बागलुङ/घटस्थापनादेखि नै गलकोटस्थित कोटघरमा दशैंको चहलपहल सुरु भएको छ । चौबीसेमध्येको गलकोट राज्यको केन्द्र रहेको कोतघरमा फूलपातीदेखि त भक्तजन र पर्यटकको घुईचो नै लाग्छ । चैतेदशंै र वडा दशैंमा कोतघरमा विशेष पूजा तथा मेला लाग्ने भएकोले गलकोट क्षेत्रका सयौं भक्तजन र पर्यटक यहाँ पुग्ने गरेका छन् ।
झण्डै दुइ सय वर्ष पुरानो कोतघर गत वर्ष पुननिर्माण गरेपछि नियमित जाने पर्यटकसमेत बढेका छन् । धार्मिक गन्तव्यको रुपमा पनि विकास भैरहेको छ । कोतघरमा ऐतिहासिक दस्तावेजको संरक्षण गर्ने, पर्यटक भित्र्याउने र साँस्कृतिक महत्वलाई निरन्तरता दिने गरी पुननिर्माण गरिएको थियो ।
नेपाली सेना र गलकोट नगरपालिकाले कोतघर संरक्षण गरेर पुनर्निर्माण गरी चिटिक्क पारेको छ । यहाँ पर्यटकीय महत्वका अन्य संरचना पनि बनाइएको हो । चैतेदशै र बडादशैंमा विशेष पूजा र मेला लाग्ने यो कोतघर पुग्दा चौबीसे राज्यको झल्को आउँछ ।
गलकोट नगरको अधिकांस क्षेत्र देखिने कोतघर नजिकै कालिका मन्दिर मर्मत गरिएको छ । यहाँ अजंगका दुइ खुँडा र दुई खुकुरी छन् । नगरपालिकाले कोतघर पुग्ने सिंढीमार्ग पनि बनाएको छ । रेलिङसहितको मार्गले आर्कषक देखिन्छ । यो अभियानमा केही वर्ष अघिदेखि स्थानीय युवाले चासो दिएका थिए । वडा कार्यालयले कोतघर संरक्षणलाई आफ्नो गौरवको योजनामा समावेश गरेको थियो । नगरपालिकाले पनि कोतघर नगरको अस्तित्वसँग जोडिएकोले लगानी गरेर मर्मत गरेको हो ।
मध्यपहाडी लोकमार्गदेखि ६ किमी सडक पार गरेर कोतघर पुग्न सकिन्छ । कोतघर पुग्ने सडक स्तरीय बनाउने काम सुरु भएको छ । सहरी विकास आयोजनामार्फत कोतघरको एक किमी सडक कालोपत्रे गरिंदैछ । चालु वर्षभित्रै उक्त सडक कालोपत्रे हुने बागेश्वरी निर्माण सेवाका साइट इनचार्ज सन्तोष तामाङले बताए । बाँकी खण्ड व्यवस्थित बनाउन पनि नगर र अन्य निकायको समन्वय भैरहेको वडा अध्यक्ष फमबहादुर खत्रीले बताए ।
यसअघि गण्डकी प्रदेश सरकार र नगरको साझेदारीमा ५० लाख खर्चेर सडक मर्मत भैसकेको थियो । नगरपालिकाको २० लाख, सेनाको श्रमदान र अन्य लगानी गरी १५ लाख बराबरको लगानीमा कोतघरको संरक्षण भएको छ । त्यसबाहेक सिंढी निर्माणमा नगरको १० लाख रुपैयाँ खर्च भैसकेको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १० लाख रुपैयाँले सिंढी र अन्य संरचना निर्माणमा खर्च गरिएको थियो ।
‘सडकको केही खण्डमा नाली र कल्भर्ट समेत निर्माण भैसकेको छ, आगामी वर्षसम्म सबै सडक स्तरीय बनिसक्छ,’ उनले भने, ‘पर्यटनको दृष्टिले पनि यो स्थान महत्वपूर्ण छ ।’ कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउ“पालिकाको केही खण्ड समेत देखिन्छ ।
सेनाले नै कोतघरलाई रंगरोगन गरिदिएको थियो । हाल यहाँ फूलवारी बनाइएको छ । गलकोटे राजाले प्रयोग गरेका तीनसय बर्ष पुराना हतियार समेत यहाँ सुरक्षित छन् । ‘यी सबै सामान पुरातात्विक हुन्, त्यसैले संरक्षणको योजना बनाइएको हो,’ वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘चैतेदशैमा लाग्ने मेलाले यो स्थानको महत्व दर्शाउँछ ।’ चैतेदशैंकालागि कोतघर रंगरोगन पनि गरिएको छ ।
गलकोटका पहिलो राजा जितेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ । नेपाल एकीकरण पूर्व बिसं १८४४ सम्म यो राज्य स्वतन्त्र थियो । २०१७ सम्म गलकोट रजौटाको रुपमा चिनियो । २०१९ सम्म सदरमुकामको रुपमा गलकोटमा प्रशासनिक इकाइको रुपमा थियो । प्राचीन समयदेखि नेपाल एकीकरण पूर्व (वि.स.१८४४) को अवधिसम्म यो एउटा स्वतन्त्र राज्यका नामले परिचित थियो । वि.सं. २०१७ सम्म पनि यो एउटा रजौटाअन्तर्गतको राज्य नै रह्यो । २०१९ सालसम्म पनि बागलुङ जिल्लाका मुख्य प्रशासनिक एकाइहरु गलकोटमै रहेका थिए । पछि त्यहाँका प्रशासनिक एकाइहरु बागलुङ बजारमा सारियो । उक्त बिरासत झल्काउन कोतघर संरक्षण र पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याएको पूर्ववडाध्यक्ष बीरजंग भण्डारीले बताए ।
वडादशै र चैतेदशैमा सयौं भक्तजन पूजा गर्न पुग्छन् । नित्य पूजा भने स्थानीयले गर्छन् । कोटमैदान गाउँका ५० घरले अपनत्व लिएर संरक्षण र पूजा गर्ने काम गरिरहेका छन् । यहाँ दूरबिन राखेर सबैतिर हेर्ने व्यवस्थाकालागि तयारी छ । शिलालेख राखेर आउने पर्यटकले पढ्ने र गलकोटको इतिहास थाहा पाउने व्यवस्थाकालागि पनि तयारी भएको हो ।
गलकोट राज्यको कोत रहेको स्थान गोलोघर थियो । त्यसैले गोलोकोत भन्ने शब्द अपभ्रंश भएर गोलकोत र गलकोट भएको ऐतिहासिक दस्जावेजमा उल्लेख छ भन्छन् धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. दीनबहादुर थापा ।





