बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन गण्डकी)ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । साउन २५ गतेदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरेर जन्माष्टमी मनाउन लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर इस्कोनले उक्त जानकारी गराएको हो । कृष्ण जन्माष्टमीको अवसरमा पहिलो दिन लक्ष्मीनारायण मन्दिर उद्घाटन, दोश्रो दिन इस्कोन कुश्मा, २७ गते इस्कोन बागलुङ, २८ गते इस्कोन म्याग्दीमा कार्यक्रम गरिने जनाइएको हो । त्यस्तै २९ गतेदेखि ३१ गतेसम्म भने बागलुङ नगरपालिका–१ को खुदुर्केमा रहेको लक्ष्मीनारायण मन्दिर तथा इस्कोन गण्डकी परियोजना स्थलमा जन्माष्टमी विशेष कार्यक्रम हुनेछन् ।
बागलुङ, पर्वत र म्याग्दीबाट छनौट भई फाइनल प्रवेश गरेका तीन जिल्लाका १२ वटा विद्यालयबीच आत्धात्मिक हाजिरीजवाफ प्रतियोगिता, महाहरिनाम संर्कीतन, कृष्ण प्रवचन, नाटक, नृत्य र ग्रन्थ प्रदर्शन, महाभिषेक, यज्ञ आदि कार्यक्रम समावेश भएको पत्रकार सम्मेलनमा इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिए ।
विशेष पुजा, यज्ञ, राधाकृष्ण मुर्ती स्थापना र भवन उद्घाटन भएकोले कार्यक्रममा १० लाख खर्च लाग्ने बताइएको छ । त्यसका लागि इस्कोनका सदस्यहरुले दानचन्दा उठाउने छन् । हाल इस्कोन गण्डकी परियोजनाअन्तर्गत राधाकृष्ण मन्दिर बनिसकेको छ । लक्ष्मीनारायण मन्दिर जीर्णोद्दार गर्ने, शाकाहारी भोजनालय निर्माण, मुक्तिनाथ जाने भक्तजन बस्न मिल्ने धर्मशाला तथा अतिथि गृह निर्माण गर्ने योजना समेत उनले जानकारी दिए ।





