बागलुङ (खरवाङ)/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ को कालीमाटी खोला किनारको ओढारमा रात बिताउँदै आएका एक परिवारले वडा तथा पालिकाको समन्वयमा आश्रय पाएको छ ।
ग्वालीचौर गाविसको साविक २ नम्बर वडामा रहेको सिद्ध प्राविको भवनमा अहिले पुन परिवारलाई राखिएको वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिए । ‘विद्यार्थी संख्या कम भएपछि विद्यालय मर्च हुँदा खाली भएको विद्यालय भवनमा अहिले उहाँहरुलाई राखिएको छ’ वडाध्यक्ष आचार्यले भने ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारिले भनिन् ‘वास्तविक श्रमजिवको लागि पालिका सहयोग गर्न तयार छ । सरकार परिवर्तनले तत्कालको लागि सुकुमवासी तथा अव्यवस्थीत बसोबासीको तथ्याङ्क संकलनको काम भने रोकिएको छ । पुन परिवारलाई स्थानीयले पनि सहयोग गरेकोले पालिकाले गर्न मिल्ने सहयोग गर्न हामी तयार छौ ।’
पुन परिवारको लागि सोही ठाउँका स्थानीयले जग्गा दिएका छन् । सोही जग्गामा पालिकाले छाना, स्थानीय सामुदायिक वनबाट आवश्यक काठ उपल्बध हुने भएपछि पुन परिवारको लागि स्थायी बास निर्माणको तयारी गरिने भएको हो ।
घरधनीले बस्दै आएको घरबाट निष्कन भनेपछि ४६ वर्षिय घरविहिन केशव पुनसहित परिवारका ८ सदस्यले ओत लाग्न ओडारको सहारा लिएको थियो । जीवनको उत्तराद्र्वमा रहेकी ८२ वर्षिय आमा जमुना कुमारी पुनसहित छोरा केशब र छोराहरु पदम र आशिषले ओढारमा दिन रात बिताउन बाध्य भएका थिए । ढोरपाटनमा उनीहरुको विषयमा समाचार प्रकाशन भएपछि स्थानीय सरकार व्यवस्थापन गर्न लागेको हो ।





