पोखरा/ पोखरा विश्वविद्यालय विहीबारदेखि २९ औं वर्षमा प्रवेश गरेको छ। २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार स्थापना भएको विश्वविद्यालयले २९ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण तथा दीर्घसेवा पदक सम्मान कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक, सम्मानपत्र र दोसल्लाले सम्मान गरियो। सम्मानित व्यक्तित्वहरूमा रजिष्टार सह–प्राडा अजय थापा, सह–प्रशासक गोबर्धन भट्टराई, उप–प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू बिमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगीहरू दुर्गा रेग्मी र जोगीराम नेपाली छन् । कार्यक्रमको उद्घाटन गर्दै उपकुलपति प्रा.डा. वेदराज केसीले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताए । उनले विश्वविद्यालयको हालको उचार्इमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीहरूप्रति आभार प्रकट गर्दै, २५ औं विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रमहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशनअनुसार कार्य गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रजिष्टार थापाले विश्वविद्यालयसँगै आफू हुर्किएको र २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताए । सुरुमा स्नातकोत्तर तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा ८–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ वटा कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उनले यो सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई जाने धारणा राखे ।
पूर्व रजिष्टार प्राडा दीपकबहादुर भण्डारीले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान रहेको स्मरण गर्दै, अबको प्राथमिकता कलेज विस्तार गरी देशका विभिन्न भागमा उच्च शिक्षाको पहुँच पुर्याउनु पर्नेमा जोड दिए । व्यवस्थापन संकायका डीन सह–प्राडा दयाराज ढकालले विश्वविद्यालयप्रति अगाध माया रहेको बताए । प्राध्यापक संघका सभापति सह–प्राडा निरञ्जन श्रेष्ठले पूर्वपदाधिकारीहरूको सामाजिक योगदानको कदर गर्दै, सेवा आयोगको वार्षिक कार्यतालिका तयार पार्नुपर्ने, प्राध्यापकहरूको आत्मसम्मानको रक्षा गर्नुपर्ने तथा शिक्षक, कर्मचारीहरुमा देखिने असन्तुष्टिहरूको समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्कूल अफ बिजनेसका निर्देशक सह–प्राडा श्रृजन ज्ञवाली, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्राडा पूर्णबहादुर खाँडले विश्वविद्यालयको गुणस्तर उच्च रहेको र यसको प्रभावकारी उपस्थिति देशभर फैलिएको बताए । कर्मचारी संघकी कार्यवाहक अध्यक्ष बन्दना गोदार थापाले कर्मचारीको वृति विकास, सरुवा, बढुवा र पदोन्नति प्रक्रियामा स्पष्टता ल्याउनुपर्ने तथा विश्वविद्यालयले तालिम र अनुसन्धानमा समेत ध्यान दिनुपर्ने बताइन् । दीर्घसेवा पदकबाट सम्मानित कर्मचारी पुरूषोत्तम रानाभाटले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने र सम्पूर्ण शिक्षक तथा कर्मचारीको सेवा–सुविधामा समान व्यवहार हुनुपर्ने धारणा व्यक्त गर्दै विश्वविद्यालयलाई अगाडि बढाउन कर्मचारीहरूलाई जिम्मेवारीसाथ संलग्न गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य सह–प्रशासक तेजनारायण पराजुली र सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।





