बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी बहुमुखी क्याम्पसको २४ औं सभा

म्याग्दी बहुमुखी क्याम्पसको २४ औं सभा


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

म्याग्दी/म्याग्दी बहुमुखी क्याम्पसको शनिबार २४ औं क्याम्पस सभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी क्याम्पसको सभाहलमा एक समारोहबीच २४ औं क्याम्पस सभाको आयोजना गरिएको थियो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दी बहुमुखी क्याम्पसले आर्थिक स्रोत जुटाउनको लागि स्थानीय तहहरुसँगको समन्वयमा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुबाट सामाजिक उत्तरदायित्वको रकमलाई म्याग्दी बहुमुखी क्याम्पसमा ल्याउने वातावरण बनाउनुपर्ने बताए ।

म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले क्याम्पसलाई जिल्लाको शैक्षिक उन्नयनको केन्द्र बनाउनको लागि स्थानीय तहलगायत सबै क्षेत्रबाट आवश्यक सहयोगको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं म्याग्दी बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति खुमबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि जीवनप्रसाद आचार्य, म्याग्दी बहुमुखी क्याम्पसका संरक्षक एवं पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, पूर्व अध्यक्ष सोमनाथ ढुङ्गाना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, क्याम्पस अभिभावक संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पस एकाई सभापति प्रेमबहादुर जिसी, क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति संगम चोखाल क्षत्री र विद्यार्थी प्रतिनिधि क्वाइलिटी सर्कल कोअर्डिनेटर एलिसा बरुवालले मन्तव्य व्यक्त गरेका थिए ।

सभाको अवसरमा क्याम्पसको फुलबारी वार्षिक प्रतिवेदन २०८१/०८२ को विमोचन समेत गरिएको थियो भने क्याम्पस सभाको उद्घाटनसत्रमा म्याग्दी बहुमुखी क्याम्पसका सदस्य–सचिव एवं क्याम्पस प्रमुख श्रीधर सुवेदीले प्रगति र कोषाध्यक्ष सेरबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदनमाथि छलफल गरी क्याम्पस सभाको बन्दसत्रबाट पारित गरिएको छ ।

सोही कार्यक्रमको अवसरमा क्याम्पसको तर्फदेखि विश्वविद्यालय अनुदान आयोगबाट उद्यमशिलता विकास कार्यक्रमको लागि छनोट भएको हिमालयन ट्वाक्क टिम्मुर परियोजनाका प्रस्तावक एवं क्याम्पसको बिएड तेस्रो वर्षमा अध्ययनरत श्रेया श्रेष्ठलाई बिनाव्याज ऋण अन्तर्गतको पहिलो किस्ताको रकम बीऊ पूँजीस्वरुप चार लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको क्याम्पस प्रमुख सुवेदीले बताए ।

क्याम्पस सभाको उद्घाटनसत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादुर कार्कीको स्वागत र सदस्य–सचिव एवं क्याम्पस प्रमुख सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा चनिसा छन्त्यालसहित विद्यार्थीहरुले स्वागत गीत गाएका थिए ।

२०४८ सालमा समुदायको प्रयासमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->