शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तालदेखि तालसम्म साइकल सरर…

तालदेखि तालसम्म साइकल सरर…


  • ढोरपाटन डेक्स
  • भाद्र २ २०८२, सोमबार

पोखरा/एसियाली विकास बैंक(एडीबी)ले २०७९ फागुनमा पोखरा महानगरपालिकासँग दीगो पर्यटन विकाससम्बन्धी १५ वटा सम्झौतामा हस्ताक्षर ग¥यो । सम्झौता अनुसार एडीबीले क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती परियोजनाहरुमा ७ अर्ब ५० करोड लगानी गर्ने भयो । पोखरा महानगरका मेयर धनराज आचार्यले एडीबीसँगको सम्झौता पोखराको दीगो पर्यटन विकासको लागि महत्वपूर्ण भएकोमात्र बताएनन्, तीन वर्षभित्र सबै परियोजना सम्पन्न गर्ने घोषणा पनि गरे ।

एडिबीले छनोट गरेका सात नगरपालिकामध्ये पोखरा महानगरपालिकासमेत एक हो । ‘सहरी लचिलोपन र जीवनयापन सुधार परियोजना’ ले ३ क्षेत्रलाई प्राथमिकतामा राखेको छ । पूर्वाधार र शहरी डिजाइन सुधार, दोस्रो पारिस्थितिक पर्यटन पदमार्ग विकास र तेस्रो सेती पर्यटन विकास ।

फिर्के खोला करिडोर विकास, केआइसिंह पुलमा सेती खोंच दृष्यावलोकन, बोटानिकल गार्डेन, पञ्चासे पर्यापर्यटन, सराङकोट एडभेञ्जर हिल पार्क, पोखरा प्रवेश उद्यान, लेकसाइड र मुख्य शहरी क्षेत्रको ट्राफिक सुधार, विन्ध्यवासिनी मन्दिर क्षेत्रको सडक विकास, विद्युतीय गाडीको पूर्वाधार विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म द्रूतमार्ग, फेवाताल अर्गानिक ट्रेल, हरियाली पोखरा अभियान, तालहरु जोड्न गरी साइकल टे«ल निर्माण, बेगनास र रुपाताल तथा बेगनास ताल र फेवाताल जोड्ने उच्च गतिको कनेक्टीभिटीलगायतका परियोजना रहेका छन् । परियोजना निर्माणको प्राविधिक र आर्थिक सहयोग एडीबीको हुने र सहजीकरण पोखरा महागनरले गर्ने सम्झौतामा उल्लेख छ ।

तर, पहिलो चरणमा केआइसिंह पुलमा सेती खोंच दृष्यावलोकन, शान्ति वन बाटिकामा, इको फुट टेल, पञ्चासे, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म द्रूतमाग, सिदार्थचोकदेखि विन्ध्यवासिनी मन्दिर क्षेत्रको सडक विकासका लागि काम गर्दैछ । यसमध्ये मुख्या चर्चामा रहेको विषयमा हो ‘लेक टु लेक’ । लेक टु लेक अन्तरगत साइकल टे«ल विकास योजनाले पोखराका मुख्य आकर्षणको रुपमा रहेको तालसंगै आसपासका क्षेत्र र डाँडाहरुलाई जोड्ने छ । साइकल लेनले वातावरणमैत्री सवारीको प्रबद्र्धन गर्नेछन् । तालहरुलाई एक आपसमा जोड्दै पोखरा आउने पर्यटकलाई साइकलबाटै ताल हेर्ने र स्वच्छ वातावरणमा रमाउने पूर्वाधार निर्माण गर्नेछ भने, आइनेज, अवलोकन विन्दुहरु, जल निकासी गर्दै सुरक्षाका सुविधासहित अन्तर ताल साइकल ट्रेल बनाउने योजनामा रहेको सूचना अधिकारी तिवारीले बताए ।

पोखराका ९ तालहरुलाई जोड्ने गरी अघि सारिएको यो योजनामा आउटर ट्रयाक (बाहिरी कुल क्षेत्र) कुल ११७ किलोमिटरको रहने छ । यो पोखराका पुरै तालहरुलाई घेर्ने रुट हो । अर्को छ इनर ट्रयाक ६५ किमी (भित्रि मार्ग) ९ ताल छुने तर बजारभित्रबाट हुनेछ । अर्को फेवातालको थोरै हिस्सा समेटेर फेवा ट्रयाक रहेको छ भने रुपा ट्रयाक । यस्तै स्केप रुट पनि अर्को रहेको छ ।

त्यो बाहेक पोखरा जल निकासी, सडक, फुटपाथ र सडक सुधार, पञ्चासे पहुँच सडकको सुधार, विन्ध्यवासिनी क्षेत्र सडक पुनर्विकास रहेका छन् । पर्यटनतर्फ पञ्च भित्री ताल साइकल ट्रेल पर्याविकास र रानीबन इको–ट्रेल र फेवाताल सुधार छन् । सेती जर्ज पर्यटन विकासतर्फ शान्ति वाटिका बोटानिकल गार्डेन र केआई सिंह पार्क र केआईसिंह पुल क्षेत्र सुधारको कार्यक्रम रहेको छ ।

यो कामका लागि तीन वटा कन्सल्टन (परामर्शदाता) ले पहिलो चरणको ठेक्का पाएका छन् । बिएन कन्सल्टेन्सी प्रालि, विल्डीङ डिजाइन प्राधिकरण प्रालि र उदय कन्सल्टेनसी प्रालिले ठेक्का प्राप्त गरेका हुन् । ति परामर्शदाता कम्पनीले पहिलो चरणमा विस्तृत डिजाइन गर्नेछ र दोस्रो चरणमा निर्माण पर्यवेक्षण गर्नेछ ।

यि कन्सल्टेनले प्रिसेसन रिपोर्ट (पहिलो प्रतिवेदन) परियोजनालाई बुझाइसकेको छ । कन्सलटेले विषय विज्ञमार्फत् अध्ययन गरी त्यसको प्रतिवेदन तयार गरि एडीवी परियोजनालाई प्रदान गरेको हो । अब परियोजनाले त्यसलाई पुनः अध्ययन गरि डिपिआर बनाउनेतर्फ लाग्नेछ । त्यसपछि कन्ट्याक्टर (निर्माण कम्पनी) छनोट हुनेछ । पहिलो चरणका लागि ५७ करोड ६ लाख ५४ हजार रुपैयाँको सम्झौता भएको छ । दोस्रो चरणमा १२ करोड ३० लाख ७ हजार ८ सय २० रुपैयाँ रहेको छ ।

पोखरामा रहेका ९ वटा ताल सिमसार क्षेत्र रामसारमा सूचीकृत छन् । फेवा, बेगनास‚ रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताल छन् । पोखराका ९ तालले २६ हजार १०६ हेक्टर क्षेत्रफल ओगटेका छन् ।

फिर्के पनि
त्यो बाहेक सम्झौताअनुरुप पहिलो चरणमा पोखरा महानगरपालिकाले फिर्के खोला करिडोर विकास परियोजनाको सिमाङ्कन सकेको छ । अँधेरी कुनाबाट फेवातालसम्म बग्ने फिर्केखोला बस्ती हुँदै पोखराको बिच बग्ने खोला हो । तर, अहिले यो मानवीय अतिक्रमणमा परेको छ । फेवातालमा मिसिने खोला प्रदूषित हुँदा त्यसको प्रत्यक्ष असर फेवातालमा परेको छ । दीगो पर्यटन विकास योजना अनुरुप अब फिर्केमा बाह्रै महिना पानी बग्नेछ । हिउँदमा सुक्ने फिर्केमा याम्दीको पानी ल्याएर खसाल्ने, वरपर हरियाली पार्क र साइकल लेन बनाउने योजना अगाडि सारिएको छ । तर, यसको लागि ८ किलोमिटर क्षेत्रमा भएका अवैधानिक संरचना हटाउनु नै पहिलो आवश्यकता रहेको प्रतिवेदनले देखाएको छ ।

खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन तयार भइसकेको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिले महानगरपालिकालाई दिइसकेको छ । प्राविधिक समितिले एक महिना लगाएर २०८० साउन ३ देखि भदौ ३ गतेसम्म खोलाको नापजाँच गरेको थियो । फिर्केखोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० परिचालित भएका थिए । समितिको संयोजक वासुदेव पौडेल रहेका थिए । फिर्केमा खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ ।

फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण भएका छन् । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । साविक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको कुल लम्बाइ आठ किलोमिटर छ ।

यो खोला कम्तीमा तीन दशमलव ३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको छ।फिर्केखोलाको प्राविधिक नापजाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् । महानगरले ति खोलाघर हटाउन खोज्दा अदालतमा मुद्धा परेको थियो पछि अदालतले समेत महानगरको ढोका खुला गरिदिएको छ ।

‘यो योजनाले पर्यटकीय राजधानी पोखरालाई विश्वमाझ थप चर्चा दिनेछ । पोखराको पर्यटन प्रबद्र्धनमा यसको महत्व व्यापक रहेको छ,’ सूचना अधिकारी तिवारीले भने ।

सरसफाइमा लक्ष्मी ग्रुपको सहकार्य
पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी विहीबार समझदारी भएको छ । समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले हस्ताक्षर गरे ।

तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताए । नेपालको अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएको उनले बताए ।

पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकास मार्फत रोजगारी सिर्जना गर्ने आचार्यले बताए । गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलता तर्फ आकर्षित गर्ने, महानगरपालिकामा गरिबिको रेखामुनी रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरी महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजनाले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्तिको दिशामा योगदान गर्ने, संयुक्त रूपमा जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने लगायत उद्देश्यले समझदारी गरिएको नगर प्रमुख आचार्यको भनाई छ ।

महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ र जलकुम्भी लगायत झारहरूको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले बताए । यसका लागि लक्ष्मी ग्रुपले देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन, हस्तकलाका सामाग्रीहरू उत्पादन तथा प्रशोधनका लागि आवश्यक तालिम तथा प्रशिक्षण र विपन्न परिवारहरूलाई विद्युतीय चुल्हो वितरण गर्नेछ ।

कृषि उपजको न्यूनतम् मूल्य
पोखरा महानगरपालिकाले कृषि उपजको न्यूनतम समर्थन मुल्य निर्धारण गरेको छ । पोखराको पहिचानका रुपमा रहेको जेठाुबुढो, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेंडा,सिमी, घिरौला, काको, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह, च्याउसहित विभिन्न ३५ वटा उत्पादनको न्यूनतम् मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । त्यही व्यवस्था अनुसार अघिल्लो वर्ष महानगरले १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको थियो । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ ।

पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका छन् । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको थियो ।

बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको हो । कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->