाइबारे कैयौँ पुस्तकका लेखक हुन् ।
‘उनीहरूले अझै धेरै सुधार गर्न बाँकी थियो तर उनीहरूले विमान बनाए र त्यो उड्यो,’ उनले औँल्याए । यति धेरै सुधारहरू गोप्य रूपमा भएको जस्तो देखिन्छ किनकि सन् १९०८ सम्म उनीहरूले आफू पहिलो भएको मान्यता पाउन अभियान चलाएनन् ।
राइट दाजुभाइले युरोपको यात्रा गरे र फ्रान्स तथा इटलीजस्ता देशमा २०० भन्दा बढी प्रदर्शन उडानहरू गरे । त्यस्तो उडानमा एकैपटक १२४ किलोमिटरसम्मको दूरी तय गरिएको थियो । ‘युरोपेली राजपरिवारले विल्बरको छेउमा विमानमा बस्न अनुरोध गरे । यो ठूलो सम्मान मानिन्थ्यो,’ प्राध्यापक ब्लेले भने । त्यही बेला फ्रान्सेली उड्डयनका अन्वेषक फर्डिनान्ड फर्बरले राइट दाजुभाइको पहिलो भएको दाबी स्वीकार गरेका थिए र सजिलै सञ्चालन गर्न सकिने विमान एकै रातमा बन्न नसक्ने तर्क गरेका थिए ।
‘क्याटपल्ट’
तर युरोपमा प्रदर्शनमा राखिएका माथिल्लो स्तरका विमानहरूमा पाङ्ग्रा थिएनन् र तिनीहरूलाई सञ्चालन गर्न ‘क्याटपल्ट’ आवश्यक पथ्र्यो । यो विषय विवादको मुख्य बुँदा बनेको थियो । विमानको इन्जिन पर्याप्त बलियो नभएको र केवल ‘क्याटपल्ट’को मद्दतले मात्रै उडेको आलोचकहरू बताउँछन् । तर केहीले भने राइट दाजुभाइले कुनै पनि भूभागबाट टेकअफ गर्न सकून् भनेर ‘क्याटपल्ट’को प्रयोग गरेको तर्क गर्छन् । तर यहाँ रोचक कुरा के छ भने सान्टोस डूमो र राइट दाजुभाइ मात्रै आफूलाई उडानको अन्वेषक दाबी गर्नेहरू थिएनन् ।
जर्मनीका गुस्टफ वाइसकफ जर्मनीका नागरिक थिए र उनी अमेरिकामा बस्थे । सन् १९०१ मा उनले उडान गरेको बताइन्छ । त्यस्तै न्यूजील्यान्डका रिचर्ड पिअर्सले पनि सन् १९०३ को मार्च महिनामा विमान उडाएको बताइएको छ ।
जोन गुडम्यान र उनको परिवारले संसारकै मानिस चढेको पहिलो उडान गरेका भन्ने पनि केही प्रमाणहरू छन् । तर त्यो विमान इन्जिनबाट सञ्चालित थिएन । दक्षिण अफ्रिकाको होविक नगरको बाहिरी भेगमा सन् १८७१ मा उनले विमान उडाएको बताइन्छ । खासमा उक्त यात्रु चढेको विमानको स्मृतिस्वरूप अहिले पनि त्यहाँ स्मारक भेटिन्छ ।
यही कारणले केही उड्डयन विशेषज्ञहरू विमान कसले आविष्कार ग¥यो भन्ने पूरै विवाद अर्थहीन भएको बताउँछन् । ‘त्यो कुनै एक दिन अचानक कसैले जागेर रेखाचित्र बनाएर, यो विमान हो र यसले काम गर्ने छ ! भनेको घटना थिएन,’ पल ज्याक्सन भन्छन् । उनी ‘जेन्स अल द वल्र्डस एअरक्राफ्ट’का २५ वर्षसम्म सम्पादक भएका थिए । यो दर्जनौँ वा सयौँ मानिसहरूको समूहको प्रयास थियो । सबै मिलेर काम गरिरहेका थिए,’ उनले भने ।
विज्ञानको पहिचान
ज्याक्सनलाई लाग्छ कि सान्टोस डूमो, वाइस्कफ र अन्य धेरैले अहिले पाएको भन्दा धेरै सम्मान पाउनुपर्छ । ‘तर ठूला नाम भएका र धेरै खर्च गरेर आफ्ना पैरवीकर्ता राखेकाहरूलाई मात्रै यसको श्रेय जाने गर्छ,’ ब्रिटिश उड्डयन विशेषज्ञ भन्छन् ।
‘दुःखको कुरा के हो भने यदि तपाईँ १९ औँ र २० औँ शताब्दीका अधिकांश आविष्कारहरूलाई हेर्नुभयो भने ती प्रायः गलत मानिसहरूलाई श्रेय दिइएको हुन्छ,’ उनले भने । उनले स्कटल्यान्डका वैज्ञानिक अलेक्जेन्डर ग्राहम बेलको नाम उल्लेख गरे। उनलाई फोनको आविष्कार गरेको श्रेय जान्छ । तर यो विवादित छ ।
वास्तवमा सन् २००२ मा अमेरिकी कङ्ग्रेसले उनले उपकरणको पेटेन्ट लिए पनि त्यो एक गरिब इटालिअन एन्टोनियो मेउच्चीले आविष्कार गरेको स्वीकार गरेको थियो । मेउच्चीले बेलसँगै एउटै कार्यशालामा भाग लिएका थिए । मार्सिआ कमिङ्ग्स ग्लेन ह्यामन्ड कर्टिसकी चिनजानकी व्यक्ति हुन् । कर्टिसलाई राइट दाजुभाइले सन् १९०९ को सुरुमा पेटेन्ट उल्लंघनको आरोपमा मुद्दा हालेका थिए ।
अहिले भने कमिङ्ग्स एउटा ब्लगमा काम गर्छिन्, जसले राइट दाजुभाइहरूको घटनाहरूको संस्करणलाई प्रश्न गर्छ । कमिङ्ग्सका अनुसार उनलाई विश्वास छ कि राइट दाजुभाइले जानाजान कर्टिसजस्ता व्यक्तिलाई इतिहासबाट मेटाउन काम गरेका छन् ।
अर्भिल र विल्बरको परिवारकी एक सदस्य अमान्डा राइट लेनले ‘उनी कस्तो व्यक्ति थिए भन्ने थाहा भएकाले मलाई लाग्दैन कि अर्भिलले जानाजानी कसैलाई नोक्सान पु¥याउने काम गरेका थिए’ भन्दै त्यस्तो कुरालाई नै अस्वीकार गरिन् । ‘उनी आफू र विल्बरले गरेका काम र आफूले गरेको सत्यको बचाउ गर्थे,’ उनले थपिन् ।





