पर्वत/नयाँ शैक्षिक सत्रमा नयाँ कक्षामा विद्यार्थी भर्ना गर्नको लागि विद्यालयहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अर्कोभन्दा आफ्नो विद्यालय विभिन्न कारणले अब्बल रहेको उदाहरण दिँदै विद्यालयहरूले आफ्ना प्रचार शैली अपनाएर विद्यार्थीहरूलाई भर्नाको लागि आह्वान गर्ने पुरानै परिपाटि हो ।
तर पर्वत सदरमुकाम कुश्मा बजारमा रहेर कक्षा ११ र १२ सञ्चालन गर्दै आइरहेका तीन वटा विद्यालयहरू शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय माध्यमिक विद्यालय र नारायण माध्यमिक विद्यालयले भने नयाँ शैक्षिक सत्रका लागि स्वस्थ आह्वान गरेका छन् । तीन वटै विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त रूपमा विद्यार्थी तथा अभिभावकहरूको लागि आह्वान जारी गर्दै आफ्नो रोजाइका विषयहरू अध्ययनका लागि बाहिर नगई स्थानीय स्तरमा नै अध्ययनका लागि अनुरोध गरेका छन् ।
शिवालय मा.वि.का प्रधानाध्यापक भूपेन्द्र चापागाईँ, नमुना मा.वि.का प्रधानाध्यापक इन्द्रमान खत्री र नारायण मा.वि.का प्रधानाध्यापक प्रकाश रिजालद्धारा संयुक्त रूपमा हस्ताक्षरित आह्वानमा टाढाका सहरहरूमा अध्ययन गर्न जाने प्रचलनका विषयमा सोच बदल्न आवश्यक रहेको उल्लेख छ । केही वर्ष अगाडिसम्म कक्षा १० पास गरेपछि कक्षा ११ र १२ को अध्ययनको लागि ठुला सहरहरूमा जानुपर्ने बाध्यता रहेको भए पनि अहिले कुश्मामा नै दक्ष जनशक्ति तथा भौतिक स्रोत, साधन र पूर्वाधार सम्पन्न विद्यालय र कलेजहरू सञ्चालनमा रहेको प्रधानाध्यापकहरूले बताएका छन् ।
प्लस टु अध्ययनका लागि विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी समूहतर्फका विद्यार्थीको रोजाई अनुसारका विषयहरू दक्ष, अनुभवी प्राध्यापक तथा शिक्षकहरूबाट कुश्मामा नै अध्यापन भइरहेको र आफूहरूले गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् । कुश्मामा अध्ययन गर्ने अवसर हुँदाहुँदै विद्यार्थीहरूको रहरलाई मात्रै प्राथमिकतामा राखेर टाढाका सहरहरूमा पठाउने प्रचलनका विषयमा सोच बदल्न आवश्यक छ भन्ने कुरा मनन गर्नु सबैको दायित्व भएको संयुक्त आह्वानमा उल्लेख छ ।
असल र व्यवस्थित शिक्षाका लागि गर्नुपर्ने कामका लागि तीन वटै विद्यालयहरू तयार रहेको र अब विद्यार्थी र अभिभावकहरूले पनि भूमण्डलीकरण अनुसार सोच्नुपर्ने तर स्थानीयता भने कायम राख्न सुझाव राखिएको छ । जुन ठाउँमा बसोबास गरिएको छ त्यहाँको सर्वोपरि हित त्यहीँका बासिन्दाले गर्नुपर्ने भएकोले कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन सबैको विकास र उन्नतिमा सबैको साथ हुनुपर्ने आह्वानमा उल्लेख छ ।
त्यसका लागि कुश्मामा रहेका यी तीन वटा विद्यालयहरूमध्ये जुनमा भए पनि कुनै एकमा समयमै कक्षा ११ र १२ मा भर्ना भई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर र अधिकारको सुनिश्चितताका साथ आवश्यक भूमिका निर्वाह गर्न सरोकारवाला सबैमा विद्यालयहरूले अनुरोध गरेका छन् । स्थानीय विद्यालय तथा क्याम्पसहरूबाट लिन सकिने सबै किसिमका सेवा सुविधालाई मनन गर्दै आफ्ना बाबुनानीहरुलाई कुश्माकै विद्यालयमा अध्ययन गर्न प्रेरित गर्न उनीहरूले अभिभावकहरूलाई अनुरोध गरेका छन् ।
यसका लागि जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई, सबै स्थानीय तहहरू तथा शैक्षिक सरोकारवालाहरूले गुणस्तरीय शैक्षिक आकर्षणका गतिविधिहरू, बालमैत्री कार्यक्रमहरू, अन्तरक्रिया, खेलकुद, मनोरञ्जन सहितका शैक्षिक विकासका कार्यमा आवश्यक पहल गर्न पनि विद्यालयहरूले आह्वान गरेका छन् ।





