पोखरा/कास्कीको ऐतिहासिक धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८२ आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९ बजेदेखि सुरु हुने महायज्ञ कार्यक्रम महानवमीका दिन मध्यान्ह १२ः०० बजेसम्म निरन्तर सञ्चालन हुनेछ ।
समितिले यस वर्षको महोत्सवलाई सम्पन्न गर्न पूर्वतयारीका क्रममा भाद्र २३ र २४ गतेका घटनाले बाधा पुर्याएको हुँदा परम्परागत रुपमा हुँदै आएको विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा स्थगित गरिएको जनाएको छ ।
तथापि श्रीमद्देवी भागवत ज्ञान महायज्ञलाई भने निरन्तरता दिइने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । महायज्ञका दैनिक कार्यक्रम अन्तर्गत श्री सत चण्डी महानुष्ठान विहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ भने भजन–कीर्तन अपरान्ह २ बजेदेखि ४ बजेसम्म हुनेछ ।
विजया दशमी अवधिभर मन्दिरमा नित्य पूजा विहान ४ बजेदेखि सुरु हुनेछ, भक्तजनका लागि दर्शनका लागि मन्दिर पूर्वान्ह ५ बजेदेखि खुला गरिनेछ र प्रत्येक साँझ ६ बजे आरती हुने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।





