बागलुङ/बागलुङ नगरपालिका १० की सिर्जना थापाले चाहेर पनि गाउँबाट बाल बिवाह हटाउन नसकेको गुनासो गरिन् । उनले सामान्य सम्झाइ बुझाइले यो अबस्था नहटेको अनुभव सुनाइन् ।
बीस बर्ष नपुगी विवाह गर्न पाईदैन भन्ने कानूनी प्रावधान र त्यस कसुरको कारवाही बारे बल्ल प्रष्ट बुझ्न पाएको उनले बताइन् । ‘कान्रूनले के सजाएको व्यवस्था गरेको छ भन्ने कुरा बल्ल बुझ्न पायौं, अब समाजमा सन्देश फैलाउन सकिने छ,’ उनले भनिन्,‘बिद्यालय उमेरका बालबालिकालाई बाल विवाहको समस्या, कानूनी प्रावधान बारे अब बुझाउन जरुरी छ ।’ गत बर्ष बालमैत्री नगर घोषणा गरेर पनि बाल विवाहको चुनौती रहेकोले कानूनको जानकारीबाट मात्र न्यूनीकरण गर्न सकिने उनले बताइन् ।
स्थानीय मौषम थापाले छिमेकीले विवाह दर्ता नगर्दा भोगेको सास्ती, बहुविवाहपछि जन्मेका बालबालिकाको भविष्य अन्यौल भएको, लेनदेनमा सास्ती भोगेर कतिपयको घरबार बिग्रेको र फोनमा कुरा गरेको कारण आएका चुनौती थेग्न नसकी कतिपय युवायुवतीले आत्महत्यासम्म गरेको घटनाहरुले ग्रामीण बस्तीमा सही परामर्शको आवस्यकता देखिएको बताए ।
नेपाल बार एसोसिएसन उच्च बार इकाई बागलुङले वडा नं. १० को सहकार्यमा आयोजना गरेको कानूनी सचेतना कार्यक्रममा भाग लिएका सहभागीले समाजमा आइपरेका बालविवाह, बहुविवाह, सम्पत्ति, लेनदेनका समस्या, बैंकिङ कसुर र साइवर अपराध लगायतका धेरै कानूनी झन्झटमा परेको र त्यसको समाधानको लागि कानूनी शिक्षा चाहिएको बताए । बारले गरेको सचेतनाले केही मात्रामा समस्या समाधानमा सहयोग गरेको बताए ।
कानून थाहा नपाएको कारण आइपरेका दर्जनौं घटनाले समाज आक्रान्त बनिरहेको उनीहरुको भनाइ थियो । राजनीतिक परिवर्तनले एक प्रकारको चेतना विकास भए पनि कानून, न्याय तथा सामाजिक चेतनाको विकास भइसकेको उनीहरुको भनाइ थियो । बालमैत्री नगर घोषणा भएपनि बालविवाह नघटेको, बालबालिकाले उचित शिक्षा नपाएको समस्याबारे पनि सहभागिले बताए ।
महिला अधिकारको धेरै चर्चा भएर पनि बहुबिबाहले समाजमा अझै जरो गाडिरहेको, गैरकानूनी रुपमा बहुविवाह गरेकाहरुबाट महिला पीडित भएको, सम्पत्तिको अधिकार नपाएको जस्ता धेरै बिषय समेत सहभागीले उठाए । वडा नंं १० का सबै टोल विकास समितिका पदाधिकारी, महिला समूहका पदाधिकारी, बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्यसमेतलाई बार एसोसिएसनले कानूनी सचेतना कार्यक्रम चलाएको थियो ।
बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले सम्पत्ति कानूनको विषयमा प्रशिक्षण गराएका थिए । उनले व्यक्तिगत, सामुदायिक र सरकारी सम्पत्ति बारे जानकारी गराएका थिए । अर्का बरिष्ठ अधिवक्ता भूमिश्वर शर्मा गौतमले विवाह, सम्बन्ध बिच्छेद, घटना दर्तालगायतका बिषयमा जानकारी गराए । उच्च बार इकाई बागलुङका सचिव उमाशंकर सापकोटाले बैंकिङ कसुर र साइवर क्राइमबारे जानकारी गराए भने केन्द्रीय पार्सद हरिप्रसाद गौतमले लागुऔषध दुव्र्यसन, ओसार पसार लगायतको बिषयमा प्रशिक्षण गरे । उनले लागूपदार्थ सेवनकर्ता बिक्रीकर्ता र ओसारपसार कर्तालाई हुने कानूनी सजाए र त्यसबाट समाजमा परेको असर बारे जानकारी गराए ।
लागुऔषधको कारोबार सामाजिक अपराध भएकोले जघन्नय रुपमा लिने गरेको तथा त्यसबाट युवा पुस्ता समस्यामा परेको उनको भनाइ थियो । त्यसको न्यूनीकरणकालािग सचेतना अभियान नै चाहिएको सहभागीले बताए ।
बागलुङ नगरपालिका वडा नंं १० का अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता, उच्च बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीषको स्वागत र सचिव उमाशंकर सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । बारले जिल्लाका दशवटै पालिकाको वडा तहमा पुगेर कानूनी सचेतना अभियान चलाउने निर्णय गरेको श्रीषले जानकारी दिइन् ।





