म्याग्दी/वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अनिल बिकलाई छोरीहरू विद्यालयमा प्रवेश गर्दावित्तिकै मोवाइलमा मेसेज पुगिसकेको हुन्छ । उनले मोवाइलमै छोरीहरू निलम, यमुना र अस्मी विकको परीक्षाफल, विद्यालयका अन्य सूचनाहरूको जानकारी श्रीमती जस्मतीलाई दिन्छन् ।
यूकेमा रहेका ठाडाखानीका गिरीबहादुर छन्त्यालले कक्षा ८ मा अध्ययनरत छोरी निता नितु विद्यालयमा अनुपस्थित भए घरमा फोन गर्छन् । कतारमा रहेका शमशेर विकले श्रीमती सिम्मरन विकलाई कक्षा ३ र ४ मा पढ्ने छोरा सन्तोष र सविन विकको परीक्षाफलका बारेमा जानकारी दिन्छन् । छोराहरूको पढाइमात्रै होइन विद्यालयमा हुने गतिविधिका बारेमासमेत श्रीमतिलाई कतारबाटै सुनाउँछन् । मालिका आधारभूत विद्यालयले एकवर्ष अगाडीदेखि सुरू गरेको विद्यार्थीको ‘ई–हाजिरी’ प्रणालीले स्वदेश तथा विदेशमा रहेका अभिभावकलाई समेत सहज भएको छ ।
‘मैले छोरीको नतिजा यही हेर्छु, दैनिक विद्यालयको सूचना आउँछ, यो प्रविधिको प्रयोगले घरमै बसेजस्तो महसुस भएको छ,’ साउदी अरबमा रहेका अनिलले भने । उनले यो सुविधाले नयाँ शिक्षकसँग अभिभावकको सुमधुर सम्बन्ध कायम गर्न सहज भएको बताए । शिक्षकबाट आफ्ना छोराछोरीका बारेमा नियमित जानकारी सुन्न पाउँदा विद्यालय र शिक्षकप्रति उच्च सम्मान रहेको बताए । २०८१ साल फागुन १२ गतेदेखि सुरू भएको स्मार्ट हाजिरी प्रणालीबाट भौतिक रुपमा टाढा भए पनि अभिभावकलाई निगरानी गर्न सजिलो भएको विद्यालयका प्रधानध्यापक राजन बानियाँले बताए ।
‘ई–हाजिरीले विद्यार्थी नियमित उपस्थ्तिी हुने गरेका छन्, बुबा बिदेशमा छन् भनेर विद्यालयमा नआउने विद्यार्थी यो प्रविधिको प्रयोगपछि नियमित आउँछन्,’ प्रअ बानियाँले भने । आफ्ना सन्तानको दैनिक क्रियाकलाप एपमार्फत निगारानी गर्ने अभिभावकले दिएको सुझावहरू समेत कार्यान्वयन गर्न सजिलो भएको छ । ‘प्रविधिको प्रयोगले शिक्षक–अभिभावक सम्बन्ध पनि प्रगाढ बनाएको छ,यसले अभिभावकले पनि जिम्मेवारी बोध गर्नुभएको छ,’ प्रअ बानियाँले भने । अभिभावक विद्यालय र शिक्षकको एकता र सहकार्यल फलदायी र प्रभावकारी बनाउन थप योजनाहरू ल्याउने उनले बताए ।
सदरमुकाम बेनीबजारबाट करिब ३५ किलोमिटरको दूरीमा अवस्थित विद्यालयले सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गरी शिक्षण सिकाइको माध्यम बनाउने प्रयास गरेको प्रअ बानियाँको भनाइ छ । विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत ८० जना विद्यार्थीहरूका करिब ५० प्रतिशतभन्दा बढी अभिभावक विदेशमा छन् ।
विद्यालयले विद्यार्थीको मात्रै नभइ लेखा व्यवस्थापन, शिक्षक–कर्मचारीको बिदा अभिलेखीकरण, पुस्तकालय सेवा, परीक्षाफल तयारी, सूचना प्रवाह, संवाद संयन्त्र लगायतका कार्य पनि एकीकृत डिजिटल सफ्टवेयर प्रणालीमार्फत प्रयोग गरिरहेको छ । विद्यालयले विद्यार्थीको ई–हाजिरीसँगै कक्षाकोठामा प्रबिधिमैत्री वातावरणमा सिकाई क्रियाकलापका लागि स्मार्ट विद्यालय बनाउन पाठशाला एप्समार्फत हाजिरीसँगै अटो बेलको जडान समेत गरिएको छ ।
त्यस्तै एडुटेक र लर्नको सहयोगमा एडभान्स कम्प्युटर ल्याबको समेत स्थापना गरिएकोमा केहीबर्ष अगाडी नै गणित,विज्ञान, कम्पयुटर प्रयोगशाला र ओएचपीको प्रयोग गरिएको विद्यालय ब्यवस्थापन समितिकाअ अध्यक्ष टेकजित छन्त्यालले बताए । वडा सदस्यसमेत रहेका छन्त्यालले इन्टरनेटको सुविधा प्रयोग गरी विद्यार्थीलाई शैक्षिक रुपमा नमूना बनाउन आवश्यक सहयोग गरिएको बताए ।
जिल्लाको दुर्गम क्षेत्रको नमुना विद्यालय बनाउने अभियानमा स्वदेश तथा विदेशमा रहेका अभिभावकले समेत सघाइरहेको बताउँदै उनले प्रविधिको प्रयोग कसरी गर्ने सन्देश ठाडाखानीबाट दिने प्रयास गरिएको बताए । विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत ८० जना विद्यार्थीहरूका करिब ५० प्रतिशतभन्दा बढी अभिभावक विदेशमा छन् ।





