पोखरा/युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागीबाट वडा कार्यालयहरु पूर्ण रुपमा क्षति भइ जनताको काममा अफ्ठ्यारो सिर्जना भएपछि क्लबले आफ्नो विपद ब्यवस्थापन कोषअन्तर्गत् कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
मंगलबार पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङल तथा १२ का अध्यक्ष सन्तोष बास्तोलागायतका जनप्रतिनिधिहरुलाई युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना,द्वितीय उपाध्यक्ष तथा विपद् ब्यवस्थापन समिति संयोजक सूर्यबहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य,सचिव सन्तोष कार्की, कार्यसमिति सदस्य पूर्णकुमार श्रेष्ठ लगायतको टोलीले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । वडा नम्बर १२ लाई कम्प्यूटर हस्तान्तरण गर्दा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख अतिथि थिए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरको मुख्य कार्यालयसँगै बजार क्षेत्रका अधिकांश वडाहरु पूर्ण रुपमा क्षती भएको अवस्थामा हरेक वडाहरुले जस्तै वडा नं १२ ले समेत स्थानियको सहभागितामा सहयोग संकलन गरी वडाको पुनः निर्माणमा लागेकोमा स्थानीयहरुप्रति आभार प्रकट गरे ।
महानगरले विभिन्न दातृ निकायहरुबाट सहयोग लिएर विकासको काम अगाडी वढाइरहेको स्मरण गराउँदै मेयर आचार्यले स्थानियहरुले पहिलो सेवा लिने कार्यालय आफ्नो वडा कार्यालय भएकाले त्यसको मर्मतका लागि स्थानीयको मुख्य भुमिका रहने बताए । सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरुलाईसमेत मेयर आचार्यले धन्यवाद ब्व्क्त गर्दै जेन्जीको नाममा भएको भौतिक संरचनामा क्षती पु¥याउने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने बताए ।
त्यस्तै वडास्तरीय पुननिर्माण मूल समितिका संयोजक टीकाबहादुर कार्कीले गत २४ गते वडामा भएको क्षतीले आफुहरु निकै मर्माहित बनेको बताउदै आफ्नो वडा आफैले बनाउनुपर्छ भनेर वडा भित्रका संघ संस्था र सहयोगी मनहरुबाट हालसम्म १० लाख नगद र जिन्सी सामग्री कम्प्युटर र प्रिन्टर सहयोग प्राप्त भएको बताए ।





