पोखरा/म्याग्दीका दूरदराजका गाउँमा बेतारे इन्टरनेट पु¥याउँदा महावीर पुनको खुसीको सीमा थिएन । नहोस् पनि किन ? गाउँमा इन्टरनेट जो पुगेको थियो । इन्टरनेट गएपछि गाउँमा टेलिमेडिसिन सुरु भयो । गाउँलेले कम्प्यूटरमा सहरमा बस्ने डाक्टरको सुविधा पाए । बाल्यकाल भेंडीगोठमा बिताएका महावीर त्यसपछि चर्चित बने । त्यो चर्चाले उनलाई म्यागसेसे पुरस्कार पाए । महावीरले पुरस्कार पाए तर गाउँलेले इन्टरनेट पाए । हो,त्यही इन्टरनेटको प्रयोगसँगै हुर्केको पुस्ताले भदौ २३ गते सत्ताविरुद्ध जेहाज छेडे । सत्ता ढल्यो । सन् १९९७ पछि जन्मेको अर्थात् जेनजी पुस्ताले महावीरलाई रुचाए । उनी मन्त्रीमा सिफारिस भए । सोमबार उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सपथ लिएका छन् । र, सपथ लिनुअघि नै उनले भने ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्ने साह्रै रहर छ भने कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला ।’
म्याग्दीको नागी गाउँमा २०११ सालमा जन्मेका महावीर लजालु देखिन्छन्÷सुनिन्छन् । ७ कक्षा गाउँमै पढेपछि उनी खालीखुट्टा चितवन झरे । प्रविणता प्रमाणपत्र पढेपछि पढाउने काम गरे । ३३ वर्ष हुँदा उनलाई अमेरिकाको नेब्रास्का विश्वविद्यालयले छात्रवृत्ति दियो । सन् १९८९ मा उनले विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । पढाइ सकेको २४ वर्षपछि उनी पुनः गाउँ फर्किए । नागीमा हिमाञ्चल उमाविको स्थापना गराउन भूमिका खेले । शैक्षिक सुधारसँगै गाउँलेलाई स्वरोजगार बनाउन च्याउ खेती, अल्लोका लुगा, चिज, हाते कागज बनाउने तालिम दिन थाले । कम्प्यूटर सिकाउने काम पनि गरे । उनले गाउँलाई इन्टरनेटले जोड्ने सपना देखे । त्यो बेला म्याग्दीमा इन्टरनेट पुग्छ भन्ने कसैलाई विश्वास थिएन तर महावीरले ताररहीत इन्टरनेटले नागीलाई जोडे । उनको चर्चा चुलियो । सन् २००१ मा बीबीसीको सहयोग पाए । त्यसपछि युरोप र अमेरिकाबाट पनि उनको अभियानलाई सघाउने उपक्रम बढ्यो ।
नागीसहित सो क्षेत्रमा ताररहित इन्टरनेट चल्न थाल्यो । सोही योगदानको कदरस्वरुप उनलाई एसियाको नोबेल पुरस्कार मानिने ‘रोमन म्यागसेसे पुरस्कार’ प्रदान गरियो । त्यस्तै उनी ‘इन्टरनेट हल अफ फेम’, समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोस्टल अवार्डजस्ता विभिन्न सम्मान पनि उनले प्राप्त गरे ।
महावीर गाउँमै रोकिएनन् । उनले सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे र सूचना प्रविधिको विकास तथा सामान्य नागरिकको दैनिक जीवनमा प्रयोग हुने उपकरण निर्माणमा ध्यान दिए । उनी विभिन्न औजार र उपकरण बनाउँदै थिए,देशमा कोभिड आयो । कोभिडको बेला उनले सस्तोमा भेन्टिलेटर बनाएर नागरिकको जीवन बचाउन सघाए । भन्नेहरुले महावीरलाई बिग्रेका सामानहरु जम्मा गर्दै त्यसलाई ठोकठाक गर्ने व्यक्तिको रुपमा पनि अथ्र्याए । तर, अर्काले हियाउँदा पनि उनी रोकिएनन् । कसैले सहयोग नगरे एक्लै अगाडि बढ्छु भन्ने अठोट लिएका उनले अवार्ड र मेडल बेचे । आत्मकथा लेखे र त्यसलाई बेच्ने जुक्ति लगाए । उनको आत्मकथा राम्रै बिक्री भयो । त्यो रकम उनले आविष्कार केन्द्रमा लगायो । आविष्कार केन्द्रको लागि गण्डकी प्रदेश सरकारले पनि रकम दिने प्रतितवद्धता जनाएको थियो । तर, सरकारले रकम नदिएको उनको दुखेसो छ । उनले त्यो विषयलाई लिएर आन्दोलन पनि गरेका थिए, सहमति पनि भएको थियो तर अहिले चाहिँ उनी आफैं मन्त्री बनेका छन् । आफ्नो हातमा डाडुपन्यू परेको छ । अव उनी आलोचन गर्नेभन्दा पनि आफ्ना र जेनजी पुस्ताको सपना पूरा गर्ने ठाउँमा छन् ।





