बागलुङ / यहाँका दुई युवा व्यवसायी मिलेर बजार सरसफाईको अभियान थालेका गरेका छन् । उनीहरूले बागलुङ बजार सरसफाई गरेर सडक र चोकमा फूलसहितका गमला राख्नेदेखि सडकका खाल्डाखुल्डी पुर्नेसम्मका काम गरेका छन् । सरसफाईसंगै उनीहरुले सडक किनारामा फोहर संकलनका लागि डस्टबिन व्यवस्थापन समेत गरेका छन् ।
बजारको सिर्जना फर्निचर उद्योगका विराट हरिजन र सगरमाथा इङ्क हाउसका नैबेद्य सिग्देलले आफुहरुले मिलेर स्वंयसेवी रूपमा बजारको सरसफाई, खाल्डाखुल्डी पुर्नेदेखि र सौन्दर्यीकरण गर्ने अभियान सुरू गरेका हुन् ।
वर्षातका बेला सडकमा परेका खाल्डाखुल्डी पनि युवाहरूले आफ्नै लगानीमा पुरेका छन् । ‘सिमेन्ट, बालुवा आफै किनेर काम गरेका छौं’, युवा व्यवसायी नैवेद्यले भने, ‘खासमा यो काम नगरपालिकाले गर्नुपर्ने हो, तर स्थानीय सरकारले बेवास्ता गरेपछि हामी आफै कस्सिएका हौं ।’
यो कामलाई निरन्तरता दिने र केहि दिनमानै बिग्रीएका सडक बत्ति पनि पुनः जडान गर्नको लागि आफुहरुले मगाइसकेको नैबेद्यले बताए । बागलुङ बजार प्रवेश गर्ने मुख्य चोक ट्राफिकचोकमा नै फोहोर र खाल्डाखुल्डी देखेपछि आफुहरुले यो कामको सुरुवात गरेको हरिजनले बताए ।
पहिलो चरणमा ट्राफिकचोक, समीक्षालय रोड र उद्यानलगायतका क्षेत्रका खाल्डाखुल्डी पुर्ने, सडक सफाइ र गमला राख्ने काम गरिएको र अब बागलुङ बजारका मुख्य सबै सडकमा सरसफाइको काम गर्ने योजना रहेको उनले बताए ।





