बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भोकमरीले गल्दै गाजाका मानिसहरु

भोकमरीले गल्दै गाजाका मानिसहरु

संयुक्त राष्ट्रसङ्घका अनुसार खानाको अभावका कारण निकै गलेका केही मानिसहरू अस्पताल भर्ना भएका र अरूहरू सडकमै ढलिरहेका छन् ।


  • डेभिड ग्रिटन/बीबीसी
  • साउन ८ २०८२, बिहिबार

एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता सङ्गठन र मानव अधिकारवादी समूहले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको चेतावनी दिँदै यथोचित कारबाही गर्न विभिन्न देशलाई आग्रह गरेका छन् । मेडसाँ साँ फ्रोन्टिएर (एमएसएफ), सेभ द चिल्ड्रन र अक्स्फामसहित विभिन्न समूहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा तिनका सहकर्मीहरू र तिनले सेवा गर्ने व्यक्तिहरू ‘दुर्बल बन्दै’ गएको उल्लेख छ ।

गाजामा बाहिरबाट जाने सामानको प्रवेशमाथि नियन्त्रण गर्दै आएको इजरेलले उक्त दाबी खण्डन गर्दै बरु ती सङ्गठनहरूले ‘हमासको प्रचारबाजीलाई सघाउ पु¥याएको’ आरोप लगाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १० प्यालेस्टिनीहरूको मृत्यु भएको बताएकै बेला सहायता सङ्गठन र मानव अधिकारवादी समूहहरूको विज्ञप्ति आएको हो । यो विवरणसँगै गाजामा आइतबारदेखि मृत्यु हुने मानिसको संख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार खानाको अभावका कारण निकै गलेका केही मानिसहरू अस्पताल भर्ना भएका र अरूहरू सडकमै ढलिरहेका छन् ।

ज्यान बाजीमा राखेर खानेकुरा लिन लाइनमा
‘इजरेली सरकारको घेराबन्दीका कारण गाजाका मानिस भोकभोकै बस्न बाध्य भएकै बेला अहिले सहायताकर्मीहरू पनि खानेकुराका लागि उही लाइनमा बसेका छन् – आफ्ना परिवारजनलाई खानेकुराको जोहो गर्न गोली थाप्नुपर्ने जोखिम मोलेर,’ बुधबार सार्वजनिक विज्ञप्तिमा १०९ वटा संस्थाले भनेका छन् ।

‘सामान अहिले पूरै सकिएको बेला मानवतावादी संस्थाहरू आफ्ना सहकर्मी र साझेदारहरू आँखैअगाडि कमजोर बन्दै गएको देखिरहेका छन् ।’ इजरेलले मार्च महिनाको सुरुमा गाजामा सहायता वितरणमा पूर्ण प्रतिबन्ध लगाएको थियो र त्यसको दुई सातापछि हमासविरुद्ध फेरि सैन्य आक्रमण थालेको थियो । उसले उक्त सशस्त्र समूहलाई बाँकी इजरेली बन्धकहरू मुक्त गर्न दबाव दिन चाहेको बताएको छ ।

झन्डै दुई महिनापछि नाकाबन्दी केही खुकुलो पारिएको भए पनि अन्तर्राष्ट्रिय विज्ञहरूले त्यहाँ अनिकाल फैलिने चेतावनी दिएका छन् । गाजामा खाद्यान्न, औषधि र इन्धनको अभाव झनै बढेको छ । ‘चिकित्सकहरूले विशेष गरी बालबालिका र वृद्धवृद्धामा गम्भीर कुपोषणको दर उच्च रहेको विवरण दिएका छन् । झाडापखालाजस्ता रोगहरू फैलिन थालेका छन्, बजारहरू खाली छन्, फोहोर थुप्रिरहेको छ र वयस्क मानिसहरू भोक र पानीको अभावका कारण सडकमै ढलिरहेका छन्,’ मानवतावादी संस्थाहरूले चेतावनी दिएका छन् ।

‘मनोसामाजिक सहायता प्रदान गर्ने एक सहायताकर्मीले बालबालिकामा परेको दुष्प्रभाव यसरी प्रस्तुत गरे – बच्चाहरू स्वर्गमा खानेकुरा भएकाले आमाबुवालाई आफूलाई स्वर्ग जान मन लागेको छ भन्छन् ।’
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार उसको विश्लेषणमा गाजामा एकचौथाइ मानिसले अनिकालजस्तो अवस्थाको भोग्नुपरेको र झन्डै एक लाख महिला तथा बालबालिका गम्भीर कुपोषणबाट पीडित भएको देखिएको छ । डब्ल्यूएचओले उनीहरूलाई यथाशीघ्र उपचार आवश्यक भएको औँल्याएको छ ।

‘तपाईँलाई थाहै छ, व्यापक भोकमरीको अर्थ जनसङ्ख्याको ठूलो भाग भोकमरीमा पर्नु हो र गाजाको जनसङ्ख्याको ठूलो भाग भोकमरीको चपेटामा परेको छ,’ डब्ल्यूएचओका निर्देशक टेड्रोस एड्ह्यानम गेब्राएससले बुधबार भने । ‘तपाईँ यसलाई व्यापक भोकमरीबाहेक अरू के भन्नुहुन्छ थाहा छैन र यो मानव–निर्मित हो । अनि यो नाकाबन्दीका कारण हो भन्ने एकदमै स्पष्ट छ ।’

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार इजरेली सैन्य क्षेत्रभित्र रहेका र अमेरिकी निजी सुरक्षा ठेकेदारहरूद्वारा सञ्चालित जीएचएफका चारवटा सहायता केन्द्र वरपर ७६६ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका र अन्य सहायता सामग्री बोकेका सवारीसाधननजिकै अन्य २८८ जनाको मृत्यु भएको छ ।

इजरेली सेनाले जीएचएफ क्षेत्रनजिकै परिचालित आफ्ना सैनिकले चेतावनी दिनका लागि मात्रै गोली चलाएको र जानीजानी सर्वसाधारणलाई गोली नहान्ने बताएको छ । संयुक्त राष्ट्रसङ्घले गाजाको स्वास्थ्य मन्त्रालयबाट प्राप्त ‘गलत र भ्रामक’ तथ्याङ्क प्रयोग गरेको आरोप जीएचएफको छ । गाजामा इजरेलले नियन्त्रण कायम गरेको औँल्याउँदै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कानुनअनुसार त्यहाँ आवश्यकताको पर्खाइमा रहेका सबै मानिससम्म मानवीय सहायता पु¥याउने दायित्व इजरेलकै भएको जनाएको छ ।

इजरेलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गर्ने र हमासलाई लाभ नहोस् भन्ने सुनिश्चित गर्दै सहायता प्रवेशमा सहजीकरण गर्ने बताउँदै आएको छ । इजरेलले हालै प्यालेस्टिनीहरूसम्म पुग्ने सामानमा उल्लेखनीय गिरावट आएको स्वीकार गरेको छ । तर उसले त्यका लागि राष्ट्रसङ्घीय निकायहरू जिम्मेवार भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले इजरेली नाकाभित्र गाजाका सवारीचालकहरूले सामान सङ्कलन गरी सैन्य क्षेत्र हुँदै ढुवानी गर्नका लागि इजरेलबाट आवश्यक अनुमति पाउन निकै कठिन भएको बारम्बार बताएको छ । जारी सङ्घर्ष, नराम्ररी बिग्रेका सडक र इन्धनको चरम अभावका कारण समस्या निकै विकराल बनेको छ । सशस्त्र गिरोहहरूले गर्ने लुटपाट मच्चाउँदा पनि सहायताको काम कहिलेकाहीँ बिथोलिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सहायता सामग्री लिन आएका प्यालेस्टिनीहरू मारिने छैनन् भन्ने प्रतिबद्धता इजरेली सेनाबाट लिन आफूले निकै प्रयास गरिरहेको जनाएको छ । अक्टोबर २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भीषण आक्रमण भएपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो । इजरलेमा भएका हमलाहरूमा केही विदेशी नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातिर लगिएको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली कारबाहीमा परेर अहिलेसम्म ५९,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->