पोखरा/भदौ २४ गते पोखरामा प्रहरीबाट लुटिएका हातहतियारमध्ये २१ वटा बन्दुक अझै भेटिएको छैन् । जेनजी आन्दोलनको क्रममा पर्यटकीय राजधानी पोखरा महानगरपालिकाभित्र रहेका प्रहरी चौकीमा आक्रमण पश्चात लुटिएको ४२ वटा विभिन्न बन्दुकमध्ये २१ वटा बन्दुक फेला नपरेको हो । ती हतियार कसले लग्यो भन्नेसमेत यकिन छैन् ।
वडा प्रहरी कार्यालय बगरबाट लुटिएकामध्ये ३०३ राइफल ८ नाल, हर्नेट राइफल ३ नाल, सर्टगन १ नाल, ग्यासगन १ र पेस्तोल ६ थान भेटिएको छैन् । यस्तै सिआरभी लामाचौर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट लुटिएकामध्ये १/१ थान पेस्तोल भेटिएको छैन् । प्रहरीसँग कति गोली थिए र कति लुटिए भन्ने पनि तथ्याङ्क आएको छैन ।
कास्की जिल्लाको प्रहरीको मुख्य कार्यालय जिल्ला प्रहरी कार्यालयमा नै आन्दोलनकारीले आक्रमण गरी नियन्त्रणमा लिएका थिए । त्योबाहेक वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सिआरभी र प्रहरी बिटमासमेत आन्दोलनकारीले आक्रमण गरि हातहतियार लुटपाट गर्दै आगजानी गरेका थिए । पोखरामा सबैभन्दा बढी क्षति वडा प्रहरी कार्यालय बगरमा भएको थियो । त्यहाँबाट ठूलो मात्रामा हतियार लुटिएको थियो । बगरमा ५२ जना प्रहरी कार्यरत रहेका थिए । हतियार लुटेसँगै त्यहाँ रहेका प्रहरीको र नियन्त्रणमा लिइएका सवारी साधनहरु पूर्ण रुपमा जलाइएका थिए भने केही चोरी समेत भएका थिए ।
पोखरा महानगरपालिकाबाट आगजानी सुरु गरेको आन्दोलनकारीले सबैजसो सरकारी निकायसंगै सुरक्षा निकायमा समेत आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले हतियार हराएको पुष्टि गरेपनि कतिमात्रामा फेला परेनन् भन्ने खुलाएनन् । ‘अझै फेला पर्न बाँकी छ, हाम्रा हतियार हराएका छन् । कसैले फेला पारेको भए वा देखेको भए प्रहरीलाई खबर गरिदिनुहोला,’ उनले भने । पोखरामा २७ वटा प्रहरी संरचनामा प्रहार भएको थियो ।
कास्कीमा जिल्ला प्रहरी मातहतका अस्थायी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, ट्राफिक पोस्ट, गरेर ५६ वटा प्रहरी यूनिट छन् । भदौ २३ गते पोखरामा ४ जनालाई गोली लागेको थियो । २४ गते समेत २ जनालाई गोली लागेको थियो । यस्तै २५ गतेसमेत १ जनालाई गोली लागेको थियो । जसमध्ये २ जनाको उपचार पछि डिस्चार्ज भइसकेको छ । अन्यको उपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार बन्दुुक लुट्नेको खोजी भइरहेको छ ।
२४ गते नदीपुरमा रहेको प्रहरी विट आगजनी पछि प्रदेशसभा जलाएपछि आन्दोलनकारी वडा प्रहरी कार्यालय बगर पुगेका थिए । त्यहाँ तोडफोड पश्चात उनीहरुले हतियार लुटेर आगजानी सुरु गरेका थिए । यस्तै साँझ परेपछि जिल्ला प्रहरी कार्यालय आक्रमण गर्न पुगेका थिए । त्यहाँ समेत आगजानी गरेका थिए । आगजानी गर्ने क्रममा एक आन्दोलनकारी जलेका थिए । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।





