बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गरिएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । तिनै तहका सरकारले प्रत्येक गाउँटोल परिवर्तन गर्नेगरी काम गरिरहेको बताउदै थापाले विकसित राष्ट्रसंग नभई विगतसंग समाजलाई तुलना गरेमात्र आफ्नो ठाँउको विकास आफैले देख्न सकिने बताइन् ।
‘आजभन्दा दश वर्ष मात्रै अघिको आफ्नो गाउँ समाज हेर्नुहोस् र अहिलेको समाज आफैले एक पटक हेर्नुहोस शिक्षा, स्वास्थ्य, खानेपानी सडक लगायतका धेरै पुर्वधारमा विभिन्न योजनाबाट काम भएको छ । विकास भएको छ । परिवर्तन भएको छ’ थापाले भनिन् ।
बडिगाड गाउँपालिका २ स्थित गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै उपसभामुख थापाले यस्तो बताएकी हुन् । हरेक नागरिकले शुद्ध र सुरक्षित खानेपानी पाउनु उसको अधिकार भएको बताउँदै थापाले धेरै रोगको सुरुवात फोहर पानीका कारण हुने भन्दै शुद्ध खानेपानीको लागि गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र नेवा लगायत सामाजिक विकासका संस्थाहरुले लगानी गरिरहेको बताइन् ।
४३ घरपरिवारका २ सय ४० जना लाभान्वित भएको आयोजनाको कुल लागत २६ लाख ४२ हजार १ सय १२ रहेको छ । नेवाको १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको ४ लाख ७२ हजार तथा जनश्रमदान ६ लाख ४ हजार लागतमा निर्माण आयोजना सुरु भएको १ वर्षभित्रै योजना सम्पन्न भएको हो ।





