स्याङ्जा/वालिङ नगरपालिका–८ मा आफ्नै श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको नमुनाटोल बस्ने ४९ वर्षीय खुमानन्द लामिछानेको हत्याको आरोपमा प्रहरीले मृतकको श्रीमती रञ्जिता लामिछानेलाई पक्राउ गरेको हो ।
२०८० बैशाख २२ गते मृत्यु भएका लामिछानेको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाने क्रममा निजको श्रीमतीको समेत संलग्नता हुन सक्ने देखिएकोले पक्राउ गरको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए ।
श्रीमतीको संलग्नता हुन सक्ने देखिएकाले अदालतबाट पक्राउ पूर्जी जारी भई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले वालिङमोडमा लुकिछिपी रहेको अवस्थामा मृतकको श्रीमती लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ परेकी लामिछानेलाई कर्तव्य ज्यान मुद्धामा सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाएको चौधरीले बताए ।





