बागलुङ/नेपाल प्रेस युनियनले संचालन गरेको ‘सय दिने सदस्यता विशेष अभियान’अन्तर्गत बागलुङमा नयाँ सदस्यता बितरण शुरु गरेको छ । केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङ शाखामा नवआगन्तुकलाई सदस्यता बितरण गरेर अभियानको थालनी गरे ।
कात्तिक २१ गतेसम्म युनियनले सदस्यता अभियान संचालन गरेर मंसिरमा बिधान अधिवेसन गर्ने लक्ष्य राखेको र सोही अनुसार सदस्यता बितरण गरिएको लम्सालले जानकारी दिए । साथै, उनले सरकार पछिल्लो समय प्रेस विरोधी बन्दै गएको आरोप समेत लगाए ।
‘स्वतन्त्र प्रेसको विरुद्दमा विभिन्न हर्कत गर्दै सरकारले पत्रकार र पत्रकारितालाई जोखिममा पार्दैछ’ उनले भने, ‘अनलाइनलाई सिडिओमा दर्ता गराउने काम समेत प्रेस स्वतन्त्रताको दृष्टिले अशोभनीय भयो ।’ अनलाइनहरु स्वभाविक रुपमा दर्ता भएर चलेकोले अनुगमनको पाटो मात्र सरकारले गर्नुपर्ने लम्सालले बताए ।
संचार नियन्त्रित गतिविधि स्वीकार्य नहुने भन्दै पत्रकार र संचार माध्यमलाई निचोर्दै लैजाने प्रयास भयो भने पत्रकार सडकमा आउने लम्सालले चेतावनी दिए । पत्रकारहरु दक्ष र सशक्त बन्ने बनाउने काममा युनियनले पहल गर्ने उनले बताए । यो अभियान देशभर संचालन हुने छ । बिहिबार गण्डकी प्रदेशमै पहिलो पटक अभियान शुरु भएको हो ।





