काठमाडौं/नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् ।
खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो । युवा संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’
उनले सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे । ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले भने ।
बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने पनि बताएका छन् । ‘संसद् पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं,’ बस्नेतले भने, ‘पार्टीले आधिकारिक ढंगले जाने अथवा कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा हामी अन्तिम छलफल गर्दैछौं ।’





