पोखरा/ दसैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छनै । योसंगै पोखरा तथा आसपासको क्षेत्रमा दसैको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको मासु पनि थपिन्छ । दसैमा उपभोक्ताको पहिलो रोजाईमा च्यांग्रा पर्छ । ‘च्यांग्रा घरमा हुलेपछिमात्रै दशै आएजस्तो हुन्छ,’ स्थानीय भन्छन्, ‘दसैं र च्यांग्रा पर्याय भएका छन ।’
खसीबोकाको मासु जहिल्यै खाइने तर वर्षको एकपटक आउने अवसर भन्दै च्यांग्राको मासु खाने संस्कृति पछिल्लो समय बढेको छ । परिवारजन, आफन्तजन, ईष्टमित्र भेला हुने, दुःख बिर्सने, मिठो खाने, रमाइलोसमेत गरिने दसैंमा मासु मुख्य खानेकुरामा पर्छ । त्यसमा पनि गण्डकी प्रदेशमा च्याङ्ग्रा खाने संस्कृतिको बिकास भइसकेको छ ।

यतिबेला पोखराको सिमपानीदेखि जौबारीहुदै याम्दीसम्मको मध्यपहाडी राजमार्ग (पोखरा–बागलुङ राजमार्ग) को करीव २ किलोमिटर सडक खण्ड च्यांग्रा र भेंडामय छ । च्यांग्राका बथान, किन्ने ग्राहक, किनेर डो¥याउने र सवारी साधनमा राखेर हिड्ने ग्राहकका कारण एकप्रकारको मेला नै लागेको छ । ‘सधै खाईरहेकाले यसपटक पनि छुटाउन भएन,’ पोखरा बिरौटाका अम्बरबहादुर कार्कीले भने, ‘त्यही भएर किन्न आएको ।’ उनले ४२ हजार रुपैयाँमा च्यांग्रा किने । जडिबुटी, चिसोपानी खाएको च्यांग्राको मासु स्वास्थ्यका लागि पनि राम्रो मानिने भन्दै उपभोक्ताको रोजाईमा परेको हो ।

पोखरा र आसपासका क्षेत्रमा दसैैंका लागि मुस्ताङ, डोल्पा, बझाङ, बाजुरा तथा तिब्बतबाटसमेत च्यांग्रा र भेंडा आउछन । यतिबेला यसबेला च्यांग्राको करोडौं रुपैयाँको कारोवार हुन्छ । यसपाली कति भेंडाच्यांग्रा आए भन्ने यकिन तथ्यांक कसैसंग छैन । ७ वर्षदेखि च्यांग्राको व्यापार गर्दै आएका मुस्ताङका पेम्बा गुरुङले यसपटक पनि ८५ च्यांग्रा ल्याएका छन् । दशैका बेला पोखरा र आसपासका क्षेत्रमा च्यांग्राको व्यापार राम्रै हुने भएकाले यो व्यवसायमा लागेको उनले बताए । ‘हिमाली क्षेत्रबाट बेंशी झरेर बिक्री गर्ने उपयुक्त मौसम र र ठूलो पर्वसमेत पर्ने भएकाले च्यांग्राको व्यापार राम्रो हुने भएकाले यसमा लागेको हु’ उनले भने ।

तस्बिरहरु लालप्रसाद शर्मा र विजय नेपाली





