बेनी नगरपालिका–५, मा जीर्ण अवस्थामा रहेको घर । तस्बिर : हरिकृष्ण गौतम
म्याग्दी/जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्। संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म सडक सहितका सुविधा पुगेपनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहर बजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रित्तिदै जान थालेको हो ।
बुकी र खर्कहरुमा भेडा र गाईवस्तु चराउदै साथीहरुसँग गफिने युवाहरु पछिल्ला केही वर्षयता गाउँघरमा भेटिन छोडेका छन् । जिल्लाका ग्रामीण क्षेत्रहरुमा पूर्वाधार विकासले प्रशस्तै सुविधाहरु प्रदान गरेको भएपनि ती सुविधा र विकासका पूर्वाधारहरुलाई प्रयोग गरी लाभान्वित हुने युवाहरु गाउँ छोडेर सहर र सहरबाट विदेश पलाएन भइरहेका छन् । पहिले गाउँमा सुविधाहरु भएनन् । दुःख पाइयो भन्दै मानिसहरू सहरमा बसाइँसराइ गर्थे । अहिले पूर्वाधार विकासले गाउँलाई सहरसँग जोडिदिए पछि सहरबाट युवाहरु गाउँ फर्किनु पर्नेमा गाउँबाट सहर झरेर विदेश पस्नेक्रम बढ्दै गएको भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । पछिल्लो एकदशकमा बेनी नगरपालिकामा विकास निर्माण सहित सुविधाका हिसावले भकिम्लीमा उल्लेखनीय परिवर्तन आएको छ । यस क्षेत्रको तोराखेत आसपासबाट पहिरोको जोखिमले बसाईसराई गरेका छन् ।
गाउँका टोलबस्तीमा सडक सञ्जाल पुगेको छ, बाटाहरू स्तरोन्नति हुँदै गएका छन् । ग्रामीणस्तरमा नै १२ कक्षा सम्मको पढाइ हुने विद्यालयहरु बनेका छन् । सूचना प्रविधि र सवारी साधनको पहुँचले गाउँ र सहरको दुरी घटाएको छ । तर, गाउँबाट बसाइँसराइको दर भने झन बढ्दै गइरहेको छ । ‘जसका लागि भनेर विकासका पूर्वाधारहरु निर्माण गरियो, त्यही नै देश छोडेर हिँडेपछि विकासको उपयोगिता कसरी पुष्टि हुन सक्छ र ?,’ म्याग्दीको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्व अध्यक्ष शिव वानियाँले भने । आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०/८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको संख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ । गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार संख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ ।
बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् । विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताए । युवा पलायनको असर नेपालका हिमाली तथा पहाडी जिल्लाका ग्रामीण वस्तीहरुमा नराम्रोसँग देखिन थालेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । यहाँको युवा जनशक्तिलाई सरकारले योजनाबद्ध तवरमा विकास कार्यमा उपयोग गर्न नसक्दा युवा जनशक्ति पलाएनको समस्या तिब्र बन्दै गएको र विकासको उपलव्धी उपयोग बिहीन हुन थालेको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीको भनाई छ ।





