जेरुसलेम/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले गाजामा रहेका सबै जीवित बन्धकहरू हस्तान्तरण गरेको र त्यसको साटो प्यालेस्टिनी कैदीबन्दीहरूलाई छोडिएको इजरेली सेनाले जनाएको छ ।
उक्त योजना स्वीकार गर्दै इजरेल र हमासले शुक्रवार मध्याह्नदेखि गाजामा सङ्घर्षविराम गरेका थिए । त्यससँगै गाजा स्ट्रिप जाने सहायता सामग्रीको आपूर्ति यो सप्ताहान्तदेखि बढेको छ । पहिलो चरण सम्पन्न भएपछि अरू चरणको विषयमा छलफल हुने ठानिएको छ । बन्धक र कैदीबन्दी साटफेर भएपछि गाजा र इजरेल दुवैतीर अहिले उत्सव मनाइएको छ । पारिवारिक पुनर्मिलन भएपछि सम्बन्धित व्यक्तिहरू निकै भावुक र खुसी देखिएका छन् ।
दुई पक्षबीच सहमति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सोमवार इजरेल ओर्लिए । त्यसपछि उनी गाजा शान्ति योजनाका अरू चरणबारे मध्यपूर्वका नेताहरूसँग छलफल गर्न इजिप्ट गए । त्यहाँ आयोजित शिखर सम्मेलनमा इजिप्ट, कतार, टर्की र अमेरिकाले गाजा सङ्घर्षविराम सहमतिको सुनिश्चितकर्ताका रूपमा एउटा घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमतिको उद्देश्य गाजा युद्ध अन्त्य गराउनु हो ।
मुक्त भएका बन्धकहरू को हुन्
संघर्षविरामका बेला हमासले दुई वर्षदेखि आफ्नो नियन्त्रणमा राखेका केही विदेशीसहित सबै ४८ बन्धक मुक्त गर्नुपर्ने सहमति भएको थियो । तीमध्ये केवल २० जना जीवित भएको पुष्टि भएको छ । उनीहरू सबैलाई हमासले सोमबार मुक्त गरिसकेको छ । दुई वर्षअघि ७ अक्टोबर २०२३ मा हमासले इजरेलमा आक्रमण गर्दा कैयौँ विदेशी नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो । तीमध्ये १० जना नेपाली पनि थिए । सोही दिन लडाकुहरूले २५० जनालाई बन्धक बनाएर गाजातिर लगे । तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि थिए ।
उक्त घटनाको जबाफ दिन इजरेलले गाजामा सैन्य कारबाही थाल्यो । दुई वर्षको अवधिमा गाजामा ६७,००० जनाभन्दा बढीको मृत्यु भएको गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुक्त भएका सबै जीवित बन्धक इजरेली हुन् । उनीहरूलाई गाजाका दुई भिन्नाभिन्नै ठाउँबाट अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीलाई हस्तान्तरण गरिएको थियो । उनीहरू इजरेल फर्किसकेका छन् ।
सहमतिअनुसार मृत्यु भइसकेका बाँकी बन्धकको अवशेष पनि सोमबार अपराह्णसम्म बुझाइसक्नुपर्ने थियो । तर दुवै पक्षले हमास र अन्य प्यालेस्टिनी लडाकु समूहका लागि त्यो समयसीमाभित्र मृतकका अवशेष भएको ठाउँ पत्ता लगाउन कठिन हुन सक्ने कुरा स्वीकार गरेको छ ।
हमासले सोमवार चार जनाको अवशेष भएको शवपेटिका हस्तान्तरण गरेको छ । त्यसअघि हमासले विपिन जोशीसहित चार जनाको शव बुझाउने जनाएको थियो । शव फिर्ता नभएका मृतकका अवशेष खोज्न एउटा अन्तर्राष्ट्रिय कार्यदल बनाइने एक इजरेली अधिकारीले बताएका छन् ।
इजरेलले छोडेका प्यालेस्टिनीहरू को हुन्
बन्धकहरूको मुक्तिका लागि आजीवन कारावासको सजाय पाएका २५० प्यालेस्टिनी कैदी र गाजाबाट हिरासतमा लिइएका १५ नाबालिगसहित १,७१८ जनालाई छोड्न सहमति भएको थियो । मुक्त हुन लागेका प्यालेस्टिनीहरूको नामसहितको सूची हमासले सोमवार बिहान अद्यावधिक गरेको थियो ।
उक्त सूचीमा मार्वन बर्गूटी र अहमद सादतजस्ता व्यक्तिको नाम छैन । इजरेलमा घातक आक्रमण गरेको अभियोगमा उनीहरूले जन्मकैद पाएका छन् । इजरेली सञ्चारमाध्यममा गत साता प्रकाशित विवरणअनुसार २५० कैदीमध्ये झन्डै १०० जनालाई वेस्ट ब्याङ्क, १५ जनालाई ईस्ट जेरुसलेम र १३५ जनालाई गाजा स्ट्रिप वा अन्यत्र मुक्त गरिने उल्लेख थियो ।
इजरेलको कारागार विभागले १,९६८ प्यालेस्टिनीलाई छोडिएको जानकारी सोमवार अपराह्ण दिएको छ । मुक्त भएका प्यालेस्टिनीहरूको गाजामा चिकित्सकीय उपचार र परीक्षण थालिएको हमासले जनाएको छ ।
अब के हुन्छ
इजरेली बन्धकहरू मुक्त हुनुअघि ट्रम्पको योजनाअनुसार इजरेली सैनिकहरू गाजामा आफ्नो नियन्त्रण ५३ प्रतिशत मात्रै कायम हुने गरी केही पछि हटे । विभिन्न देशका झन्डै २०० सैनिक भएको र अमेरिकी सेनाको सुपरिवेक्षणमा हुने एउटा टोलीले गाजाको संघर्षविरामको निगरानी गर्ने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । उक्त टोलीमा इजिप्ट, कतार, टर्की र यूएईका सैनिकहरू हुने ठानिएको छ ।
अमेरिकी अधिकारीहरूले अमेरिकी सैनिकहरू गाजाको भूमिमा नजाने बताएका छन् ।
ट्रम्पको बीसबुँदे योजनामा उक्त प्रस्तावमा दुवै पक्ष सहमत भएमा युद्ध ‘तत्काल अन्त्य हुने छ’ लेखिएको छ । त्यसमा गाजालाई सैन्यमुक्त क्षेत्र बनाइने र सबै ‘सैन्य, आतंक र आक्रमणका लागि प्रयोग गरिने संरचनाहरू’ नष्ट पारिने उल्लेख छ ।
उक्त योजनानुसार गाजामा प्यालेस्टिनी प्राविधिक विज्ञहरूको नेतृत्वमा गठित एउटा अस्थायी सङ्क्रमणकालीन समितिले शासन गर्ने अनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यक्षता र ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेअर पनि संलग्न हुने ‘बोर्ड अफ पीस’ले उक्त समितिको निगरानी गर्ने छ ।
प्यालेस्टिनी प्राधिकरणमा सुधार गर्दै गाजा स्ट्रिपको अन्ततः उसलाई हस्तान्तरण गरिने छ । उक्त योजनानुसार गाजाको प्रशासनमा हमासले कुनै खालको भूमिका पाउने छैन। शान्तिपूर्ण सह–अस्तित्वप्रति वचनबद्धता व्यक्त गरे हमासका सदस्यहरूलाई आममाफी वा अन्य देशमा सुरक्षित रूपमा जाने अवसर दिइने छ ।
कुनै प्यालेस्टिनीलाई गाजा छोड्न बाध्य पारिने छैन भने बाहिर जान चाहने व्यक्तिहरूलाई फर्किन रोकतोक हुने छैन । विज्ञहरूको एउटा समितिले ‘गाजा पुनः निर्माण गर्न ट्रम्प आर्थिक विकास योजना“ तयार पार्ने छन् ।
विवाद निम्त्याउन सक्ने विषय के हुन्
सहमतिका अन्य चरणहरूमा हुने वार्ताका क्रममा केही विषयमा विवाद हुने सम्भावना छ । हमासले हतियार बिसाउन अस्वीकार गर्दै आएको छ । प्यालेस्टिनी राज्य स्थापित भएपछि मात्र आफूले अस्त्रशस्त्र त्याग्ने हमासको पुरानो अडान छ । ट्रम्पले अघि सारेको योजनाबारे गत साता प्रतिक्रिया व्यक्त गर्दा हमासले निरस्त्रीकरणबारे कुनै टिप्पणी गरेन। त्यसबाट उसको धारणामा कुनै परिवर्तन नआएको ठानिन्छ ।
इजरेल यो योजनामा पूर्णतः सहमत भए पनि युद्ध टुङ्गिएपछि गाजामा प्यालेस्टिनी प्राधिकरण संलग्न हुने विषयमा नेतन्याहूले विमति प्रकट गरेका छन् । गत साता डोनल्ड ट्रम्पलाई भेट्दा उनले प्यालेस्टिनी क्षेत्रको शासनव्यवस्थामा प्यालेस्टिनी प्राधिकरण सहभागी हुन नपाउनेमा जोड दिए ।
हमासले ‘एकीकृत प्यालेस्टिनी आन्दोलन’को अङ्गका रूपमा भविष्यमा आफूले गाजामा केही भूमिका पाउने आशा राखेको छ । विवाद उत्पन्न हुन सक्ने अर्को विषय चाहिँ इजरेली सेनाको फिर्ती हो । इजरेलले गाजाको ५३ प्रतिशत भूभाग नियन्त्रणमा हुँदा सैनिकहरूलाई प्रथम चरणमा फिर्ता गर्ने जनाएको थियो । ह्वाइट हाउसको योजनामा थप सैनिकहरू क्रमशः ४० प्रतिशत अनि १५ प्रतिशतको अवस्थामा फिर्ता हुने उल्लेख छ ।
अन्तिम चरणको फिर्ती चाहिँ ‘गाजालाई विद्रोही आतङ्कको जोखिमबाट पूर्णतः मुक्त गरेपछि’ मात्र हुने छ । तर यसमा निकै जटिल शब्दावली प्रयोग गरिएको छ र सबै सैनिकहरू फिर्ता गर्नका लागि स्पष्ट समयसीमा तोकिएको छैन। त्यसबारे हमासले स्पष्टता खोज्न सक्छ ।





