बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अब युक्रेनलाई नेटोमार्फत ‘अमेरिकी अस्त्र’

अब युक्रेनलाई नेटोमार्फत ‘अमेरिकी अस्त्र’

ट्रम्पका अनुसार युरोपेली राष्ट्रहरूले किएभलाई आफूसँग भएका ‘प्याट्रिअट’ क्षेप्यास्त्रहरू पठाउने छन् भने अमेरिकाले तिनको सट्टाभर्ना गरिदिने छ ।


  • लाउरा गोजी/बीबीसी
  • असार ३१ २०८२, मंगलबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो राष्ट्रहरूमार्फत् युक्रेनलाई ‘उत्तम श्रेणीका अस्त्रहरू’ उपलब्ध गराइने घोषणा गर्दै युक्रेनमा युद्ध अन्त्य गर्ने सहमति ५० दिनभित्र नगरे रुसमाथि दबाव पुग्ने गरी उसका साझेदार राष्ट्रहरूमाथि कडा अतिरिक्त शुल्क, ‘ट्यारिफ’ लगाउने चेतावनी दिएका छन् ।

‘हामी युक्रेनले आफूले चाहेको कुरा गर्न पाओस् भन्ने सुनिश्चित गर्न चाहन्छौँ,’ नेटो प्रमुख मार्क रूटसँग वाशिङ्टन डीसीमा भेटेपछि ट्रम्पले भने । युक्रेनलाई ‘जे आवश्यक छ त्यो ठूलो मात्रामा नेटोमार्फत् उपलब्ध गराउने’ निर्णय अमेरिकाले गरेको रूटले पुष्टि गरेका छन् । उनका अनुसार त्यसको आर्थिक भार युरोपेली राष्ट्रहरूले वहन गर्ने छन् ।

ट्रम्पका अनुसार युरोपेली राष्ट्रहरूले किएभलाई आफूसँग भएका ‘प्याट्रिअट’ क्षेप्यास्त्रहरू पठाउने छन् भने अमेरिकाले तिनको सट्टाभर्ना गरिदिने छ । अहिले युक्रेन रुसले गर्दै आएका घातक हवाई हमलाबाट जोगिन ‘प्याट्रिअट’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा निर्भर छ ।

रूटका अनुसार नेटो र अमेरिकाले युक्रेनका पक्षमा गरिएको सहमतिमा ‘क्षेप्यास्त्र र गोलाबारुद’ पनि समाविष्ट छन् । उनी र ट्रम्प दुवैले अस्त्रहरूका विषयमा विस्तृत जानकारी दिएनन् । यद्यपि ट्रम्पले अर्बौँ डलर पर्ने ‘उत्तम श्रेणीका अस्त्रहरू’ युक्रेनलाई सघाउन ‘चाँडै रणभूमिमा’ पठाइने बताए । ‘यदि म भ्लादिमिर पुटिन थिएँ भने…आज म युक्रेनबारे वार्ता गर्ने विषयलाई गम्भीरतापूर्वक नलिने कुरामा पुनर्विचार गर्थेँ,’ रूटले भने । त्यसमा ट्रम्पले सहमति व्यक्त गर्दै टाउको हल्लाए ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै ट्रम्प र रूटको भेटवार्तापछि आफूले ट्रम्पसँग फोनमा कुरा गरेको र उनलाई ‘युक्रेनलाई सहयोग गर्न तथा मानिसहरू मारिने क्रम रोक्न अनि दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना गर्न मिलेर काम गरिराख्न उनको रुचिका लागि’ धन्यवाद ज्ञापन गरेको लेखेका छन् । ‘हामीले मानिसहरूलाई रुसी हमलाबाट जोगाउने अनि हाम्रो अवस्थालाई बलियो बनाउने आवश्यक उपाय र समाधानबारे छलफल ग¥यौँ । शान्ति हासिल गर्न हामी यथासम्भव प्रयास गर्न तयार छौँ,’ उनले भने ।

रुस र उसका साझेदार देशहरूमाथि आर्थिक दबाव
युद्ध अन्त्य हुने गरी युक्रेनसँग शान्ति सहमति गराउनका लागि ट्रम्पले रुसमाथि आर्थिक दबाव बढाउने संकेत गरे । उनले यदि रुसले ५० दिनभित्र त्यस्तो सहमति गरेन भने अमेरिकाले रुसका बाँकी व्यापारिक साझेदारहरूमाथि १०० प्रतिशत ‘सेकन्डरी ट्यारिफ’ लगाउने बताए । त्यसको अर्थ रुससँग व्यापार गर्ने देशले अमेरिकालाई आफ्ना सामान बेच्न खोज्यो भने अतिरिक्त कर तिर्नुपर्ने छ ।

उदाहरणका लागि, यदि भारतले रुससँग पेट्रोलिअम पदार्थ किन्ने क्रमलाई निरन्तरता दियो भने भारतमा उत्पादित सामान किन्ने अमेरिकी कम्पनीहरूले १०० प्रतिशत आयातकर वा ट्यारिफ तिर्नुपर्छ । फलस्वरूप अमेरिकामा ती सामानहरूको मूल्य निकै बढ्ने छ अनि अमेरिकी कम्पनीहरू अन्य स्थानबाट सस्तो सामान किन्ने विकल्प खोज्न बाध्य हुने छन् । त्यसो हुँदा भारतले आफूले पाउँदै आएको फाइदा गुमाउने छ ।

यो रणनीतिको उद्देश्य रुसी अर्थतन्त्रलाई कमजोर बनाउनु पनि हो । सिद्धान्ततः अरू देशलाई तेल बेचेर रुसले पैसा कमाउन सकेन भने उससँग युक्रेनविरुद्ध लडाइँ गर्न आर्थिक स्रोत हुँदैन । रुसको राजस्वको झन्डै एकतिहाइ भाग तेल र ग्यासको बिक्रीबाट आउँछ । एक सय प्रतिशत ट्यारिफले रुसको अर्थतन्त्रलाई गम्भीर चोट पु¥याउन सक्छ ।

सोमवारको घोषणापछि ‘मस्को स्टक एक्स्चेन्ज इन्डेक्स’ निकै बढ्यो । गत साता ट्रम्पले रुसका विषयमा ‘ठूलो घोषणा’ हुने बताएपछि लगानीकर्ताहरूले निकै गम्भीर खालको निर्णय आउन सक्ने ठानेका थिए । ट्यारिफ र युक्रेनलाई नेटोले अस्त्र उपलब्ध गराउने सहमतिबारे विस्तृत जानकारी दिइएको छैन । तर ह्वाइट हाउसमा पुनरागमन गरेका ट्रम्पले पहिलो पटक युक्रेनलाई नयाँ सैन्य साधन दिने वाचा गरेका हुन् ।

पुटिन
पहिला ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व सजिलै समाधान गर्न सकिने बताएका थिए । तर त्यस दिशामा प्रगति नभएको देखेर उनी अहिले असन्तुष्ट देखिएका छन् । पुटिनसँगको सम्बन्धमा सोधिएको प्रश्नमा ट्रम्पले आफूहरूबीच ‘यसलाई समाधान गर्नुपर्छ भन्ने विषयमा धेरै कुराकानी हुने’ बताए । तर रुसी राष्ट्रपतिसँग ‘ती मीठा फोनवार्ताहरू’पछि प्रायजसो युक्रेनमा डरलाग्दा हवाई हमलाहरू हुने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘तीन–चार पटक त्यसो भएपछि तपाईँलाई लाग्छ – वार्ता गर्नुको कुनै अर्थ छैन,’ उनले भने । ‘म उनलाई हत्यारा नै त भनिहाल्दिनँ तर उनी निकै अटेरी व्यक्ति हुन् । उनले धेरै जनालाई – क्लिन्टन, बुश, ओबामा, बाइडनलाई मूर्ख बनाइदिए, यो कुरा वर्षौँदेखि प्रमाणित भएको छ,’ उनले भने । ‘उनले मलाई मूर्ख बनाउन सकेनन् । एउटा बिन्दुमा वार्ताले हुँदैन, कामकारबाही नै भएको हुनुपर्छ ।’

यो वर्ष रुस र युक्रेनबीच युद्धविरामका लागि दुई पटक वार्ता भयो । तर पुनः वार्ता गर्ने मिति तोकिएको छैन । मस्कोले त्यसका लागि किएभलाई दोष लगाउने गरेको छ ।

मस्कोमा राहत महसुस
क्रेम्लिनले ट्रम्पको घोषणाबारे तत्काल प्रतिक्रिया दिइसकेको छैन । तर ‘गम्भीर र घातक रणनीति’ नआएको भन्दै मस्कोमा केही राहत महसुस गरिएको देखिएको छ । क्रेम्लिनका पक्षमा उभिने गरेका विश्लेषक तथा पुटिनका भूतपूर्व सहयोगी सर्गेइ मार्कोफले ट्यारिफ घोषणालाई ‘हावादारी’ भन्दै त्यो ‘युक्रेनमा शान्ति स्थापना गर्ने प्रयास ट्रम्पले परित्याग गरेको’ संकेत भएको टिप्पणी गरे ।

‘यदि आज ट्रम्पले युक्रेनका बारेमा यति मात्रै भन्नु थियो भने अहिलेसम्म निरुद्देश्य समय खेर फालिएको रहेछ,’ सिनेटर कोन्स्टान्टिन कोसाचेफले भने । पचास दिनमा ‘रणभूमिमा तथा अमेरिका र नेटोमा शक्तिमा हुनेहरूको मनस्थितिमा’ निकै परिवर्तन हुन सक्ने उनको तर्क छ । तर ट्रम्पको निर्णयको अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेता तथा उनका अन्य आलोचकहरूले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->