पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-६का वडाध्यक्ष सरोज लामा राजनीतिबाट सदाका लागि विदा लिदै आफु निर्वाचित पद त्यागेर बिदेसिएका छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस ‘शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो’ लेख्दै जर्मनी हानिएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाट बाहिरिदाँको आफ्नो तस्वीर राख्दै वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गरेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो ।’
लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गाउँपालिकामा पठाएको चुमनुब्री गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए । ‘उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ। फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको छैन,’ रेग्मीले भने । लामा गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।





