सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८२, बिहिबार

काठमाडौं / गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको किटानी जाहेरी प्रहरीमै फिर्ता गरेको छ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले ओली–लेखकविरुद्ध दिएको किटानी जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै मंगलबार काठमाडौँ प्रहरी परिसरले आयोगमा पठाएको थियो।

तर, आयोगले बिहीबार फौजदारी कसुरको नियमित छानबिन र अभियोजनको काम आफ्नो नभएको भन्दै जाहेरी फिर्ता गरेको हो।

जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै फौजदारी कसुरको विस्तृत अनुसन्धान र अभियोजन आफ्नो काम नभएकाले प्रहरीबाट गर्न भनेको हो। उसले फौजदारी कसुरका सम्बन्धमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ।

शर्माले भनेका छन्, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन। फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ। फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौँमा फिर्ता पठाइदिने।’

प्रहरी परिसरमा ज्यान गुमाएकाहरूको परिवारबाट पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले संयुक्त रुपमा ओली–लेखकविरुद्ध किटानी जाहेरी दिएका थिए।

ओली–लेखकविरुद्ध जाहेरी परेपछि एमालेका कार्यकर्ताले बालेन र सुधन गुरुङविरुद्ध पनि काउण्टर जाहेरी दर्ता गरेका छन्।

भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तत्कालै १९ जना र बाँकीको उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेको संख्या हालसम्म ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->