म्याग्दी/जिल्लाको मालिका गाउँपालिका वडा नं. ३ लुप्सीपारमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घरनजिक बारीमा घाँस काटिरहेको अवस्थामा मालिका ३ का ३५ वर्षिय जगेन्द्र विक र उनका १३ वर्षिय छोरा सरोज विक पहिरोमा पुरिएरका थिए ।
स्थानीयले खोजी गर्दा बुबा जगेन्द्रको शव भेटिएको भएपनि छोराको शव फेला नपरेको मालिका गाउँपालिका ३ का वडा सदस्य कुलबहादुर बुढाले जानकारी दिए । पहिरोले पुरिएका छोरा सरोजको स्थानीयले खोजी गरिरहेका छन् । उद्दारका लागि इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।





