स्याङ्जा/सरकारले विहे गर्ने समयनै तोकेर कानूनी हिसाबले ‘विहेबारी २० पारि’ भनेर भनेको छ । २० वर्षपश्चात विहेबारी गर्दा महिलाको शारीरिक र मानशिक स्वास्थ्य मजबुत हुन्छ । तर, स्याङजामा भने उमेर नपुग्दै विहे गर्ने संख्या अत्याधिक रहेको प्रदेश जनस्वास्थ्य कार्याल स्याङ्जाको तथ्याङकमा देखिएको हो । यहाँ आर्थिक बर्ष २०८१/०८२ मा दुई हजार पाँच सय ५९ जनाले गर्भ जाँच गराएकोमा २ सय १० जना अर्थात् ८.२० प्रतिशत २० वर्षमुनिका रहेका थिए ।
गर्भ जाँच गराएकामध्य ८ सय ८२ जनाले सुरक्षित प्रसूति सेवा लिएकोमा ९ सय २४ जनाले सुरक्षिन गर्भपतन गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंले जानाकारी दिए ।
सुरक्षित प्रसूति सेवा लिनेमध्ये २० वर्षभन्दा कम उमेरका १ सय ९ अर्थात १२.३५ प्रतिशत गरेका छन् भने ४३ जना (४.३५ प्रतिशत) २० वर्ष मुनिकाले गर्भपतन गरेको चापागाईंले बताए । यो तथ्याङ्कमा हेर्दा २० बर्ष नपुग्दै विहे गर्नेको संख्या अत्याधिक रहेको देखिएको चापागाईंको भनाइ छ ।
सुरक्षित प्रसूति सेवा लिनेमा दक्ष प्रसूतिकर्मीबाट ६ सय ९५ जना, दक्ष स्वास्थ्यकर्मीबाट १ सय ६८ जना, अन्य स्वास्थ्यकर्मीबाट १३ जना रहेका छन् भने ५ जनाले घरमै प्रसूति सेवा लिने रहेका छन् ।
यस्तै १२ हप्तामुनिको गर्भपतन गराउनेको संख्या ८ सय ४१ जना रहेको छ । उनीहरुले मेडिकलमा गएर गर्भपतन गराएका हुन् । सर्जिकलबाट ८१ जनाले गर्भपतन गराएका छन् भने २ जनाले शल्यक्रियाबाटै १२ हप्तामाथिको गर्भपतन गराएका छन् ।
यहाँ गर्भ जाँच गराउनेमध्ये ७ सय ५३ जनाले प्रसूति र गर्भपतन कहाँ गरे भन्ने जानकारी प्राप्त भएको छैन । सेवाको हिसाबले पायक पर्ने पाल्पा, गुल्मी र पोखरा जाँदा उनीहरुले गर्भपतन गराएको हुनसक्ने चापागाईंको भनाइ छ ।
गर्भपतन गर्नेहरु पनि चिनेकोभन्दा नचिनेका ठाउँमा पुग्ने गरेको उनको अनुमान छ । जिल्ला अस्पतालसहित पालिकास्तरका ६ वटा अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र गरेर १ सय २१ स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा र गर्भपतन सेवा दिँदै आएका छन् ।





