पोखरा/भदौ २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीले कफ्र्यू आदेश जारी ग¥यो । पोखराको सभागृह अघि एक हुल शान्तिपूर्ण धर्नामा थिए । त्यहाँ अधिकांश युवापुस्ता अर्थात् जेनजी पुस्ता थिए । कोही बुक लिएर सडकमै पढ्दै थिए त कोही प्लेकार्ड बोकेर । त्यहि भीडमा केहि युवाहरु घुसे भीडलाई उत्तेजित पार्दै शान्तिपूर्ण आन्दोलन गरेर नहुने र मुख्यमन्त्री कार्यालय अघि पुगेर आन्दोलन गर्ने शान्तिले हुँदैन भन्दै उक्साउन भ्याए । फलस्वरुप सबै सभागृहबाट पोखरा चिप्लेढुंगातर्फ अघि बढे ।
भीड पोखरा महानगरपालिकाको कार्यालय अघि पुग्यो । त्यहाँ केही संख्यामा प्रहरी सुरक्षाका लागि तैनाथ थिए । नाराबाजी भयो सामान्य पानीका बोतल पनि प्रहार भयो । तर, एकाएक त्यहि ठाउँमा केही युवाहरु मोटरसाइकलमा आइपुगे । ति युवाहरुले ल्याएका मोटरसाइकलको स्वरुप परिवर्तन गरिएको थियो । अर्थात् मोटरसाइकलबाट आवाज ठूलो आउने र पड्काउने बनाएका थिए । तिनै युवाको रवाफले भीड झन क्रोधित हुँदै एकाएक अराजक मच्याउन सुरु गरे । पोखरा महानगरपालिकाबाट आगजानी सुरु गरेर अघि बढेकाहरू विस्तारै पोखरामा फैलिन थाले । भदौ २४ गते दिउँसो करिब २ बजेको समयपछि आन्दोलनले उग्ररुप लियो । पोखरामा रहेका वडा देखी संघीय सम्मका राज्यका निकाय जलाउन सुरु भयो । जताततै दनदन आगो बले, यो बिचमा नागरिकहरु त्रसित भए । एकाएक युवाहरु मोडिफाइ गरेका मोटरसाइकल पड्काउँदै, आवाज निकाल्दै आतंकित बनाउँदै कार्यालयहरु जलाउँदै हिँडे ।
२३ गते जेनजीको आन्दोलनमा राज्यको बर्बर दमनले २४ गते भयानक रुप लियो । २४ गते पोखरामा १० वर्षे शसस्त्र द्धन्द्ध कालमा समेत असर नगरेका प्रहरीका कार्यालयमाथि समेत आक्रमण भयो । अपरान्हसम्म वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय छोरेपाटन, राती जिल्ला प्रहरी कार्यालय कास्की, राती ११ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आगजानी भए । यि सबै स्थानमा विभिन्न दुर्घटना, लापरबाहीसँगै मोडिफाइ गरिएका मोटरसाइकलहरु नियन्त्रणमा लिई राखिएको थियो । मोडिफाइ भएका सबैजसो मोटरसाइकल आन्दोलनकै दिन लगे । पोखरा ५ प्रस्याङमा रहेको प्रहरी बिटमा नियन्त्रणमा रहेका सवारीमा आगजानी भए । ति बाहेक अन्य प्रहरी कार्यालयमा रहेका मोडिफाइ भएका मोटरसाइकलहरु लिएर गए ।
उक्त दिन डेढ सयभन्दा बढी नियन्त्रणमा रहेको मोडिफाइ मोटरसाइकल हराए । तर, आजसम्म पनि एका दुई बाहेक कसैले पनि ‘मोटरसाइकल हराएको’ भनि उजुरी दिन आएका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) राजकुमार केसीले एक सयभन्दा बढी मोडिफाइ मोटरसाइकल रहेको र ति आन्दोलनको क्रममा सबै लगेको जानकारी दिए । जेनजी आन्दोलनलगत्तै नेपालीहरुको महान पर्व दशैँ, तिहारको समयमा समाजलाई आतङ्कित पार्ने गरि मोडिफाइ गरेको मोटरसाइकल प्रहरीले पक्राउ गर्न थालेका छन् ।
जेनजी आन्दोलनको एक महिना पछि प्रहरीले मोडिफाइ मोटरसाइकल आतंक रोक्नका लागि ‘अपरेसन ३६५’ सुरु गरेको छ ।
ठूलो आवाज निकाली ध्वनी प्रदुषण, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालको गतिविधि बढ्दै भएको व्यापक जन गुनासो सुरु भएपछि असोज २७ गते साँझदेखी लागु हुनेगरि प्रहरीले ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो । उक्त अपरेसन सञ्चालन गरेको एक हप्तामा प्रहरीले एक सय २३ वटा मोडिफाइ भएका मोटरसाइकल नियन्त्रणमा लिएको छ भने सो क्रममा प्रहरीसँग विवाद गर्ने २८ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये १६ जनालाई सम्झाई बुझाई परिवारको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीले जेनजी आन्दोलनको क्रममा समेत मोडिफाइ गरिएका मोटरसाइकलले समाजलाई आतंकित पारेको बताए । २४ गतेको आन्दोनलका दिनलाई समेत हेरेर अप्रेसन चलाएको उनले जानकारी दिए । ‘विशेष गरि २४ गतेको आन्दोलनलाई हेर्दा पनि यस्तै प्रकृतिको मोटरसाइकलहरु प्रयोग भएर समाज आतंकित पारेको देखिन्छ । त्यसैलाई लक्षित गरेर यिनीहरुलाई नियन्त्रणमा लिने र स्वरुप परिवर्तन भएकालाई असली स्वरुपमा ल्याउन यो अप्रेसन चलाएका हौं’ उनले भने, ‘यो अप्रेसन ३६५ हामीले विशेष गरेर मोटरसाइकल मोडिफाइ गर्ने, साइलेन्सर परिवर्तन गर्ने अनि बन्दुक पड्किए जस्तो आवाज निकाल्ने र रातको समयमा बजारदेखी एकान्त बस्तीमा समेत पड्काउँदै एकदमै आतंकित पार्ने र नागरिकको पनि जन गुनासो एकदमै आएकाले चलाएका हौं ।’
एसपी कार्कीले अप्रेसन चलाउँदै गर्दा प्रहरीसँग विवाद गर्नेहरुलाई अभद्र व्यवहारको मुद्धा चलाएको समेत सुनाए । त्यो बाहेक मोडिफाइ गराउने वर्कसपलाई पहिलो चरणमा प्रशिक्षण दिइ सम्झाएको र २ वटालाई कारवाहि समेत गरेको उनको भनाइ छ ।
अहिले ठूलो संख्यामा मोडिफाइ बाइक नियन्त्रणमा रहेका छन् । भदौ २४ गते उक्त बाइक प्रयोग भए नभएको समेत अनुसन्धान गरिरहेको छ भने सोही दिन प्रहरी कार्यालयबाट नियन्त्रणमा रहेका मोटरसाइकल आन्दोलनकारीले लगेका थिए । ति नियन्त्रित हुन वा होइनन् भन्ने समेत अनुसन्धान भइरहेको कार्कीले बताए ।
नागरिक समाज कास्कीका संयोजक तथा सामाजिक अभियन्ता रामबहादुर पौडेलले गुण्डागर्दीविरुद्ध प्रहरीको उपस्थिति र नागरिकको सुरक्षाका लागि प्रहरीको यो कदम रहेको बताए । ‘यो ज्यादै स्वागतयोग्य कदम हो । नागरिकमा जुन आतंक मच्याएका छन् गुण्डाहरुले उनीहरुका विरुद्ध प्रहरीले आफ्नो उपस्थिति देखाएको हो’ उनले भने, ‘यो कार्यले ९५ प्रतिशत नागरिकलाई शान्ति र सुरक्षा दिएको छ । हामी सचेत नागरिकले पनि यस्ता गतिविधिलाई रोक्न तत्कालै प्रहरीलाई खबर गर्न आवश्यक छ । नागरिककै हितका लागि गरिएको अप्रेसन हो ।’





