बागलुङ/कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोलामा शनिबार दिउँसो सुख्खा पहिरो खसेको हो ।
चट्टानसहितको पहिरोले सडक अबरुद्ध छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक यसअघिनै पहिरोका कारण अबरुद्ध छ । करिडोरमा समेत चट्टान सहितको पहिरो खसेपछि जिल्लाको दक्षिण क्षेत्रको सडक सम्पर्क टुटेको हो ।
करिडोर अबरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देहीहुँदै पश्चिम चल्ने सबै सवारीसधान चल्न सकेका छैनन् भने सोही बाटोहुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन समेत बाटोमै रोकिएको प्रहरीले जनाएको छ । भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रकहरु कालाखोलामा रोकिएका छन् । पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम बिकले जानकारी दिए ।
करिडोरको मालढुंगा–बलेवा बिमानस्थल खण्ड कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउन थालेपनि पहिरो खस्न नरोकिएकाले समय लागेको हो । पहिरोको दुवै तर्फबाट स्काभेटर प्रयोग गरेर चट्टान फोड्दा पनि पहिरो पन्छाउन दुई दिन लाग्ने निर्माण कम्पनीले जनाएको छ । करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पाँच वर्षदेखि खसिरहेको पहिरोले सामान्य वर्षा हुँदासमेत सडक अबरुद्ध हुने गरेको थियो ।





