आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अतिक्रमणमा मध्यपहाडी लोकमार्ग, धमाधम संरचना बन्दै

अतिक्रमणमा मध्यपहाडी लोकमार्ग, धमाधम संरचना बन्दै

लोकमार्ग बन्न ढिला भएसँगै सडक छेउमा जमिन खारेर घडेरी बनाउने काम भएको छ । सडक नै अतिक्रमण गरेर जमिन खार्दा जोखिम बढेको छ


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

बागलुङ/त्यसै त मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ सडक खण्ड वर्षौदेखि अलपत्र छ । ठेकेदारको लापरवाहीले बनिसक्नुपर्ने सडक बनेन् । जसका कारण यात्रीले हैरान खेपेकै छन् । सडक बनिसकेको भए कम्तिमा दायाँबायाँको मापदण्ड पनि लागू हुने थियो । तर, सडक बन्न ढिला भएसँगै सडक छेउमा जमिन खारेर घडेरी बनाउने काम भएको छ । सडक नै अतिक्रमण गरेर जमिन खार्दा जोखिमसमेत बढेको छ ।

काठेखोला गाउँपालिका वडा नंं. ६ को इनारपानीमा स्थानीयले सडक छेउको सेफ्टी वाल समेत भत्कने गरी घडेरी खारेका छन् । डोजर लगाएर घडेरी खार्दा सडक दुर्घटनाको जोखिम बढेको छ ।

सडक चौडा पारेर कालोपत्रे गर्न दवाव भैरहेको बेला स्थानीयले नै सडक भत्काइदिएपछि बन्नै लागेको काम पनि बिग्रेको हो । स्थानीय शुभशंकर कंडेलले ६० मीटर जमिन खारेर सडक जोखिम बनाएपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतले पत्राचार समेत गरेको छ । आयोजनाले सडक जोखिम बढेको, सामान्य मापदण्डको पनि ख्याल नगरिएको भन्ने आरोप लगाइ काम रोक्न निर्देशन दिएको हो । तर, उक्त स्थानमा सडक छेउको सबै जमिन काटिसकिएको छ ।

सडक ऐन २०३१ ले राष्ट्रिय, जिल्ला स्तरीय र स्थानीय सडकको बर्गिकरण गरेको छ । राष्ट्रिय सडकको हकमा दायाँबायाँ कम्तिमा २५ मीटर छाडेर मात्र सडक संरचना बनाउन पाउने व्यवस्था छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग निर्माण नसकिंदै अतिक्रमण भैरहेको हो । निर्माण नसकिंदै स्थानीयले सडक अतिक्रमण गरेर घडेरी खार्ने र घरटहरा बनाइरहेका छन् ।

संरचना बनाएर सडकको ‘राइट अफ वे’ नै साँघुरो पारिएको छ । ठेकेदार कंपनीले ७ बर्ष अघि नै काम सकेर हस्तान्तरण गर्नुपर्ने बागलुङको बिहुँ खण्डमा त झनै अतिक्रमण बढेको हो । निर्माण सम्पन्न भएको सडक खण्डमा पनि मापदण्ड मिचिने क्रम बढ्दो छ । पूर्वपश्चिम सडक भएकोले जुनसुकै बेला थप चौडा पार्नुपर्ने सडक अहिले नै अतिक्रमणमा परेको हो । अतिक्रमण रोक्ने वा प्रतिबाद गर्ने कोही छैनन् । लोकमार्ग आयोजना कार्यालयले अधिकांश खण्ड हस्तान्तरणको तयार गरेको छ । सडक डिभिजनले भने आफ्नो जिम्मामा लिइसकेको छैन ।

लोकमार्ग आयोजना कार्यालयले ठेक्का लगाएर निर्माण सम्पन्न भइसकेका दर्जनबढी स्थानमा सडकको छेउमा अतिक्रमण बढेको छ । काठेखोला ६ को ताराखसेमा स्थानीयले सडकमै जोडेर घरटहरा बनाएर बसेका छन् । त्यस्तै गलकोट नगरपालिका वडा नंं २ को नरेठाँटीमा पनि सडक र पुलमै जोडेर टहरा बनाइएको छ । ती टहरामा होटल र ग्यारेज संचालनमा छन् । बडिगाड गाउँपालिका वडा नं. ७ को भीमगिठेमा त दोहोरो सवारी चल्नै नसक्ने गरी दुवै तर्फ घरैघर बनेका छन् । स्थानीयले पिकअप जिप र ट्याक्सी सडकमै पार्किङ गरिदिंदा जोखिम बढेको हो । यहाँ नियमित जसो सवारी दुर्घटना भैरहेको स्थानीयले बताए । गलकोट नगरपालिका ११ को मनेवामा त दरमखोला जलबिद्युत आयोजनाले सडक छेवैमा पाइपलाईन बिच्छ्याएपछि सडक साँघुरो भएको छ ।

कतिपय स्थानमा भने स्थानीयले मापदण्डबारे थाहा नपाएको र मुआब्जा नपाएको कारण देखाएर संरचना बनाएकोदावी गर्छन् । ‘सम्झाउने बुझाउने गर्दापनि सडक चौडा पार्न नमिल्ने गरी अतिक्रमण भैरहेको छ, गलकोटमा एक किमी सडकमा पाइपलाइन बनेको छ,’ लोकमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले भने, ‘बिद्युतले बर्षौ अघिको ग्रामीण सडकमा अनुमति लिएको देखिन्छ, लोकमार्गको मापदण्डमा भने ती संरचना बनेका छैनन् ।’ लोकमार्गले राजपत्र प्रकाशित नगरेको निहुँमा ती स्थानमा अतिक्रमण भैरहेको छ ।

निसीको जुग्जाखोला, झिवाखोला लगायतको बजार क्षेत्रमा पनि सडक अत्याधिक साँघुरो छ । पालिकाले सम्झाइ बुझाइ गरेर सडक मापदण्ड छाडेर घरटहरा बनाउन आग्रह गरेपनि कतिपयले अटेर गरेको उपाध्यक्ष प्रेम घर्ती बताउँछन् । पाँचथरको चियोभञ्ज्याङ देखि बैतडीको झुलाघाटसम्म पुग्ने १ हजार ७ सय किमी लामो मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएदेखि नै मापदण्ड अनुसारको बन्न नसकेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले बताए । बिहुँ खण्डको अतिक्रमण रोक्न पनि आयोजनामा खबर गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->