एन्डिज पर्वतमालादेखि हिमालयसम्म, संसारभर विरोध प्रदर्शनको एउटा नयाँ लहर फैलिएको छ, जसको मुख्य कारण सरकारहरूप्रति पुस्तागत असन्तुष्टि र युवाहरूबीचको आक्रोश हो ।
यस हप्ताको घटनामा, माडागास्करका राष्ट्रपति एन्ड्री राजोइलिनालाई देश छोड्न र सत्ताबाट हट्न बाध्य पारियो । यो घटना सैन्य विद्रोहको परिणामस्वरूप भएको थियो । जुन आफैँलाई ‘जेनजी मेडागास्क’ भन्ने युवा प्रदर्शनकारीहरूको हप्तौँ लामो आन्दोलनको अन्तिम चरण थियो ।
हिन्द महासागरको यस टापु राष्ट्रमा राजनीतिक प्रतिष्ठानविरुद्धको आक्रोशले विश्वका अन्य हालैका विरोध प्रदर्शनहरूलाई पनि झल्काउँछ । नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरू र मोरक्कोजस्ता देशहरूमा पनि यस्तै प्रदर्शनहरू भएका छन् ।
यी विरोधहरू प्रारम्भमा विशिष्ट गुनासोहरूबाट सुरु भएका भए पनि बढ्दो असमानता, आर्थिक अनिश्चितता, भ्रष्टाचार र नेताहरूको नातावादजस्ता लामो समयदेखि गुम्सिएका मुद्दाहरूले गर्दा ती अझ चर्किएका हुन् । तर, यी सबै प्रदर्शनहरूमा एउटा समानता छ । प्रायः नेताविहीन यी आन्दोलनहरू मुख्यतया युवाहरूले नेतृत्व गरेका छन् । जसले आफैँलाई जेनजी भनेर चिनाउँछन् ।
जेनजी भन्नाले करिब सन् १९९६ देखि २०१० बीच जन्मेका ती व्यक्तिहरूलाई जनाइन्छ । जो पूर्णरूपमा इन्टरनेटको युगमा हुर्केका पहिलो पुस्ता हुन् ।
विरोध र सामाजिक आन्दोलनहरूको अध्ययन गर्ने बेलायतस्थित गैरनाफामूलक संस्था सोसियल चेन्ज ल्याबका निर्देशक साम नाडेल भन्छन्, ‘यी युवा नेतृत्वका प्रदर्शनहरूलाई जोड्ने साझा भावना के हो भने परम्परागत राजनीतिक प्रणालीहरूले उनीहरूको पुस्ताको चिन्ता सम्बोधन गरिरहेका छैनन् भन्ने हो । चाहे त्यो भ्रष्टाचार होस्, जलवायु परिवर्तन होस् वा आर्थिक असमानता होस् । जब संस्थागत माध्यमहरू अवरुद्ध भएको महसुस हुन्छ, तब विरोध प्रदर्शन नै तार्किक माध्यम बन्न जान्छ ।’
प्रदर्शनकारीहरूलाई एक-अर्काबाट मिल्दै छ प्रेरणा
यी विरोध प्रदर्शनहरूको माग फरकफरक भए पनि तिनीहरूमध्ये अधिकांश सरकारको अति हस्तक्षेप वा लापरबाहीका कारण चर्किएका हुन् । कतिपय प्रदर्शनकारीहरूले सुरक्षा बलहरूबाट कठोर व्यवहार र क्रूर दमनको सामना गर्नुपरेको छ ।
मोरक्कोमा देशको कलिङ कोडबाट राखिएको ‘जेनजी २१२’ भनिने एक नेताविहीन समूह राम्रो सार्वजनिक सेवा, स्वास्थ्य तथा शिक्षामा लगानी बढाउन माग गर्दै सडकमा उत्रिएको थियो । पेरूमा, पेन्सन कानुनलाई लिएर सुरु भएको विरोध प्रदर्शन बढ्दो असुरक्षा र सरकारमा व्याप्त भ्रष्टाचारविरुद्ध कारबाही गर्ने मागमा परिणत भएको थिए । इन्डोनेसियामा, सांसदहरूको सुविधा र जीवनयापनको लागतलाई लिएर घातक विरोध प्रदर्शनहरू भएका थिए, जसले राष्ट्रपतिलाई मुख्य आर्थिक र सुरक्षा मन्त्रीहरू फेर्न बाध्य पारेको छ ।
‘जेनजी’ प्रदर्शनको रूपमा सबैभन्दा व्यापकरूपमा चिनिएको आन्दोलन नेपालमा भएको घातक विद्रोह थियो, जुन सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै टुंगिएको थियो ।
प्रदर्शनकारीहरूले सन् २०२२ को श्रीलंका र सन् २०२४ को बंगलादेशलगायत दक्षिण एसियाका अन्य सफल सरकारविरोधी आन्दोलनहरूबाट प्रेरणा लिएका थिए, जसले तत्कालीन शासकहरूलाई सत्ताबाट हटाउन सफल भएका थिए ।
माडागास्करमा पनि प्रदर्शनकारीहरूले आफूहरू नेपाल र श्रीलंकाका आन्दोलनहरूबाट विशेषरूपमा प्रेरित भएको बताएका छन् ।
विरोध प्रदर्शनहरू नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएका थिए । तर, चाँडै नै प्रदर्शनकारीहरूले राष्ट्रपति र अन्य मन्त्रीहरूलाई राजीनामा दिन आह्वान गर्दै यसलाई व्यापक असन्तुष्टिमा परिणत गरे ।
बुधबार माडागास्करका सैन्य कू गरेर एक नेताले आफू राष्ट्रपतिको पदभार ग्रहण गरिरहेको घोषणा गरेका छन् ।
एउटै मांगाको समुद्री डाँकुको झन्डामुनि एकता
विभिन्न देशहरूमा एउटा अनौठो लोकप्रिय संस्कृति प्रतीक देखा परेको छ- परालको टोपी लगाएको, हाँसिरहेको खप्पर र क्रसबोन्स भएको कालो झन्डा ।
यो झन्डा जापानको चर्चित मांगा र एनिमे शृंखला ‘वान पिस’ बाट लिइएको हो, जसमा समुद्री डाँकुहरूको एउटा समूहले भ्रष्ट सरकारहरूविरुद्ध लड्ने कथा चित्रित गरिएको छ ।
नेपालमा प्रदर्शनकारीहरूले त्यही झन्डा नेपाली सरकारको मुख्यालय सिंहदरबारको गेट र मन्त्रालयहरूमा झुन्ड्याए, जसमध्ये धेरै प्रदर्शनका क्रममा जलाइएका थिए । यही झन्डा इन्डोनेसिया, फिलिपिन्स, मोरक्को र मेडागास्करका भिडले पनि फहराएका थिए ।
गत हप्ता पेरूको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुर त्यही झन्डासहित सान मार्टिन स्क्वायरमा उभिएका थिए, जुन अहिले साप्ताहिक विरोध प्रदर्शनको मुख्य मञ्च बनेको छ ।
‘हामी एउटै लडाइँ लडिरहेका छौँ, भ्रष्ट अधिकारीहरूविरुद्ध, जो हाम्रो मामलामा हत्यारा पनि हुन्,’ उनले भने ।
उनले राष्ट्रपति डिना बोलुआर्टेको सरकार ५०० भन्दा बढी प्रदर्शन र ५० नागरिकको मृत्युका बाबजुद डिसेम्बर २०२२ देखि सत्तामा टिकिरहेको स्मरण गरे । ‘मेरो मामलामा, यो शक्तिको दुरुपयोग, भ्रष्टाचार र मृत्युप्रतिको आक्रोश हो,’ टाफुरले भने ।
उनले सन् २०१७ देखि दक्षिण अमेरिकी देशमा हत्या र फिरौतीमा भएको तीव्र वृद्धिलाई औँल्याए । जुन अपराधसँग लड्ने प्रयासलाई कमजोर बनाउने नयाँ कानुनहरूको बीचमा भएको थियो ।
बोलुआर्टेमाथि घुसखोरी र सन् २०२२ मा प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्नतालगायत विभिन्न आरोपमा महिनौँदेखि छानबिन भइरहेको थियो । उनलाई गत हप्ता अन्तरिम राष्ट्रपति होसे हेरीद्वारा प्रतिस्थापित गरिएको थियो ।
तर, टाफुरका अनुसार, यतिले मात्र पुग्दैन । ‘राष्ट्रपति संसदको सहयोगी हुन् । र, उनले पद छोड्नुपर्छ,’ उनले भने ।
परिचालन र सचेतनाका लागि सामाजिक सञ्जालको उपयोग
विगतका सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१० देखि २०१२ बीचको अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला रिभोलुसनजस्ता धेरै महत्त्वपूर्ण विरोध प्रदर्शन युवाहरूद्वारा नेतृत्व गरिएका थिए ।
उनीहरूले पनि सामूहिक परिचालनका लागि इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरेका थिए । तर, पनि हालका जेनजी प्रदर्शनकारीहरूले यसलाई अर्को स्तरमा पुर्याएका छन् ।
सोसियल चेन्ज ल्याबका नाडेल भन्छन्, ‘डिजिटल प्लेटफर्महरू सूचना आदानप्रदान र सम्बन्ध निर्माणका लागि शक्तिशाली उपकरण हुन् । तर, सबैभन्दा प्रभावकारी आन्दोलनहरूले प्रायः डिजिटल परिचालनलाई परम्परागत भौतिक उपस्थितिमा आधारित संगठनसँग जोड्छन् । जुन हामीले यी हालैका विरोध प्रदर्शनहरूमा देखेका छौँ ।’
नेपालमा सामाजिक सञ्जालको भूमिका
नेपालमा घातक विरोध प्रदर्शनहरू सुरु हुनुभन्दा केही दिनअघि सरकारले दर्ता गर्ने समयसीमा पालना नगरेको भन्दै अधिकांश सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । धेरै युवाले यसलाई आफूहरूलाई चुप गराउने प्रयासका रूपमा लिए । पत्ता लाग्नबाट जोगिन भर्चुअल प्राइभेट नेटवर्कमार्फत सामाजिक सञ्जाल साइटहरूमा पहुँच गर्न थाले ।
उनीहरूले टिकटक, इन्स्टाग्राम र एक्स को प्रयोग गरी राजनीतिज्ञका छोराछोरीहरूको विलासी जीवनशैली उजागर गरे । यसले नेपालका धनी र गरीबबीचको असमानतालाई उजागर गर्यो । र, योजनाबद्ध र्यालीहरू तथा स्थानहरूको घोषणा गर्न प्रयोग गरियो ।
पछि, उनीहरूमध्ये केहीले डिस्कर्डजस्ता गेमिङच्याट प्लेटफर्मको प्रयोग गरी देशका लागि अन्तरिम नेताको रूपमा कसलाई मनोनयन गर्ने भन्नेबारे सुझाव दिन थाले ।
प्रदर्शनकारी युजन राजभण्डारीले भने, ‘चाहे त्यो भ्रष्टाचार होस् वा अन्याय जुनसुकै आन्दोलन भए पनि त्यो डिजिटल मिडियामार्फत नै फैलिन्छ । नेपालमा पनि त्यस्तै भयो । जेनजी प्रदर्शनपछि नेपालमा भएका परिवर्तनहरू डिजिटल प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा फैलिँदै अन्य देशहरूलाई पनि प्रभावित पार्न पुगे ।’
उनका अनुसार, नेपालका प्रदर्शनहरूले युवामात्र होइन, अन्य पुस्तालाई पनि जागृत गराएका छन् । ‘हामीले हामी विश्वका नागरिक हौँ । डिजिटल स्पेसले हामी सबैलाई जोड्छ र यसले विश्वभर शक्तिशाली भूमिका खेल्छ भन्ने महसुस गर्यौँ,’ राजभण्डारीले थपे । एपीबाट





