म्याग्दी/ कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक पुग्न सफल भएका छन् । उनले हालैमात्र पाकिस्तानको नांगा पर्वतमा पुगेर हिमाल आरोहणमा हाफ सेन्चुरी पूरा गरेका हुन् ।
यो विश्वभरका पर्वतारोहीका लागि निकै दुर्लभ रेकर्ड हो । ५० आरोहणमा पूर्जाले २२ आरोहण अक्सिजन बिनै पुरा गरेका छन् । नेपाल र बेलायतको २ सय बर्ष पूरानो मैत्रीपूर्ण सम्बन्धको सम्मानमा पूर्जा चुचुरामा गोर्खा र यूके स्पेसल फोर्सेसको झण्डा फहराएको निम्सको इलाइट एक्सपिडका प्रतिनिधि गोविन्द बरुवालले बताए । ‘यो कोशेढुङ्गा पार गर्नुमा म ज्यादै भाग्यमानी महसुस गर्छु, मलाई सधैँ नै लागिरहन्छ मेरो उदेश्य चुचुरो भन्दा पर हो’ आरोही पूर्जाको भनाई उध्दृत गर्दै बरुवालले भने ।
‘आरोहण क्षेत्रमा लागेपछि मैले देखेको यो एउटा सपना पूरा भएको छ, विश्वभरका हिमालहरू आरोहणका लागि सुरक्षित छन्’ पूर्जाले व्हाट्सएप च्याटमा भनेका छन् । १६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ सालको पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेको पूर्जाको भनाई छ । हिमाल आरोहणको १२ बर्षको अवधिमा पूर्जाले विश्वकै अग्लो सगरमाथासहित नेपालमा रहेका ८ र पाकिस्तान र चीनमा गरी १४ वटा अग्ला हिमालमा हाफ सेन्चुरी अर्थात् ५० पटक आरोहणका साथै सातै महादेशका अग्ला चुचुरोमा बिना अक्सिजन आरोहणमा कीर्तिमानी कायम गरेका हुन् । यस्तो किर्तीमानी अहिलेसम्म कसैको पनि नरहेको जनाइएको छ ।

पूर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहणसमेत गरेका छन् । पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको समेत पटकपटक आरोहण गरेका छन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए उनले । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका उनले क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।
बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा समस्यामा परेका एक आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड पाएका छन् ।





