बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चाडपर्वमा हुन सक्ने विसंगती र विकृती अन्त्य गर्ने तथा शान्ति सुरक्षा चुस्त बनाउने पहल गरेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गरेर देउसी भैलोलाई सांस्कृतिक पर्वको रुपमा मनाउन, तडकभडक नगर्न भनेको हो । त्यस्तै देउसी भैलो लगायतका कार्यक्रमहरु रातको ९ बजेसम्म मात्र गर्न पनि भनिएको छ । त्यस्तै तिहारमा मैनबत्ती बाल्दा ध्यान दिनुपर्ने, आगोलागी लगायतका घटना हुन सक्नेतर्फ ख्याल गर्ने र पटका लगायतका वस्तुहरु नपड्काउन र शान्ति सुरक्षामा सहयोग गर्न पनि भनिएको हो ।
चाडपर्वको समय भन्दै जथाभावी मदिरा तथा लागूपदार्थ सेवन गर्नेविरुद्व प्रशासन कडाइका साथ लाग्ने बताइएको छ । होहल्ला गर्ने, झैझगडा गर्ने भीडभाडजन्य गतिविधि गर्ने काम रोक्न प्रशासनले नागरिकलाई सचेत बनाएको हो । प्रशासकीय अधिकृत नारायण कार्कीले सार्वजनिक सूचनामार्फत उक्त जानकारी गराएका हुन् ।
सवारी साधनमा जथाभावी झुण्डिएर यात्रा गर्ने, सीटभन्दा बढी यात्री राखेर जोखिमयुक्त बनाउने काम नगर्न र नगराउन पनि आग्रह गरिएको हो । जुवातास, कौडा जस्ता खेल सार्वजनिक स्थानमा खेलाउने, त्यस्ता सामान ओसारपसार गर्ने, बिक्री गर्ने काम नगर्न पनि सुझाइएको छ । बजारमा कृतिम अभाव देखाएर मूल्य वृद्वि गर्ने, जनतालाई सास्ती दिने गरी व्यवसाय नगर्न पनि भनिएको हो ।
यसैबीच तिहारको सामाग्री बेच्ने क्रममा गुणस्तरहिन सामान राख्ने, मूल्यमा अनियमितता गर्ने, अखाद्य रंग प्रयोग गर्ने जस्ता काम पनि निरुत्साहित गर्न स्थानीयले पनि माग गरेका छन् । त्यसका लागि प्रशासन र स्थानीय तहले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।





