बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘बोक्सी’ भन्दै भारतको बिहारमा पाँच जनालाई जिउँदै जलाईएको घटनामा के भएको थियो ?

‘बोक्सी’ भन्दै भारतको बिहारमा पाँच जनालाई जिउँदै जलाईएको घटनामा के भएको थियो ?

यस स्थानमा देखिने आगोले जलेको रातो सारी र मानव कपालको अवशेषले आइतबार ६ जुलाईको रात र सोमवार बिहान सबेरैको समयमा यो टोलमा भएको अमानवीय कार्यको प्रमाण पेस गरिरहेका थिए । करिब ६० घर भएको यो टोलमा अहिले केबल मृतक परिवारका आफन्तजन मात्र बसिरहेका छन् बाँकी टोलबासी सबै फरार छन् ।


  • सीटू तिवारी/बीबीसी
  • असार २७ २०८२, शुक्रबार

भारतमा बिहार राज्यको पूर्णियामा ‘बोक्सी’ को आरोप लगाइ एकै परिवारका तीन महिला र दुई पुरुषलाई जिउँदै जलाएर मारिएको घटना सार्वजनिक भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । घटना पूर्णियाको राज रानीगञ्ज पञ्चायतको टेटगामा भन्ने स्थानमा भएको थियो। मंगलबार दिउँसो बीबीसीको टोली त्यहाँ पुग्दा पूरै बस्ती सुनसान थियो ।

टेटगामा टोलमा छिर्ने बित्तिकै कच्ची–पक्की सडकको दायाँतर्फ एक खाली ठाउँमा मिडियाका मान्छे र यूट्यूबरहरू त्यहाँको अवस्था क्यामरा र मोबाइल फोनबाट खिचिरहेका थिए । यस स्थानमा देखिने आगोले जलेको रातो सारी र मानव कपालको अवशेषले आइतबार ६ जुलाईको रात र सोमवार बिहान सबेरैको समयमा यो टोलमा भएको अमानवीय कार्यको प्रमाण पेस गरिरहेका थिए । करिब ६० घर भएको यो टोलमा अहिले केबल मृतक परिवारका आफन्तजन मात्र बसिरहेका छन् बाँकी टोलबासी सबै फरार छन् ।

किनभने पूरै टोलमाथि नै पाँचजना मानिसलाई कुटपिट गरेको र जलाएर मारेको भनेर प्रहरीमा उजुरी, एफआईआर दर्ता भएको छ । यो घटना भएपछिको तीन दिन बितिसक्दा पनि यो समाचार तयार पारुन्जेल जम्मा ३ गिरफ्तारी भएका छन् जबकि २३ जनाको नाम तोकेर र नाम नतोकीकनै १५०–२०० जनाविरुद्ध उजुरी दर्ता भएको छ ।

यो घटनामा अन्धविश्वासको कारण बाहेक पनि उठेको प्रश्न के हो भने पूर्णिया जिल्ला मुख्यालयबाट १२ किलोमिटर मात्र पर रहेको यो टोलमा रातभर पाँचजना मानिसमाथि कुटपिट भयो तिनीहरूलाई जलाइयो, तर प्रहरीसम्म कुनै खबर नै पुग्न सकेन । यस विषयमा पूर्णियाका जिल्लाधिकारी अंशुल कुमार र पुलिस अधीक्षक स्वीटी सहरावत दुवैले बीबीसीसँग कुराकानी गर्न अस्वीकार गरे ।

घटना के भएको थियो ?
‘बोक्सीको’ को आरोपमा गत आइतबार पूर्णियाका ७५ वर्षीया कातो, ६५ वर्षीय बाबु लाल उरांव, ६० वर्षकी सीता देवी, २५ वर्षका मंजीत उरांव र २२ वर्षकी रेखा देवीलाई जिउँदै जलाएर मारिएको भन्ने विवरणहरू आएका छन् । बाबु लाल उरांव र सीता देवी पति–पत्नी थिए जबकि कातो बाबु लाल उरांवकी आमा थिइन् । मंजीत उरांव बाबु लाल उरांवका छोरा थिए, र रेखा देवी मंजीतकी पत्नी थिइन् । यी सबै एकै परिवारका सदस्य थिए र एउटै घरमा बस्थे ।

खासमा कातोका पाँच छोरा थिए – जगदीश उरांव, बाबु लाल उरांव, खूब लाल उरांव, अर्जुन उरांव र जितेन्द्र उरांव । बाबु लाल उरांवका अन्य भाइ र तिनका परिवार टोलमा अलग–अलग घरमा बस्छन् । कातो, आफ्ना छोरा–बुहारी बाबु लाल उरांव र सीता देवीसँग बस्थिन् । बाबु लाल–सीता देवीका पनि चार छोरा छन् । तर उनीहरू मंजीत उरांव र एक नाबालिग छोराका साथमा बस्थे। बाँकी दुई छोरा प्रवासी मजदुर हुन् । कातोका पतिको मृत्यु केही वर्ष पहिले भएको थियो ।

यस घटनाका पछाडिको कारण केही दिन पहिले त्यहाँ एक बच्चाको मृत्यु भएको विषयसँग सम्बन्धित रहेको थाहा भएको छ । केही दिन पहिले टोलका रामदेव उरांव नामका एक व्यक्तिका बच्चाको मृत्यु भएको थियो । बच्चाको मृत्युपछि रामदेव उरांवको भाञ्जाको स्वास्थ्य बिग्¥यो । तिनलाई निको परिदिनु पर्यो भन्ने दबाव बाबु लाल उरांवको परिवारमाथि परिरहेको थियो । टोलका मानिसले बाबु लाल उरांवका परिवार खासगरी उनकी आमा कातो र पत्नी सीता देवीले ‘जादु–टुना गरेको’ शंका गरेका थिए ।

विवरणहरूका अनुसार यसै विषयलाई लिएर आइतवार अबेर राति सबभनदा पहिले बाबु लाल उरांवको घरभन्दा केही पर रहेको बाँस घारीमा टोल र आसपास बस्ने उरांव जनजातिका मानिसहरूको पञ्चायत बैठक बसेको थियो। यसै पञ्चायत भेलापछि नै सयौँको संख्यामा मानिसहरूले बाबु लाल उरांवको घरमाथि हतियार, लट्ठी–डन्डा लिएर हमला गरे ।

घटनाबारे बाबु लाल उरांवका भाइ अर्जुन उरांवले बीबीसीलाई बताएः ‘आइतबार हामी पूर्णियाबाट मजदुरी गरेर साइकलबाट घर फर्कँदा बाबु लालको घर नजिकै सयौँ महिला पुरुष जम्मा भएका थिए । उनीहरूको साथमा धारिलो हतियार र लट्ठी डन्डाहरू थिए । सबैले तिनिहरूलाई पिटिरहेका थिए र बारम्बार ‘बोक्सी’ भनिरहेका थिए । हामीले त्यसो नगर्न भनेर रोक्न खोज्यौँ उल्टै तिनीहरूले हामीलाई टाढै बस नत्र तिमिहरूलाई पनि मारिदिन्छौँ भने ।’ ‘उनीहरूले म र मेरा अन्य भाइका परिवारलाई हतियारको बलमा बन्धक बनाए । उनीहरूले मेरी आमा र भाइलाई कुटपिट गरेपछि घरदेखि केही टाढा लगेर पेट्रोल छर्केर आगो लगाइदिए । बाँकी सदस्यलाई पनि त्यसै गरे ।’

पुलिसलाई घटनाको सूचना नाबालिगले दिए
यो घटनापछि मृतक परिवारका आफन्तजनमा डरको मात्रा यति थियो कि कसैले पनि प्रहरीलाई सूचना गरेन । यसको कारण सोध्दा कातोका छोरा खुब लाल उरांव भन्छन्, ‘हामी आफ्नी आमा र भाइको परिवारलाई पिटेको हेरिरहेका थियौँ । यी मानिसले हाम्रो पछाडि पनि मानिस लगाइदिएका थिए । हामी प्रहरीलाई फोन गर्न उठ्दा हामीलाई नै मार्ने धम्की दिए । हामी के गर्न सक्थ्यौँ ?’

गत आइतबार राती र सोमवार विहान सवेरैको समयका बीचमा भएको यो घटनाको सूचना प्रहरीलाई बाबु लाल उरांवका नाबालिग छोराबाट प्राप्त भएको थियो । १७ वर्षका यी किशोर आइतवार राती घरमा भएको हमलामा बचेका थिए ।

कातोकी बुहारी रिंकी देवी बीबीसीसँग भन्छिन्, ‘(बाबु लाल उरांवका नाबालिग) छोरालाई पिट्न लागेका बेला केही मान्छेले यो बच्चा हो, यसलाई छोड्देऊ भने । ऊ आफ्नो ज्यान बचाएर भाग्यो । हामीले उसलाई एउटा कोठामा थुनेर राख्यौँ। पछि ऊ मामाघरकी हजुरआमाकहाँ गयो र थानामा सूचना दियो। सूचना पछि प्रहरी यहाँ आए ।’

सोमबार बाबु लाल उरांवका नाबालिग छोराले आफ्ना माता–पिता, दाइ भाउजू र हजुरआमा हराएको सूचना प्रहरी थानामा दिए । त्यसपछि प्रहरीको तालिमप्राप्त कुकुरहरू ‘डग स्क्वाड’ले पाँचैजना मृतकको जलेको शव पोखरीबाट बरामद गरेको थियो ।

यसै बीच ठूलो संख्यामा सरकारी अधिकारीहरूको टोली र प्रहरीहरूलाई देखेपछि टोलका अन्य मानिसहरूका साथमा मृतकका आफन्तजन पनि त्यहाँबाट भागे । बाबु लालका भाइ अर्जुन उरांव भन्छन्, ‘हाम्रो घरका पशुहरू यतै छन् तिनैलाई हेर्न आज मङ्गलवार यहाँ आएका हौँ । सोमबार प्रहरीलाई देखेपछि हामी पनि डराएर भागेका थियौँ। पत्नी र बच्चाहरूलाई अन्यत्रै पठाइएको छ । यहाँ अहिले पनि डर लागिरहेको छ ।’

‘बिरामी भएमा झारफुक गर्न ओझाकहाँ लान्छन्’
करिब ६० घर भएको यस टोलमा उरांव जनजातिका मानिस बस्छन् । यीमध्ये ज्यादाजसो अशिक्षित छन् । यहाँका मानिसहरू आफ्नो दैनिक जीवन मजदुरी र खेतीबाट चलाउँछन् । टोलमा एक दुई मात्र पक्की घर छन् ।

पूर्णिया सहरदेखि १२ किलोमिटर दूरीमा यो टोल छ तर अहिले पनि यहाँका मानिस बिरामी भए भने सबभन्दा पहिले स्थानीय भाषामा ओझा भनिने झारफुक गर्ने मान्छेकहाँ जान्छन् । जबकि टोलदेखि करिब साढे दुई किलोमिटर टाढा पतरा भन्ने ठाउँमा एक प्राथमिक स्वास्थ्य केन्द्र छ । पूर्णियामा त सरकारी अस्पताल कै सेवा उपलब्ध छ । बिरामी भएमा के गर्छन्? यो प्रश्नमा कातो देवीकी बुहारी रिंकी देवी भन्छिन्, ‘सबभन्दा पहिले ओझाकहाँ लान्छन्, रोग बिग्रिसकेपछि अस्पताल लैजान्छन् ।’ यो मामिलामा गिरफ्तार गरिएका मुख्य अभियुक्त भनिएकामध्ये एक नकुल उरांव टेटगामा टोलमै बस्छन् । उनी माटो खन्ने र इँटा भट्टामा माटो पु¥याउने काम गर्छन् । घटनापछि उनको घरमा पनि ताला लागेको छ ।

आर्थिक रूपमा सम्पन्न नकुल ओझाको काम पनि गर्छन् । नकुलसँग परिचित र आदिवासी अभियानकर्मी विजय उरांव भन्छन्, ‘नकुलले ओझाको काम गर्थे । केही दिन पहिला टोलमा रामदेव उरांवको बच्चा बिरामी हुँदा उनैले झारफुक गरेका थिए, तर बच्चाको मृत्यु भयो । त्यसपछि दोस्रो बच्चा पनि बिरामी परेपछि उनले बाबु लालको परिवारलाई ‘बोक्सी’ घोषित गर्दिए । ओझाको काम उनी पैसा कमाउन नभएर टोलमा प्रभाव जमाउनका लागि गर्ने गर्थे ।’

यो घटनापछि पूर्णिया पुलिसको तर्फबाट जारी वक्तव्यका अनुसार, ‘घटना भएका दिन पिडितहरूलाई कुटपिट गरियो र उनीहरूलाई जलाएर मारिएपछि, उनीहरूको शवलाई ट्र्याक्टरमा हालेर गाउँदेखि तीन किलोमिटर पर रहेको पोखरीमा फालियो। यो मामिलामा दुईवटा मोबाइल, घटनामा प्रयोग गरिएको एक ट्र्याक्टर, घटनास्थलबाट एउटा ग्यालन र पाँचवटा बोरा बरामद गरिएको छ । यो मामिलामा टोलका नकुल उरांव, छोटू उरांव र ट्र्याक्टरका मालिक सनाउललाई गिरफ्तार गरिएको छ । र गम्भीर अपराधको छानबिनका लागि एसआइटि भनिने विशेष अनुसन्धान टोली पनि गठन गरिएको छ ।’

पूरै टोल फरार, आफन्त त्रासमा
गत सोमबार त्यहाँ प्रहरी आएयता पूरै टोल खाली छ । केही घरका ढोकामा ताला लागेको छन्। तर ज्यादाजसो घरमा मानिसहरू ढोका खुलै छोडेर भागेका छन्। आफूले पालेका जनावरलाई पनि कैयौँले साथै लिएर गएका छन् । अहिले त केवल पीडित परिवारका आफन्तका जनावर मात्र टोलमा देखिन्छन्। पीडित परिवारका आफन्तबाहेक गाउँमा अरू दुई वृद्धाहरू छन् । यिनीहरू कुरा गर्न हिचकिचाउँछन् । यिनलाई यिनका घरका सदस्यले एक्लै छोडेर गएका हुन् ।

तिनैमध्येकी एक रीना देवी भन्छिन्, ‘हामीलाई घटनाबारे केही थाहा छैन । हामी बूढाबूढी मान्छे खाना खाएर सुतेका थियौँ ।’ तर पूरै टोलवासी कहाँ गए भन्ने यो प्रश्न सुनेपछि सुस्केरा हाल्दै उनले भनिन्, ‘मेरी बुहारी पनि गइन् । अरू हामीलाई केही थाहा छैन ।’

यो घटनापछि पीडित परिवारका आफन्त पनि त्रासमा छन्। टोलमा सुरक्षाको नाममा प्रहरीको एउटा गाडी र दुई प्रहरी देखिए । बाबु लाल उरांवका भाइ खूब लाल उरांव भन्छन्, ‘दिउँसो त यता मिडियाका मान्छेहरू आउने जाने गरिरहन्छन् तर रात परेपछि डर लाग्छ । अब पूरै गाउँसँग हाम्रो दुस्मनी भएको छ । उनीहरूले हामीलाई घटनाको साक्षी बनेर बयान दियौ भने मारिदिन्छौँ भनेका छन् ।’

यो टोलबाट बाहिर निस्कने बित्तिकै मानिसहरू यो घटनाबारे बोल्न चाहँदैनन् । रानीगञ्ज पञ्चायतका साँघुरो सडकमा वृद्धवृद्धा र बच्चाहरू मात्र देखिन्छन् र तिनीहरू क्यामेरा देख्ने बित्तिकै लुक्ने प्रयास गर्छन् । घटनापछि बाबु लाल उरांवका जीवित बचेका छोराको सुरक्षाको विषय पनि निकै महत्वपूर्ण हुन गएको छ ।

पूर्णियाका जिल्लाधिकारी अंशुल कुमारले यस बारेमा मिडिया समक्ष भनेका छन्, ‘घटनाबारे सूचना पाएपछि सोमवार हामीले शवहरू निकालेर मेडिकल बोर्डको अगाडि भिडिओग्राफी गराएर पोस्टमार्टम गराएका छौँ। र, मृतकका आफन्तको अगाडि दाह संस्कार गरिएको छ । तीनजनालाई गिरफ्तार गरिएको छ । बाँकी सबै अभियुक्तहरूलाई गिरफ्तार गर्न छापा मार्ने कार्य भइरहेको छ । यो मामिलामा टोलका मान्छे नै संलग्न थिए र सबै फरार छन्। पीडित परिवारका नाबालिग छोरालाई अहिले प्रशासनिक सुरक्षामा राखिएको छ ।’

‘बोक्सी’ भनेर यस्तो किन गरियो
के यो परिवारलाई पहिले पनि यसै गरी ’बोक्सी’ भनेर दुःख दिइन्थ्यो ? यसको कुनै पक्का जबाफ प्राप्त हुँदैन । तर बीबीसीसँग कुराकानीका क्रममा कातो देवीकी बुहारी रिंकी देवी र छोरा अर्जुन उरांव भन्छन्, ‘करिब दश वर्ष पहिला त्यस्तो भएको थियो । हामी भन्थ्यौँ कि कुनै त्यस्तो कुरा भए ओझासँग जाँच गराउनू । ओझाले जाँचे तर केही निस्किएन । अब दश वर्षपछि फेरि टोलवासी बोक्सी भएको कुरा गर्न थाले। हामीलाई त केही थाहा छैन ।’

यहाँ उठेको अर्को महत्वपूर्ण प्रश्न के हो भने बोक्सी कुप्रथामा आम रूपमा केवल महिलालाई मात्र क्षति पुर्याइने गरेको पाइन्छ तर यो मामिलामा त परिवारका धेरैजसो मानिसको हत्या गरियो । के कुनै किसिमको विवाद थियो? यो प्रश्नमा बाबु लाल उरांवका दाइ अर्जुन उरांव भन्छन्, ‘हाम्रो कुनै विवाद थिएन। किन यस्तो योजना बनाए हामीलाई थाहा छैन ।’

बोक्सी कुप्रथाका विषयमा काम गर्ने सन्तोष शर्मा भन्छिन्, ‘यो हामी सबै स्थलगत रूपमा काम गर्ने मानिसहरुका लागि पनि महत्त्वपूर्ण प्रश्न हो की पूरै परिवारलाई नै किन निशाना बनाइयो भन्ने । बोक्सी कुप्रथाका घटनाहरूमा कैयौँ सामाजिक–आर्थिक या सम्पत्तिको कारण रहेको हुन्छ । तर यो मामिलामा अहिलेसम्म कुनै ठोस कारण अगाडि आएको छैन। र पूरै परिवारलाई जलाइएको जुन घटना भएको छ त्यो हामीले बुझ्न सकेका छैनौँ ।’ पिंकी रानी हंसदा पूर्णियामा एससी÷एसटी कर्मचारी सङ्घकी संयुक्त सचिव हुन् । उनी भन्छिन्, ‘अशिक्षाका कारण आदिवासीहरू बिरामी परेका बेला ओझाकहाँ जाने गर्छन् । शिक्षाले नै उनीहरूलाई सही बाटोमा ल्याउन सक्छ ।’

भारतमा बोक्सी कुप्रथा
भारतका कैयौँ राज्यमा महिलालाई ‘बोक्सी’ को आरोप लगाएर उनीहरूमाथि अमानवीय व्यवहार गरिन्छ। महिलालाई जिउँदै जलाउने, दिसा खुवाउने, कपाल खौरिदिने तथा निर्वस्त्र पारेर गाउँ घुमाउने जस्ता भयकारी घटना सार्वजनिक हुँदै आएका छन् । झारखण्ड, आसाम, राजस्थान, ओडिशा, छत्तीसगढ, बिहारसहित कैयौँ राज्यमा यो कुप्रथा प्रचलित छ । बिहार भारतको पहिलो राज्य हो जहाँ सन् १९९९ मा बोक्सी कुप्रथाबारे कानुन बनेको थियो ।

सन् २०२३ मा ‘निरन्तर’ नामको संस्थाले बिहारस्थित १० जिल्लाका ११८ वटा गाउँमा त्यस्तो दुव्र्यवहारमा परेका १४५ जना महिलाहरूको माझमा एक सर्वेक्षण गरेको थियो। यसमा ९७ प्रतिशत महिला भारतमा ’पिछडिएको’, ‘अति पिछडिएको’ र ‘दलित’ भनेर वर्गीकृत समुदायका थिए ।

बिहारमा महिलाहरूका माझमा काम गर्ने एक सङ्गठन ‘बिहार महिला समाज’ ले यो घटना सार्वजनिक भएपछि आफूहरूले एउटा जाँच दल पूर्णिया पठाउने र यस घटनाको विरोधमा सम्पूर्ण बिहारमा आन्दोलन गर्ने जनाएको छ । ‘न्याश्नल क्राइम रेकोर्ड ब्यूरो’ को रिपोर्ट अनुसार सन् २०२२ मा भारतभरि ८५ जनाको हत्या बोक्सी कुप्रथाका कारण भएको थियो ।

झारखण्डमा बोक्सी कुप्रथाविरुद्ध काम गरिरहेको संस्था ’एसोसिएशन फर सोसल एन्ड ह्यूमन अवेरनेस’ का संस्थापक अजयकुमार जयसवाल भन्छन्, ‘गत २६ वर्षमा झारखण्डमा १,८०० महिलालाई मारिएको छ जसमा ९० प्रतिशत आदिवासी थिए । बोक्सी कुप्रथासँग सम्बद्ध धेरैजसो घटनामा प्रहरीले एक दुई जनालाई पक्राउ गर्छ। र, ठूलो समूह बच्ने गर्छ । यस मामिलामा कानुन त्यसबेला मात्र प्रभावकारी हुन सक्छ जुन बेला घटनाका उत्तरदायी सबै मानिसले सजाय पाउँछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->