पर्वत/जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका लाल बहादुर कुँवरले गलाएको जेठोबुढो धान सर्ने बेलामा बिरुवा नै मर्न थाले । धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको प्रकोप भएको जस्तो उनलाई लाग्यो। गरामा पानी नभएको बेलामा झनै प्रकोप बढको जस्तो, जराबाट काटिन थालेको बिरुवाको काण्ड पनि काटिएको र बिस्तारै बिरुवा नै मरेपछि उनले कृषि प्राविधिकहरूलाई खबर गरे ।
फस्टाउने बेलाको धान खेतीमा रोगको प्रकोप बढ्दै गएर कृषकहरू चिन्तामा परेपछि कृषि ज्ञान केन्द्र पर्वतले सोमबार स्थलगत रूपमा धानमा देखिएको समस्याको अवलोकन गरेको छ । कार्यालयकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकारी सोविता सुवेदीले स्थानीय जातको धानमा यस्तो समस्या देखिएको बताउँदै यसको नियन्त्रणका लागि प्राविधिकहरूको सल्लाह मान्नुपर्ने बताइन् ।
आफूहरूले फलेवास नगरपालिका–३ को रुग्दी र वडा नं. ५ देवीस्थानमा लगाइएको धानमा देखिएको प्रकोपको बारेमा अध्ययन गरेको र केही नमुना बिरुवाहरूको प्रयोगशालामा समेत अध्ययन गरिएको बाली संरक्षण अधिकृत सुवेदीको भनाइ छ । ‘राइस ब्लास्ट रोग बाहिरबाट ल्याएको बीउ वा बिरुवामा देखिँदैन। यो नेपालमा निषेधित रोग हो। यही कारण यसको प्रकोप स्थानीय जातका बीउमा नै देखिने हुन्छ उनले भनिन्, ‘यस्तो रोगको सङ्क्रमण भएको भए त बाहिरबाट आयात गर्न नै मिल्दैन । यो देखिनु भनेको नराम्रो हो । यसको प्रभाव बढ्दै जाने हो भने उत्पादन शून्य प्रतिशत पनि हुन सक्छ । अहिले पातमा देखिएको छ ।’
हरेक वर्ष लगातार एउटै खालको बीउको प्रयोग गर्दा यो समस्या आउने सम्भावना रहने तथा यसको प्रभाव हावा र माटोबाट प्रसारण हुने सुवेदीले बताइन् । सुरुवाती अवस्थामा नै विषादीको प्रयोग गरियो भने यसको प्रभाव नियन्त्रणमा राख्न सकिने सुझाउँदै उनले अहिले घाम नलागेर तापक्रम घटेको बेलामा पनि यो प्रकोप बढ्ने सक्ने जानकारी दिइन् । अहिले धान गोड्ने बेला भएको र गोड्ने बेलामा कृषकहरूले युरिया मल पनि छर्किने गरेकोले कतिपय कृषकले लगाएको धानमा रासायनिक मलकै कारण पनि प्रकोप फैलिएको हुन सक्ने सुवेदी बताउँछिन् ।
केही दिन अगाडिबाटै प्रकोप बढ्न थालेपछि फलेवास नगर स्तरीय कृषि सञ्जालका अध्यक्ष विनोद भुसालको सक्रियतामा प्राविधिकहरूको टोली आएर अवलोकन गरेको थियो । कृषकहरूमा चिन्ता बढेपछि भुसालको समन्वयमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बागलुङका प्राविधिक सहितको टोलीले स्थलगत रूपमा अनुसन्धान गरेको थियो। टोलीले समेत तत्कालै प्रकोप नियन्त्रणका लागि केही किटनाशक औषधिहरू वितरण गरेको थियो ।
‘खास गरी जेठोबुढो, एक्ले जस्ता स्थानीय धानकै जातमा यो रोग लागेको देखियो । समस्या भएपछि कृषकहरूले खबर गर्नुभयो र बागलुङका प्राविधिकहरूलाई बोलाएर तत्कालै केही औषधि वितरण गरिएको थियो,’ अध्यक्ष भुसालले भने, ‘फलेवास कृषि सञ्जालले कृषकहरूको समस्या छ भन्ने थाहा पाएसम्म समस्या समाधानको लागि खटेर काम गर्ने गरेका छौँ । अहिले पनि समयमा नै यसलाई नियन्त्रण गर्न सकिने अवस्था छ ।’
कृषकहरूले गत वर्ष पनि गुभो कुहिने, ढुसी र किराको प्रकोपले क्षति बेहोरेका थिए । अहिले फलेवासका केही वडामा यसको प्रभाव देखिएको भए पनि अन्यत्र पनि थोरै थोरै मात्रामा समस्या देखिएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र र फलेवास नगरपालिकाको कृषि शाखाका कर्मचारी सहितका प्राविधिकहरुले मरुवा रोग व्यवस्थापनको लागि ट्राइसाइकाजोल ७५ प्रतिशत डब्ल्यु पी ०.७५ ग्राम वा हेक्जाकोनाजोल ५ प्रतिशत इसी दुई मिलिलिटर वा क्रेसोक्जीम मिथाइल ४४.३ प्रतिशत एस.सी एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा दुई÷तीन पटक छर्किन सुझाएका छन् । यस्तै ‘फुट रट’ रोग व्यवस्थापनको लागि स्वस्थ बीउको प्रयोग गर्ने, बेभिष्टिन दुई ग्राम प्रतिकिलोग्रामका दरले बीउ उपचार गर्ने, रोगग्रस्त बोटहरू उखेलेर नष्ट गर्ने, खेतमा यो रोग देखा परेमा बेभिष्टिन तीन ग्राम प्रतिलिटर पानीमा मिसाइ छर्किनुपर्ने उनीहरूको सुझाव छ ।





