स्याङ्जा/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशमा पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालन गरिएको लिजामा आर्थिक वर्ष २०८०/०८१ मा पहिलो भएको हो ।
अंक कस्को कती आएको छ भन्ने नखुलेपनि मन्त्रालयले गण्डकीको अर्जुनचौपारी गाउँपालिकासहित बागमतीको खैरेहनी नगरपालिका (चितवन), नीलकण्ड नगरपालिका (धादिङ), बेनीघाट दोराड्ढ गाउँपालिका (धादिङ), लुम्बिनीको तिलोत्तमा नगरपालिका (रुपन्देही), रुरुक्षोत्र गाउँपालिका (गुल्मी)लाई भदौ २ गते सम्मानको लागि बोलाएसँगै गण्डकीमा प्रथम भएको पुष्टी भएको हो ।
गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिने गरेको हो । मन्त्रालयले अर्जुनचौपारी सहितका उत्कृष्ट पालिकालाई यही भदौ ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेद्धारा सम्मान गरिने छ ।
गुमनामबाट देशकै सफल पालिका
तीन वर्ष अघिसम्म पूर्वाधार, सेवा र व्यवस्थापनमा कमजोर मानिएको अर्जुनचौपारी गाउँपालिका अहिले देशैभर उत्कृष्ट प्रदर्शन गर्ने पालिकाको रूपमा स्थापित भएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी नेतृत्वमा आएसँगै पारदर्शी प्रशासन, युवा सहभागिता, डिजिटल प्रविधिको प्रयोग, नवप्रवर्तन र समावेशी योजना कार्यान्वयनलाई प्राथमिकता दिइएको हो । यहाँका म्याथम्याटिकल तथा बोटानिकल पार्क, नवग्रह मन्दिर पछिल्लो क्रममा चर्चामा रहेको पालिकाका योजना हुन् ।
संस्थागत क्षमता, सेवा गुणस्तर र नेतृत्वका दृष्टिले अर्जुनचौपारी गाउँपालिका अब अन्य स्थानीय तहहरूका लागि उदाहरणीय मोडेलको रूपमा स्थापित भएको छ । संघीय सरकारको मूल्याङ्कनमा शीर्ष स्थान हात पार्नु र देशभर चर्चा बटुल्नु गाउँपालिका र स्थानीय बासिन्दाका लागि गौरवको विषय बनेको हो । केही दिनअघि अनलाइनखबरले प्रकाशित गरेको ‘४० प्रभावशाली युवा’ को सूचीमा अध्यक्ष तिवारीको नाम पनि परेको थियो ।





