बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कहाँ जान्छन् आधा गर्भवती ?

कहाँ जान्छन् आधा गर्भवती ?

गण्डकी प्रदेशमा वार्षिक रुपमा ३५ हजार हाराहारी गर्भवतीको संख्या रहे पनि त्यसको झन्डै आधामात्रै सुत्केरी हुने गरेका छन् । बाँकी गर्भवतीले गर्भपतन गराएको आशंका गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८२, बिहिबार

पोखरा/उदाहरण १– पहिलो सन्तान छोरी जन्मिएको ५ वर्षपछि उनी गर्भवती भइन् । परिवारजनमा छोराको चाहना थियो । स्याङजा घर भएकी उनी पोखराको एक निजी अस्पताल आएर गर्भ जचाईन् । लिंग पहिचान गरिन् । भिडियो एक्सरेमा छोरी नै रहेको भेटिएपछि उनले गर्भपतन गराइन् ।
उदाहरण २– लगातार २ छोरी जन्माइसकेकी एक महिलाले पनि छोराको चाहनामा २ पटकसम्म गर्भपतन गराइन । पोखरामै सानोतिनो व्यापार गर्ने उनलाई छोराको चाहना मरेको छैन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले स्वास्थ्य सम्बन्धी प्राय कार्यक्रममा एउटै कुरा दोहो¥याईरहन्छन, ‘प्रदेशमा वर्षेनी ३५ हजार हाराहारी गर्भवती हुन्छन् । तर सुत्केरी भने त्यसको आधाआधीमात्रै । अरु गर्भवती कता जान्छन् खोजी गर्नुप¥यो ।’
उनको यो भनाईको आशय पनि सुत्केरी संख्याको गणनासम्म आइनपुग्नु भनेको गर्भपतन गर्नु हो । ‘केही गर्भवती घरमै सुत्केरी भएर तथ्यांकमा समावेश नहुन पनि सक्छन्’, खड्का भन्छन्, ‘तर यति ठूलो गर्भवतीको संख्या सुत्केरी अवस्थासम्म आइनपुग्ने कारणबारे अनुसन्धान आवस्यक छ ।’

खड्काले खोजी गर्नुपर्ने भनेका गर्भवतीमा माथिकै दुई उदाहरण पनि पर्न जान्छन् । जो सुरुमा गर्भवतीको संख्यामा अद्यावधिक भए तर, सुत्केरीसम्ममा आइपुगेनन् । यसले सहजै बुझ्न सकिन्छ, लिंग पहिचान गरी भ्रुणहत्या गर्ने चलनका कारण गर्भवती ‘हराउने’ गरेका छन् । यस्तो अवस्थाले छोराछोरीमा भेदभाव भएकै छ, महिलाको स्वास्थ्यमा पनि गम्भिर जोखिमको संभावना बढी रहन्छ । गर्भपतन परिवार नियोजनको साधन बनाइएको छ । हाडनाता, बलात्कार, आमा र शिशुलाई गम्भिर असर पु¥याउने बेलामात्र यस्तो सुविधा र अधिकार दिइएको हो । तर सुरक्षित गर्भपतनको अधिकार दुरुपयोग भएको छ । यसको प्रभावकारी अनुगमन हुन सकेको छैन । महानिर्देशक खड्काले यसै प्रसंगमा अर्को कुरा पनि भन्दै आएका छन, ‘परिवार नियोजन अधिकृतको सट्टामा अव गर्भपतन अधिकृत भनौं ।’ गर्भपतनलाई नै परिवार नियोजनको अस्थायी साधन बनाएको उनको भनाई छ ।

प्रदेशका विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका स्वास्थ्य संस्था सूचिकृत गर्भपतन केन्द्र छन् । साथै प्राय सबै औषधी पसलमा पाइने औषधी सेवन गरेर पतन गराउने पनि उल्लेख्य छन् । निर्देशनालयका एक कर्मचारीका अनुसार केही स्वास्थ्यकर्मीले लिंग पहिचानलाई पैसा कमाउने राम्रै धन्दा बनाएका छन् । पोखराका दुई क्लिनिकले त कोरोना कालमा सबै क्षेत्र बन्द हुँदासमेत संयौ गर्भवतीको भिडियो एक्सरे गरेको विवरण स्वास्थ्य निर्देशनालये पाएको थियो । त्यसमा लिंग पहिचान भएको हुनसक्ने निर्देशनालयको आशंका छ । ‘प्राइभेट स्वास्थ्य संस्थामा सरकारको अनुगमन नपुग्दा बढी गर्भपतन हुने गरेका छन्’, एक कर्मचारीले भने ।

गण्डकी प्रदेश सरकारले केही समय अघिमात्रै प्रदेशका ८५ मध्ये ७३ स्थानीय तहमा छोरा र छोरीको संख्याको तथ्यांक संकलन गरेको थियो । सम्बन्धित पालिकाको वडाबाट संकलित विवरण अनुसार ५ वर्षमुनिको जनसंख्याम ४५ हजार छोरा र ३९ हजार मात्रै छोरीको संख्या छ । ‘यसको सारभूत कुरा के हो भने छोरी भन्दा छोरा बढी जन्मिन्छन्’, खड्काले भने, ‘यो अन्तर किन आयो भन्ने तर्फ पनि अध्ययन हुने हो भने गर्भपतनसंगै गएर जोडिन्छ ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी प्रसुति तथा स्त्री रोग विभागकी प्रमुख कन्सल्टेन्ट डा. डेला सिंहले गर्भवती हराउनुमा गर्भपतन एउटा कारण रहे पनि यहीमात्र भन्न नमिल्ने बताउँछिन् । उनका अनुसार कतिपय घरमै सुत्केरी हुन्छन्, कोही प्राइभेट स्वास्थ्य संस्थामा गएर सरकारको तथ्यांकमा नआएको पनि हुनसक्ने र कोही प्रदेशबाहिर गएर पनि सुत्केरी हुन्छन् । अवैध गर्भपतन गर्ने पनि रहेको भन्दै उनले यसकालागि व्यापक जनचेतनाको आवस्यक रहेको बताइन् । ‘गर्भपतन लुकीछिपी गर्ने भएकाले सही तथ्यांक कसरी आउला र’, डा. सिंहले भनिन, ‘हाम्रै अस्पतालमा पनि गर्भपतन गर्न आउछन् । तर कसैले झुक्काएमात्र हो, नभए अवैध गर्भपतन हामी गराउँदैनौ ।’

जथाभावी गरिने गर्भपतनले प्रजनन् स्वास्थ्यमा पार्ने गम्भिर असरबारे चेतना जगाउन र प्राकृतिक नियोजन, स्थायी र अस्थायी नियोजनलाई प्रभावकारी रुपमा प्रचार गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

सरकारी तथ्यांकमा १२ हप्तासम्ममको गर्भपतन गराएकाको मात्रै रेकर्ड हुन्छ । अवैध र जथाभावी गरिने गर्भपतनको कुनै लेखाजोखा छैन । कहाँ, कसले र कसरी गराउँछ भन्ने पनि थाहा नहुने अवस्था छ । ९ हप्तासम्मको गर्भ औषधी खाएर फाल्ने भएकाले त्यसको संख्या झनै बढी रहेको अनुमान गर्न सकिन्छ । १२ हप्ताको भने औजारबाट फालिन्छ । छोरी जन्मनै नपाउने अवस्थाले भविष्यमा सामाजिक, आर्थिक र लैंगिक हिसावले ठूलो समस्या ल्याउन सक्ने खड्काको भनाई छ ।

प्रदेशमा वार्षिक गर्भवतीको लक्ष्य ४१ हजार दिएको छ केन्द्रले । विभिन्न तथ्यांकका आधारमा यो लक्ष्य दिइएको हो । जनसंख्याको हिसावले र जन्मदर तलमाथि भइरहने हुनाले यो अनुमानित संख्या मात्रै हो ।
केन्द्रको लक्ष्य ४१ हजार रहे पनि प्रदेशमा वर्षेनी ३५ हजार हाराहारीमा गर्भवती हुने गरेका छन् । तर सुत्केरी भने झन्डै आधाजस्तो मात्रै हुने गरेको तथ्यांकले नै देखाउँछ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ३५ हजार ३ सय ३४ गर्भवती पहिलोपटक जचाउँन स्वास्थ्य संस्थामा पुगेका थिए । त्यसमा ३९ सय ६६ जना २० वर्षमुनिका थिए । तीमध्ये १६ हजार ८ सय ३९ जनामात्रै सुत्केरी भए भने १८ हजार ४ सय ९५ जनाको कुनै पत्तो लागेन । गर्भवतीको त्यो संख्यामध्ये २० हजार ३४ जनाले गर्भवती भएपछि ८ औं पटक गर्भ जचाएका थिए ।
यसैगरी आव २०८०/०८१ मा गण्डकीमा ४० हजार ९ सय ८३ गर्भवती भएका थिए । त्यसमा ४४ सय ५५ जना २० वर्षमुनिका थिए । त्यसमध्ये २१ हजार १ सय ६४ जना सुत्केरी भए । १९ हजार ८ सय १९ जनाको पत्ता लागेन । ३३ हजार ९ सय १ जनाले आठौं पटकसम्म गर्भ जचाएका पनि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->