मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रतिभाका विद्यार्थीलाई सम्मान

प्रतिभाका विद्यार्थीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८२, आइतबार

पोखरा/ राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को परीक्षाको नतीजामा उत्तीर्ण भएका विद्यार्थीलाई पोखराको प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई सम्मान गर्दै विद्यालयले यसपछिको अध्ययनबारे पनि जानकारी दिएको थियो ।

कार्यक्रमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्दै कक्षा १२ को अहिलेको परिणामले सिंगो पोखराले गर्व गर्न पाएको बताए । विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावको मेहनतले गर्दा परिणाम उत्कृष्ट आएपनि त्यसको हकदार महानगर पनि हुने उनले बताए । कक्षा १२ मा असफल हुदैमा वा कम अंक आउँदैमा कोही विद्यार्थी आत्तिन नहुने पनि उनले बताए । ‘विद्यालय तहमा बारम्बार असफल भएका विद्यार्थीले पनि विश्वविद्यालय तहमा उत्कृष्ट अंक ल्याउने गरेका छन । त्यसैले अहिले कम अंक आउँदैमा वा असफल हुँदैमा हरेस खानु हुँदैन,’ मेयर आचार्यले भने ।

उत्तिर्ण विद्यार्थीलाइ अबको पढाईबारे सुझाउँदै मेयर आचार्यले पढ्ने विकल्प पर्याप्त रहेकोमा आफ्नो इच्छा, आकांक्षा, रुची अनुसार पढनुपर्ने बताए । ‘मनले जे भन्छ, त्यही विषय पढौं, बुवाआमा वा छिमेकीका लागि पढ्ने होईन । आफ्नो चाहना अनुुसारको विषय पढ्दा पक्का सफल भइन्छ,’ उनले भने, ‘आफैले आफैलाई सोधेर पढौं । अहिले पढेको पढाईले कम्तिमा राज्यलाई केही न केही योगदान दिनुपर्छ ।’ स्नातक नगरि विदेश नजान पनि उनले विद्यार्थीलाई सुझाव दिए । विदेश गएर पढ्दै र काम गर्ने हो भने निकै सकस रहेको भन्दै मेयर आचार्यले भने, ‘कम्तिमा स्वदेशमा स्नातक तह पढेर जानुस । १२ कक्षा पछि नेपालको सिमाना नै नदेख्नेगरि पर्दा लगाउने अवस्था नहोस ।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले अहिलेको रिजल्टले विद्यालयको इतिहास रचेको बताए । राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा योपटक सर्वाधिक अंक ३.९६ जिपिए रहेकोमा प्रतिभाका नौजना विद्यार्थीले उक्त उत्कृष्ट नतिजा हात पारेर विद्यालयको इतिहास रचेको प्राचार्य सापकोटाले बताए । ‘समग्रमा पोखराको १२ कक्षाको परीणाम अध्ययन गर्ने हो भने प्रतिभाको रिजल्टले योपटक निकै नै फड्को मारेको छ । यो समग्रमा पोखराका लागि पनि गर्वको कुरा हो,’ उनले भने, ‘प्रतिभाले बारम्बार फरक फरक क्षेत्रमा इतिहास रचेको थियो । योपटक देशकै उत्कृष्ट रिजल्टमा आफुलाई हकदार सावित गरेको छ ।’

प्रतिभाबाट १२ कक्षा उत्तिर्ण गरेपछि गएका विद्यार्थीले विभिन्न प्रवेश परीक्षामा आफुलाई अब्बल सावित गराएको पनि उनले बताए । ‘अहिले प्रतिभाको सपनामा अझ अर्काे इटा थपिएको छ । प्रतिभामा सिकेको आत्मविश्वासले सबै विद्यार्थीको भविश्य उज्जवल बन्नेछ,’ उनले भने । प्रतिभा मविका संचालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभाले हरेक वर्ष शैक्षिक क्षेत्रमा भिन्दै पहिचान कायम गर्न सकेकोमा योपटक त्यसले थप निरन्तरता पाएको बताए । ‘प्रतिभाको इतिहासमा इटा थप्न यो पटक विद्यार्थीले ठुलो योगदान दिएका छन । विद्यार्थीले कोरेको यो इतिहासलाई आगामि दिनमा निरन्तरता दिन विद्यालय अझ लाग्नेछ,’ पौडेलले भने, ‘उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि प्रतिभा सधैं तयार छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->