काठमाडौं/ तुइनखोलामा भयंकर सुक्खा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो पहिरो खसेको हो ।
यस अघि सोही स्थानमा यसअघि खसेको पहिरोले ४५ घन्टा सडक अवरुद्ध भएको थियो । पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन । सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।
यसविषयमा निर्णय लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए । सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए । पहिरो निरन्तर खसिरहेकोले तत्काल पन्छाउन सक्ने सम्भावना नरहेको उनले बताए ।
तुइनखोलामा शुक्रबार साँझ ६ बजेदेखि खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो ।





