बागलुङ/आगामी फागुन २१ गते हुने निर्वाचनमा दलीतहरुको आफ्नै नेतृत्व आउने गरी दल खोल्ने तयारी रहेको ‘दलीतका लागि दलीत अभियान नेपाल’का संयोजक खगेन्द्र बिकले बताएका छन् । उनले दलीतहरु एकजुट भएर आफ्नो अधिकार खोज्ने, वर्षौदेखी दलिएकाहरु एक भएर निर्वाचनमा होमिंदा राज्यको नेतृत्वमा पनि दलीत पुग्ने बताए ।
दलीतका लागि दलीत अभियान नेपाल, बागलुङको आयोजनामा भएको कार्यक्रममा आएका बिकले पुराना दलहरुको अस्तित्व सकिएको, उनीहरुले दलीतका लागि केही काम गर्न नसकेको भन्दै अब भने दलीत एक भएर सिंहदरबारको नेतृत्व गर्ने दाबी गरे । उनले अझै समय रहेकोले दलीतको एउटै अभियान र दल बनाएर निर्वाचनमा जाने बताए ।
नेपालभर ८० लाख दलीत रहेको, विदेशमा समेत २० लाख दलीत रहेकोले एक भएर अगाडि बढेमा त्यसले दलीतको अधिकार सुरक्षा गर्न पहल पुग्ने पनि बताए । ‘अहिलेसम्म धेरै दलीत कांग्रेस, एमाले र माओवादी भए, तर नेतृत्वमा लगेनन्’ उनले भने, ‘भएको नेतृत्व पनि क्रमशः घटेर गयो, अहिले त शुन्य भैसके ।’ अब प्रतिनिधित्व बढाएर दलीतको वास्तविक अधिकार स्थापित गर्न यो अभियान चलाएको उनले बताए ।
दलीतलाई सामाजिक रुपमा दवाइएकोले रुकुममा नवराज बिक सहितका युवा मारिएको, तराइमा हरेक घटनामा दलीतहरु माथि हिंसा भएको उनले दृष्टान्त सुनाए । त्यसैले दलीत नेतृत्व स्थापित नभएसम्म समाजबाट त्यस्ता हिंसा अन्त्य नहुने उनको जिकिर छ ।

त्यस्तै राजनीतिक दलभित्र पनि नेतृत्वमा लैजान दलीतलाई स्थान नदिएकोले बिद्रोह गर्नुपरेको बताए । उनले अझैपनि पार्टीभित्र नेतृत्वका लागि पहल गर्न समेत उनले आग्रह गरे । ‘पार्टीभित्र पनि पहल गर्नुहोला, तर यो पटक सबै दलीत एकैठाउँमा उभिनुपर्छ’ उनले भने, ‘एक थान मन्त्री दिने गरी जाने होइन, अब दलीतकै सरकार, दलीतकै प्रधानमन्त्री बनाउने हो ।’ राजनीतिक परिवर्तनको कुरा गरेकोले कतिपय दलले भेलामा नजान समेत दबाव दिएको उनले बताए । जातीय पार्टी भने नबनाउने उनले जिकिर गरे ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनले पुराना दल र भ्रष्टाचारलाई अन्त्य गरेको भन्दै अब नयाँ ढंगले राज्य संचालन गरिने पनि उनले बताए । उक्त आन्दोलनलाई संस्थागत गरेर अब नयाँ कोर्समा देशलाई लैजानुपर्ने पनि बताए ।
पत्रकारितामार्फत अभियानकर्मी बनेका सुनार राजनीतिक, सामाजिक र समसामयिक बिषयमा बिद्रोहीको रुपमा पनि चिनिन्छन् । उनले लामो समयदेखि काठमाण्डौंको माइतीघरमा पनि सांकेतिक आन्दोलन गर्दै आएका थिए ।
कार्यक्रममा दलीतका लागि दलीत अभियानका सल्लाहकार दधिराम परियारले पनि यो अभियान जोगाउन पार्टी खोलेर अगाडि जानुपर्ने सुझाव दिए । उक्त सुझावसहित सबै जिल्लाबासीको विश्वास लिएर निर्वाचनमा जान पनि सुझाए ।
दलीतका लागि दलीत अभियान बागलुङका संयोजक हरि रुचालको अध्यक्षता, कृष्ण संयोगको संचालन र शान्ता नेपालीको स्वागतमा सम्पन्न कार्यक्रममा दलीत युवा संजालका अध्यक्ष राहुल बोहोरा, अभियानका गण्डकी प्रदेश अध्यक्ष दिपक लामगाडे, उत्पीडित दलीत समुदायको संजाल बागलुङका महासचिव सिताराम रसाइली, अभियानकर्मी लक्ष्मण श्री लगायतले मन्तव्य राखेका थिए ।
अभियानलाई मजबुत बनाउन वृहत अन्तरक्रिया गरेर आगामी निर्वाचनमा जानका लागि दल बनाउने वा मोर्चामार्फत जाने बिषयमा समेत छलफल भैरहेको सहभागिले बताए ।





